कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा आइसोलेसन केन्द्र हटाइयो

गोरखा क्याम्पसमा रहेको ७५ शय्याको केन्द्र हटाइएपछि अब जटिल संक्रमितको उपचार जिल्ला अस्पतालमै हुने
हरिराम उप्रेती

गोरखा — कोरोना संक्रमितको उपचारका लागि गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइएको छ । जिल्ला अस्पताल मातहत रहने गरी क्याम्पसमा ७५ शय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

गोरखामा आइसोलेसन केन्द्र हटाइयो

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले आइसोलेसन हटाउने निर्णय गरेको हो ।

‘क्याम्पसमा आइसोलेसन राख्न उपयुक्त देखिएन, त्रिभुवन विश्वविद्यालयले पनि आंगिक क्याम्पसहरू सञ्चालन गर्ने भनेको छ,’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने, ‘क्याम्पसले पनि पटकपटक मौखिक तथा लिखित अनुरोध गरेर आइसोलेसन हटाउन माग गरेको थियो । सम्बन्धित स्थानीय तहले नै लक्षण नदेखिएका संक्रमितको व्यवस्थापन गरिरहेको सन्दर्भमा यहाँ आइसोलेसन सञ्चालन र व्यवस्थापन गरिरहनुपर्ने देखिएन ।’ आइसोलेसन सुरक्षार्थ खटिएका नेपाली सेना र प्रहरीलाई पनि फिर्ता बोलाइएको उनले बताए ।

जिल्ला अस्पतालले पनि बुधबार उक्त आइसोलेसन केन्द्र सञ्चालन गर्न नसकिने व्यहोराको पत्र समितिसमक्ष बुझाएको थियो । आइसोलेसनमा एक महिनायता संक्रमित थिएनन् । हाल जिल्लाभर १ सय १८ जना सक्रिय संक्रमितमध्ये जटिल प्रकृतिका बाहेक अधिकांश संक्रमित होम आइसोलेसनमा छन् ।

जिल्लाका ११ वटै पालिकाभित्रका संक्रमितलाई उपचारका लागि क्याम्पसमा ‘मास’ आइसोलेसन निर्माण गरिएको थियो । अर्को आइसोलेसन केन्द्र बनाउने–नबनाउने निर्णय भने भएको छैन । ‘गोरखा नगरपालिकाको अगुवाइमा अर्को आइसोलेसन बनाउने मौखिम सहमति भएको छ,’ प्रजिअ भट्टराईले भने । उनका अनुसार अब जटिल लक्षण देखिएका संक्रमितको उपचारको व्यवस्थापन गोरखा अस्पतालले गर्ने निर्णयसमेत भएको छ । यसका लागि अस्पतालमा थप भवन आवश्यक पर्ने भएकाले शिक्षा विकास तथा समन्वय इकाई र स्वास्थ्य कार्यालयको समन्वयमा भवन व्यवस्थापन गरिने भएको छ ।

लक्षण नदेखिएका संक्रमितलाई सम्भव भएसम्म होम आइसोलेसनमा राख्ने र जटिल लक्षण देखिएकाहरूको आइसोलेसनलगायत सम्पूर्ण उपचारको व्यवस्थापन सम्बन्धित पालिकाले गर्ने निर्णय भएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?