कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — अविरल वर्षासँगै आएको बाढीपहिरोले हिमाली जिल्ला जोडिएको बेंसीसहर–चामे सडक अवरुद्ध बनेको छ । सडकको लमजुङतर्फका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । 

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

बेंसीसहर नगरपालिका ६, खरखरे, मर्स्याङ्दी गाउँपालिका ४ घोप्टेभीरलगायत ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन हुन सकेको छैन । ती ठाउँमा मानिसहरु समेत हिँडेर आवतजावत गर्न नसकेको स्थानीयले बताएका छन् ।

डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका सब इन्जिनियर सुमन अधिकारीले मंगलबार साँझदेखि परेको वर्षाका कारण बेंसीसहर नजिकै बेलौती विसौनाको खरखरे भीरमा माथिबाट पहिरो खसेको बताए । मर्स्याङ्दी नदीबाट पनि पहिरोले च्याप्दै आएको उनले बताए । ‘पानी परिरहेकाले निरन्तर पहिरो झरिरहेको छ । तत्काल खुलाउन सम्भव भएन । बाटो खुलाउँदा माथिबाट पहिरो बगेर पुरिने खतरा छ,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिका ४ का अध्यक्ष सुमन गुरुङले घोप्टेखोलामा बेलिब्रिज राख्‍ने तयारी गर्दा माथिबाट पहिरो खसेको बताए । पहिरो खसेपछि काम रोकिएको छ । उक्त ठाउँमा पहिरो गएकाले सवारी आवागमन ठप्प छ । ‘निरन्तर पानी परिरहेपछि पहिरो खस्यो । काम गर्न सकिएको छैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले ठाउँठाउँमा ठूला र साना पहिरो गएको बताए । बाढीपहिरोले ठाउँठाउँमा सडक बगाउनुका साथै पहिरोले पुरिँदा सवारी आवागमन हुन सकेको छैन । उनका अनुसार दिनभरी पानी परिरहेकाले बुधबार पहिरो पन्छाउन सकिएको छैन । मानिसलाई पैदल हिँड्न पनि असहज भएको उनले बताए । तत्काल सडक मर्मत गर्दा पुन: पहिरो जाने जोखिम भएकाले पानी रोकिएपछि मात्र सडक सुचारु गरिने उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?