कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगता भएका दाजुभाइलाई घरमै नागरिकता

आश गुरुङ

लमजुङ — सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा हर्सेटारका अपांगता भएका दुई दाजुभाइले बुबाआमाको काखैमा नागरिकता पाएका छन् । जन्मजात नबोल्ने र हातखुट्टा नचल्ने उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार घरैमा पुगेर नागरिकता दिएको हो ।

अपांगता भएका दाजुभाइलाई घरमै नागरिकता

आमा सीतामाया (६६ वर्ष) र बुबा कृष्णबहादुर (६७ वर्ष) को संरक्षणमा रहेका २७ वर्षीय कुमार अधिकारी र २५ वर्षीय कमल अधिकारीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नागरिकता प्रदान गरेका हुन् ।

अधिकारी दम्पतीका ५ छोरा र १ छोरीमध्ये कुमार काइँला र कमल कान्छा छोरा हुन् । अन्य भाइ अलग बस्न थाले पनि यी दुई छोरा भने आमाबुबाकै संरक्षणमा छन् । छोरीको विवाह भइसकेको छ । ‘दिसापिसाब व्यवस्थापन, खाना खुवाउनुपर्ने, लुगा धुने, घरभित्र–बाहिर लाने–ल्याउने गर्नुपर्छ । यत्तिकैमा दिन बित्छ,’ सीतामायाले भनिन्, ‘यस्तो अवस्थाका छोरालाई कसैले यसरी माया गर्छ जस्तो लागेको थिएन । काखैका बच्चाले नागरिकता पाएकामा खुसी छु ।’

बुढ्यौलीमा पनि दुई छोरालाई स्याहार्नुबाहेक अरू उपाय नभएको कृष्णबहादुरले दुखेसो पोखे । उनी पूर्वभारतीय सैनिक हुन् । ‘मेरो अलिअलि पेन्सन आउँछ । दुई छोरा पाल्ने र बूढाबूढी यसैको भरमा हो,’ उनले भने, ‘नागरिकता बन्यो । अब भत्ता पनि पाइएला ।’

प्रशासन कार्यालयका खरिदार राजेन्द्रप्रसाद पौडेलका अनुसार जन्मदर्ताका आधारमा कुमारलाई २०५० साउन ११ र कमललाई २०५२ असोज १२ को जन्ममिति राखेर नागरिकता प्रदान गरिएको छ । प्रजिअ शर्माले ग्रामीण भेगका असाह्य नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान थालिएको बताए ।

प्रकाशित : कार्तिक २९, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?