कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

भैंसीको निहुँमा दुई गाउँबीच द्वन्द्व

न्यायिक समितिले हराएको भनिएको भैंसीबारे गरेको निर्णयले घान्द्रुक र दाङसिङबीच तनाव उत्पन्न भएको हो ।
दीपक परियार

पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिकामा भैंसीधनीको विवादमा न्यायिक समितिको निर्णयले दुई गाउँबीच द्वन्द्व बढेको छ । न्यायिक समितिले भैंसी एक पक्षको भएको निर्णय गरेपछि घान्द्रुक र दाङसिङबीच तनाव उत्पन्न भएको हो ।

भैंसीको निहुँमा दुई गाउँबीच द्वन्द्व

अन्नपूर्ण–१० घान्द्रुकका रामबहादुर परियारले गत वर्षको जेठमा आफ्ना १–१ वर्षका दुईवटा पाडी मोक्यु लेकको गोठमा पुर्‍याए । दाइ सुकबहादुरले व्यावसायिक गाईभैंसीपालन गरेकाले उनकै गोठमा रामबहादुरले पाडी छोडेका थिए । लेकमा चर्दाचर्दैका दुवै पाडी फागुनमा हराए । रामबहादुरले लेकतिरको भेग जताततै खोजे, पाडी कतै फेला परेनन् । असारको २७–२८ मा उनले अन्नपूर्ण–८ दाङसिङको लेक थामडाँडामा दुई नयाँ थोरे (पाडी) रहेको खबर पाए । बर्खा भएकाले उतिबेलै जान सकेनन् । साउन ६ मा उनी छोरालाई लिएर थामडाँडा पुग्दा ५ जनाको समूहले सञ्चालन गरेको कृषि फार्ममा दुई पाडी भेटिए । उनले आफ्नो भैंसी चिनिहाले । गोठालासँग दाम्लो मागेर उनले भैंसी लिएर घर फर्किए ।

९–१० दिनपछि फार्मका सञ्चालक रामचन्द्र ढुंगाना, दिनेश गुरुङलगायत रामबहादुरको घरमा पुगे । भैंसी आफ्नो भएकाले फिर्ता दिन भने । माघ १० मा दुईवटा भैंसी लामखेत बेंसीबाट ५३ हजार रुपैयाँमा किनेको उनीहरूको दाबी थियो । रामबहादुरले बेंसी र लेकको भैंसीको रौं नै फरक हुने तर्क गरे । भैंसीको गुनबैगुन सोधे । उनीहरूले केही बताउन सकेनन् । घान्द्रुक चौकीका प्रहरी र स्थानीय भद्रभलादमीसहित दुई पक्षबीच छलफल भयो । कसको भैंसी भन्ने टुंगो लागेन ।

फार्म सञ्चालक ढुंगानासहितको टोलीले पोखराको बगर चौकीमा आफ्नो भैंसी चोरी भएको उजुरी दियो । बगर चौकीका प्रहरीमा कोरोना संक्रमण देखिएकाले छलफल हुन सकेन । उनीहरू गाउँपालिकाकै वीरेठाँटी चौकी पुगे । चौकीले उक्त विवाद गाउँमै मिलाउन भन्दै फर्काइदियो । फार्म सञ्चालकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । अब यो विवाद रामबहादुर र अर्का फार्म सञ्चालकको मात्रै रहेन, बरु घान्द्रुक र दाङसिङ गाउँबीचको भयो । एकअर्कालाई चोरदोष लगाएकाले इज्जतको सवाल भएको दुवै गाउँलेले ठाने ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले तीनपल्टसम्म दुवै पक्षलाई राखेर छलफल चलाइन् । दुवै पक्षले आ–आफ्नो तर्क पेस गरे । न्यायिक समितिकी संयोजक उनी असोज १४ मा घान्द्रुकमै पुगिन् । रामबहादुरको घरमा पुगेर हेरेपछि उनले ती दुवै भैंसी दाङसिङको भएको निर्णय गरिन् । फार्म सञ्चालकलाई गोठबाट भैंसी फुकाउन भनिन् । स्थानीयले फुकाउन दिएनन् । दुई पक्षबीच झडपको स्थिति आयो ।

उपाध्यक्ष र फार्म सञ्चालक घान्द्रुकबाट उम्किए । ‘रामबहादुरले भैंसी हान्ने, मार्ने, चम्क्याहा खालको छ भन्थे, थामडाँडाकाले आफ्नो भैंसी गुनी छ भन्थे,’ उनले भनिन्, ‘हामी त्यत्रो मान्छे त्यहाँ पुग्दा पनि भैंसी थपक्क बस्यो, दच्किएन । त्यसैले मलाई भैंसी थमडाँडाकै हो भन्ने ढुक्क भएर निर्णय गरें ।’ रामबहादुरको भैंसी फागुनमा हराएको तर फार्म सञ्चालकले माघ १० मै भैंसी किनेकाले उनीहरूकै भएको निष्कर्षमा पुगेको तर्क उनले गरिन् । ‘रामबहादुर सोझा छन्, गाउँलेले उचाले,’ उनले भनिन्, ‘भैंसी फिर्ता गर्दा घान्द्रुकको चोर ठहरिने डरले फिर्ता गर्न मानेका छैनन् ।’

दाङसिङका गाउँवासी नै मिलेर नक्कली भैंसी विक्रेता खडा गरेको रामबहादुरको आरोप छ । आफूले फागुनमा भैंसी हराएको बताएपछि माघमा किनेको बनाएर नक्कली विक्रेता देखाएको आरोप उनले लगाए । न्यायिक समितिको निर्णय लिएर बगर चौकीबाट शुक्रबार प्रहरीको टोली घान्द्रुकतिर गएको थियो । स्थानीयले विरोध गर्ने चाल पाएपछि प्रहरीको टोली बाटैबाट फर्कियो ।

न्यायिक समितिको निर्णयविरुद्ध रामबहादुरले अदालत गुहार्ने बताएका छन् । आइतबार पोखरा आएका उनले भने, ‘आफ्नै भैंसी फिर्ता ल्याउँदा चोरीको आरोप खेप्नुपर्‍यो । न्यायिक समितिले न्याय दिएन । अब कहाँ जाऊँ ?’

प्रकाशित : आश्विन १९, २०७७ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?