कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीका थाप्न गाउँ आउन बन्देज

पिङ नराख्ने, जुवातासमा प्रतिबन्ध, सांस्कृतिक कार्यक्रम नगर्ने मात्रै होइन, यस वर्ष भुजुङमा आफन्त हुन् या पर्यटक, चाडपर्व मनाउन कसैलाई पनि गाउँ प्रवेश गर्न नदिइने भएको छ ।
आश गुरुङ

लमजुङ — गुरुङ समुदायमा नातागोता र आफन्तलाई सबैखाले पर्वमा विशेष निम्तो दिइन्छ । नातागोता र आफन्तबिनाको चाडपर्वमा कुनै रौनक हुँदैन । दसैंमा निधारभरि सेतो टीका र पहेंलो जमराले सजिने गुरुङ समुदायमा छोरीबेटी र ज्वाइँ आउँदा मात्रै पनि चाडपर्व धपक्क बल्छ । तर यस वर्ष ऐतिहासिक भुजुङ गाउँमा यस्तो रौनक हुने छैन ।

टीका थाप्न गाउँ आउन बन्देज

गत भदौ अन्तिम साता बसेको भदौसभाले गाउँमा पिङ नराख्ने निर्णय गरिसकेको छ । जुवातास खेल्न/खेलाउन बन्देज लगाइएको छ । कोरोना संक्रमण जोखिमले भीडभाड र आफन्त बोलाएर चाडपर्व मनाउन यस वर्ष निषेध गरिएको हो । सांस्कृतिक कार्यक्रम पनि नगर्ने निर्णय भएको छ । गाउँ प्रवेश गर्न जरुरी रहेकालाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गत वर्ष पर्यटक भुजुङमै दसैं मनाउन आउँथे । वल्लो–पल्लो गाउँका साथै देशविदेशबाट दसैंतिहार मनाउन आउनेको लर्को हुन्थ्यो । ‘कोरोना संक्रमण जोखिमले दसैंमा आफन्त होस् या पर्यटक, कसैलाई पनि गाउँ भित्रिन नपाइने निर्णय गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म गाउँ चोखो छ । एक जनाले मात्रै कोरोना बोकेर ल्यायो भने गाउँ सबै ध्वस्त हुन्छ ।’

क्ब्होलासोंथर गाउँपालिका–४ भुजुङमा करिब ४ सय घर छन् । घरैपिच्छेका नातागोता अन्य गाउँठाउँमा छन् । घरघरै गएर टीका थाप्ने चलन भुजुङमा छ । तर यो चलनलाई यस वर्ष बन्द गरेर आ–आफ्नो घरमा मात्रै सीमित राख्ने निर्णय गाउँ भेलाले गरेको छ । दसैंमा आउन नसकेका चेलीबेटीलाई दसैंभाग भनेर पुर्‍याउने चलन पनि भुजुङमा छ । कोरोनाले गर्दा यो परम्परा पनि रोकिएको छ । वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार सोमबार गाउँ भेला बसेर जोकसैलाई पनि गाउँ प्रवेश गर्न नदिइने र गाउँबाट बाहिर जान पनि नदिने निर्णय गरिएको छ । ‘हाम्रो एक मात्र उद्देश्य भनेको गाउँमा कोरोना नभित्रियोस् भन्ने हो । त्यसैका लागि सदियौंदेखिको परम्परा तोड्नुपरेको छ,’ उनले भने ।

लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङले कोरोना संक्रमण रोक्न र गाउँमा कोरोना भित्रिन नदिन सुरुदेखि गाउँवासीले उच्च सतर्कता अपनाउँदै आएको बताए । ‘समुदायमै कोरोना देखिएको छ । सहरबाट आउने र सहरबाट छिमेकी गाउँ आएका आफन्तमा के छ/छैन, थाहा छैन । एक जनालाई मात्रै कोरोना भयो भने गाउँमा बर्बाद पार्छ,’ उनले भने, ‘हामी युवा, आमा समूह, बाबा समूह, जनप्रतिनिधि सबै मिलेर गाउँमा कसैलाई पनि आउन नदिने निर्णय गर्‍यौं ।’ अत्यावश्यक अवस्थामा देशविदेशबाट आउनेलाई सात दिन होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरू १४ दिन नपुगेसम्म एक दिन पनि घरबाहिर निस्कन पाउँदैनन् । ‘नसोधी र अटेरी गरी आउनेलाई हामी क्वारेन्टाइनमा राख्छौं । गाउँले थिति, गाउँले निर्णय सबैले मान्नुपर्छ,’ रीतिथिति व्यवस्थापन उपसमिति अध्यक्ष कालबहादुर गुरुङले भने ।

प्रकाशित : कार्तिक ५, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?