कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाँडा पसलबाट पेट्रोल बिक्री

आश गुरुङ

लमजुङ — लमजुङको उदिपुरमा भाँडा पसलेले पेट्रोल बिक्री गरेको फेला परेको छ । सुन्दरबजारमा सप्लायर्सले पेट्रोल र डिजेल राखेर बिक्रीवितरण गरेको फेला परेको हो ।

भाँडा पसलबाट पेट्रोल बिक्री

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेंसीसहर नगरपालिका १, उदिपुरको गुरुङ भाँडा पसल र सुन्दरबजार नगरपालिका ६, क्याम्पस गेट सुन्दरबजारको आदिवासी सप्लायर्समा अनुगमन गरेको थियो । यी दुई ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारीद्वय अनिलकुमार शाही र काजीमान सुनारको नेतृत्वमा अनुगमन टोली खटिएको थियो । गोप्य सूचनाको आधारमा अनुगमन गरिएकोमा दुवै ठाउँमा अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उदीपुरको भाँडा पसलबाट ३५ लिटरको ४ ग्यालिन पेट्रोल, १ लिटरको ७ वटा मिनिरल वाटरको बोतलमा भरेर बिक्रीका लागि राखिएको पेट्रोल गरी करिब १ सय ४७ लिटर पेट्रोल बरामद गरिएको सहायक प्रजिअ शाहीले बताए ।

सुन्दरबजारको सप्लायर्सबाट डिजेल करिब २ सय १० लिटर, ४३ लिटर पेट्रोल बरामद गरिएको सहायक प्रजिअ सुनारले बताए । उनका अनुसार उक्त सप्लायर्सबाट सानाठूला गरी खाली ड्रम ५, ग्यालिन २ र १० लिटरको पेट्रोल भर्ने टीनको जगसमेत बरामद गरिएको छ ।

अवैध रुपमा पेट्रोलियम पदार्थ राखेको भन्दै अनुसन्धान र छानबिन थालिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनीहरुविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रजिअ शर्माले बताए ।


प्रकाशित : आश्विन ९, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?