मनाङमा यसपालि बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न रोक- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा यसपालि बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न रोक

आश गुरुङ

लमजुङ — कोरोना संक्रमणको जोखिम रहेको भन्दै मनाङमा यस वर्ष बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न रोक लगाइएको छ । गत वर्ष पहिलोपल्ट यार्सागुम्बा संकलन रोकिएकामा यसपालि जिल्लाबासीलाई मात्र टिप्न दिइने भएको हो । 

फाइल तस्बिर

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले कोरोना संक्रमणको जोखिम रहेकाले जिल्लाबासीलाई मात्र यार्सागुम्बा टिप्न दिइने बताए । ‘दोस्रो चरणको कोरोना भित्रने खतरा बढेको छ । मनाङ सुरक्षित छ । त्यसैले बाहिरी जिल्लाकालाई रोक लगाएका छौं,’ उनले भने । सरोकारवालाबीचको छलफलले यस्तो निर्णय गरेको जनाउँदै उनले प्रहरीले मनाङ सीमाक्षेत्र तालबाट यार्सागुम्बा टिप्ने उद्देश्यले आएकालाई फिर्ता पठाउने बताए । संकलन क्षेत्रमा बाहिरी जिल्लाका बासिन्दा प्रवेश गरे/नगरेको निगरानी एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले गर्नेछ ।

एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले बाहिरी जिल्लाबासीलाई यार्सागुम्बा टिप्न खुला गर्दा कोरोना भित्रने खतरा बढेकाले जिल्लाबासीलाई मात्रै दिइएको बताए । ‘अब यार्सा टिप्ने मौसम सुरु भयो । बाहिरी जिल्लाका मानिस पुर्जी काट्न आउने समय भयो । हामीले मनाङको नागरिकता नभएकालाई यार्सा टिप्न रोक लगाउने भयौं,’ उनले भने ।

मनाङका विभिन्न लेकमा एउटा सिजनमा ५ हजारदेखि ७ हजार जनासम्म यार्सा टिप्न आउने गरेको एक्यापले जनाएको छ । यहाँ प्रत्येक वैशाखदेखि असारसम्म यार्सा टिप्नेको भिड लाग्छ । लमजुङ, गोरखा, धादिङ, रोल्पा, रुकुमका साथै तराईबाट समेत संकलक आउँथे ।

समितिले पुर्जीबाहेक व्यापारीलाई छोडपुर्जीबापत १ किलो बराबर १० हजार रुपैयाँ रोयल्टी लिने गरेको छ । स्थानीय तहले निकासी करबापत प्रतिकिलो १० हजार रुपैयाँ लिने गरेको छ । व्यवसायीले सरकारलाई प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ ।

मनाङमा यार्सागुम्बा टिप्न संरक्षण क्षेत्र व्यवस्थापन समितिले पुर्जी दिादै आएको छ । एक्यापले मनाङका २५ भन्दा बढी लेकमा यार्सागुम्बा पाइने जनाएको छ । तल्लो मनाङको नासों गाउापालिकामा पर्ने धारापानी र थोंचेमाबाहेक ४ वटै गाउापालिकाका लेकमा यार्सागुम्बा पाइन्छ । एक्यापका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ८५ दशमलव १ किलोग्राम यार्सागुम्बाको छोडपुर्जी दिइएको थियो । ३ हजारभन्दा बढीले संकलन गरेका थिए । त्यसअघिको वर्ष १ सय २९ किलोग्राम यार्सागुम्बाको छोडपुर्जी दिइएको थियो ।

प्रकाशित : चैत्र १९, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

नुन किलोकै ५५ रुपैयाँ !

२० रूपैयाँमा पाइने एक किलो नुनको भाडा मात्र १२ रूपैयाँ
प्रताप विष्ट, रमेशकुमार पौडेल

हेटौंडा/चितवन — मकवानपुर र चितवनका दुर्गम क्षेत्रका उपभोक्ताले एक प्याकेट नुनको ५० देखि ५५ रुपैयाँसम्म तिर्नुपरेको छ । मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका–७ का बासिन्दाले प्रतिकिलो नुन ५० रुपैयाँमा किनिरहेका छन् । राक्सिराङ–७ गर्लिङकी पसले दुदुमाया तामाङले प्रतिप्याकेट नुन ५० रुपैयाँमा बिक्री गर्दै आएको बताइन् ।

