कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्भव भएसम्म स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट ल्याउन आग्रह

कान्तिपुर संवाददाता

स्याङ्जा — कोरोना संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रबाट शनिबारदेखि स्याङ्जा प्रवेश गर्दा सम्भव भएसम्म पीसीआर रिपोर्ट लिएर आउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड-१९ बाट नागरिकलाई सुरक्षित राख्न जोखिम भएका क्षेत्रबाट आउने नागरिकलाई पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए । 

सम्भव भएसम्म स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट ल्याउन आग्रह

यसअघि असोज २८ गते जिल्ला प्रशासन कार्यालयले स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधि भएको पीसीआर रिपोर्ट अनिवार्य चाहिने भनेर सूचना प्रकाशित गरेको थियो । तर शनिबार अर्को सूचना प्रकाशित गर्दै प्रशासनले कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारत, तेस्रो मुलुक र काठमाडौंलगायतका जिल्लाबाट आउने नागरिकहरुलाई यथासम्भव पीसीआर रिपोर्ट लिएर आउन आग्रह गरेको छ ।

प्रशासनले २८ गते प्रकाशित सूचनाबाट सर्वसाधारणमा भ्रम पैदा भएको उल्लेख गर्दै कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि जो जहाँ छ त्यहीँ चाडबाड मनाउन आग्रह गरेको छ । साथै शुक्रबार प्रकाशित सूचनामा आउनै परे संक्रमणको उच्च जोखिममा रहेका भारत तेस्रो मुलुक र काठमाडौंलगायतका जिल्लाबाट आउनेहरुलाघ सम्भव भएसम्म पीसीआर रिपोर्ट नेगेटिभ लिएर जिल्ला आउन आग्रह गरिएको छ ।

असोज २८ गते जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सूचना

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भीडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रबार निकालेको सूचना

यसैबीच नेकपा र कांग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस र कांग्रेस जिल्ला कार्यबाहक सभापति बुद्धिबहादुर रानाले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पार्टीका गतिविधि स्थगन गर्ने निर्णय गरेका हुन् ।

दुवै दलको संयुक्त बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा चाडपर्वको बेला नियमित हुँदै आएको शुभकामना आदानप्रदान तथा सामूहिक भेटघाट नगर्ने निर्णय भएको नेकपा जिल्ला अध्यक्ष गैह्रेले बताए ।

प्रकाशित : कार्तिक १, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?