गण्डकीको हिउँदे अधिवेशन चैत २५ देखि

कास्की — गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही चैत २५ देखि सुरु हुने भएको छ । प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

गण्डकीको हिउँदे अधिवेशन चैत २५ देखि

एउटा अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्ने व्यवस्था अनुसार प्रदेश सरकारले अधिवेशन बोलाउने निर्णय गरेको हो । गत वर्ष अधिवेशन असोज २६ मा सकिएको थियो । आगामी जेठ १५ देखि बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन लामो समय भने चल्दैन । कांग्रेस र जनता समाजवादी पार्टीले कोरोना लगायतको विषयमा विशेष अधिवेशन माग गरेपछि पुस २१ देखि माघ ६ सम्म विशेष अधिवेशन चलेको थियो ।

मन्त्री बस्नेतले मन्त्रिपरिषद्को बैठकबाट ४ वटा विधेयक पास भएको र अब प्रदेशसभा सचिवालयमा दर्ता हुने बताए । प्रदेशसभा सचिवालयमा अहिले दर्ता भएको वित्तिय उत्तरदायित्त्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मात्र छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्राइभेट फर्म दर्ता नवीकरण, आमसञ्चार र बालबालिका सम्बन्धी विधेयक मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको बताए । ‘सहकारी, वन, सिंचाई र पर्यटक सम्बन्धी विधेयक तयारी अवस्थामा छन्’ उनले भने, ‘यी विधेयकमाथि छलफल भइरहेको छ । सम्बन्धित मन्त्रालयले ड्राफ्ट बनाउँदै छन् ।’

हिउँदे अधिवेशन बढीमा एक महिनासम्म चल्ने बताउँदै उनले संसद् सुरु हुने बेलासम्म चारवटा विधेयक संसद् सचिवालयमा दर्ता हुने र संसद्लाई बिजनेस पुग्ने बताए ।

प्रकाशित : चैत्र १८, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?