भरतपुरको भण्डारा बजारमा २० रुपैयाँ किलोमा पाइने नुन ढुवानी भाडा बढी भएका कारण ५० परेको उनको भनाइ छ । हिउँदका महिनामा गाडीले एक किलो १२ रुपैयाँ र बर्खामा १५ रुपैयाँ ढुवानी भाडा लिने गरेको उनले सुनाइन् । बर्खामा भरियाले बोकेर ल्याउने गरेका छन् । भण्डाराबाट गर्लिङ करिब ३० किलोमिटर टाढा पर्छ । गर्लिङभन्दा अझ दुर्गमको धिराङका बासिन्दाले प्रतिकिलो नुनको ५५ रुपैयाँसम्म तिर्नुपरेको छ । ‘धिराङमा यही नुन ५५ रुपैयाँमा बिक्री भइरहन्छ,’ तामाङले भनिन्, ‘उधारोमा चेपाङहरूलाई बिक्री गर्नुपर्छ । केही त असुल्नै ढिलो हुन्छ । अलिकति नाफा नलिई कसरी पसल चलाउनु ।’

गर्लिङ, दामराङ, धिराङलगायत क्षेत्रमा चेपाङ समुदायको बसोवास छ । यो क्षेत्रको भूगोल मात्रै विकट नभई गरिबीको पनि मारमा छ । यहाँका चेपाङ समुदायलाई आफ्नो उत्पादनले तीन महिनामा पनि खान पुग्दैन । त्यसमाथि पनि कृत्रिम महँगीले ढाड सेकिने गरेको छ । उनीहरू स्थानीय स्तरमा दिनभर श्रम गरेको बढीमा २ सय रुपैयाँ मात्र ज्याला पाउँछन् । चितवनका दुर्गम क्षेत्रका चेपाङ समुदाय पनि महँगो मूल्यमा नुन खान बाध्य छन् । किलोको २० रुपैयाँ पर्ने नुनको यहाँ ७ रुपैयाँ बढी तिर्नुपरेको राप्ती नगरपालिका–१३ को पहाडी गाउँ लोथरको सार्लिङका मानबहादुर चेपाङ बताउँछन् । नगरपालिकाको केन्द्र पूर्व–पश्चिम महेन्द्र राजमार्ग आडको भण्डाराबाट उनको गाउँ ४०/४५ किलोमिटर टाढा छ ।

भण्डाराबाट नुन किनेर गाडीमा राखेर घर गए एक किलोको ७ रुपैयाँ भाडा तिर्नुपर्ने नियमले उनले किनेको नुन ७ रुपैयाँ महँगो हुन्छ । ‘गाडी आएपछि सजिलो भयो भनौं कि अप्ठ्यारो पर्‍यो भनौं । नुनकै किलोको ७ रुपैयाँ बढी तिर्नुपर्छ,’ उनले भने । मानबहादुरको गाउँ मोटरबाटोले अझै छोएको छैन । सडकबाट आधा घण्टा फटाफट हिँडेपछि बल्ल उनको घर पुगिन्छ । मोटर चल्ने ठाउँबाट भण्डारासम्मको भाडा २ सय रुपैयाँ लाग्छ । सामानको किलोको ७ रुपैयाँका दरले बुझाउनुपर्छ ।

गाउँबाट आक्कलझुक्कल भण्डारा जाने भएका कारण फर्कदा पाँच–सात पोका नै नुन ल्याएर आउने गरेको उनले बताए । ‘एक पोका भए त झोलातिरै राख्थ्यौं । तर एक पोका ल्याएर धेरै दिन पुग्दैन । त्यसैले बजार झरेका बेला पाँच–सात पोका ल्याउने गर्छौं । भारी देखेपछि गाडीलाई भाडा तिर्नुपर्‍यो,’ मानबहादुरले भने । बजारबाट गाउँलेले नुन तेल, मसाला, चामल सबै किनेर ल्याउनुपर्छ । गाउँबाट बिक्री गर्ने सामान खासै छैन । सार्लिङदेखि पश्चिम निकै पर गएपछि पहाडी पखेरामा दुई–चार घर भएको राप्ती–१३ मै पर्ने ब्रादुगाउँ छ ।

‘पहिला त हिँडेरै भण्डारा पुग्ने गरेका हौं । १० वर्षयता पहाडतिर पनि गाडी चल्न थाल्यो । अहिले बाटो नजिक–नजिक आएको छ । हिँडाइको दुःख हटे पनि खर्च बढेको छ भन्नुपर्‍यो,’ ब्रादु गाउँका शंखबहादुर चेपाङले भने ।

प्रकाशित : चैत्र १९, २०७७ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×