कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिभावक फेरेर नागरिकता

प्रकाश बराल

बागलुङ — एउटै व्यक्तिले दुई फरक स्थानबाट अभिभावकसमेत फेरेर नागरिकता लिएको भेटिएको छ । दोहोरो नागरिकता लिनका लागि जनप्रतिनिधिले सिफारिस गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

अभिभावक फेरेर नागरिकता

बागलुङ नगरपालिका ६ का पंकज सापकोटाले वडा नं. ४ का अर्कै अभिभावक राखेर नागरिकता बनाएको भेटिएको हो । पंकज अहिले पनि वडा नं. ६ स्थित बाबु देवीप्रसाद र आमा कोपिला सापकोटासँगै बस्ने गरेको छिमेकीले बताए ।

उनको नागरिकतामा भने वडा नं. ४ का गुरुदत्त आचार्य र देउरुपाको छोराको रुपमा ईश्वर आचार्य नामबाट लिएका छन् । उनले सरकारी कागजात दुरुपयोग गरेर नागरिकता बनाएको भेटिएपछि उजुरी परेको थियो । २०७४ भदौमा जिल्ला प्रशासनबाट उक्त नगारिकता जारी भएको देखिन्छ । गलत सिफरिस गरेर आर्थिक चलखेल समेत भएको आशंका देखिएपछि प्रशासनले अनुसन्धान बढाएको छ ।

उजुरी आइसकेपछि सिफारिस गर्ने जनप्रतिनिधि र नागरिकतावाला व्यक्तिको अनुसन्धान भइरहेको न्यौपानेले बताए । ‘ढण्डामा रहेको अभिलेख समेत खोज्नुपर्ने भएकोले ढिला भएको छ, तर अनुसन्धानको क्रममा छौं’ न्यौपानेले भने, ‘उजुरी अनुसारको आरोप प्रमाणित भएमा कारवाही गर्छौ ।’ आरोप प्रमाणित भएमा सिफरिसकर्ता र नागरिकता लिने दुवै व्यक्तिलाई जरिवाना र जेल सजाय समेत हुनेछ ।

वडा नं. ४ का अध्यक्ष धु्रबबहादुर केसीले आफूले त्यस्तो सिफारिस नगरेको बताए । ‘कसैले मलाई फसाएको हुन सक्छ, तर मैले जानेर गलत व्यक्ति सिफारिस गरेको छैन’ केसीले भने, ‘आर्थिक चलखेलमा दिएको भन्ने आरोप सरासर झुट हो ।’ ती युवाको नागरिकताकालागि सनाखत बस्न काकाको छोरा आएको केसीले बताए । ‘हामी तीन भाइ छोरा हौं भनेका थिए, पढेलेखेको थिएन त्यसैले सनाखतको आधारमा सिफारिस गरेको हुँ’ केसीले भने, ‘बिदेश पठाउने बाहनामा सबै गलत कागजात उठाएका रहेछन्, मैले बुझ्न सकिनँ ।’ अभिलेख खोजी गरेर सनाखतकर्तालाई बोलाएको उनले बताए । २०५८ सालको जन्म मिति राखेर ती युवाको नागरिकता बनाइएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?