तनहुँका सबै पालिका मिलेर आइसोलेसन भवन बनाउँदै- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँका सबै पालिका मिलेर आइसोलेसन भवन बनाउँदै

सम्झना रसाइली

तनहुँ — जिल्लाका सबै १० वटै स्थानीय तहको संयुक्त लगानीमा आइसोलेसन भवन निर्माणको काम थालिएको छ । कोरोना संक्रमण फैलिएसँगै संक्रमितको व्यवस्थापनका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा १२ कोठाको आइसोलेसन बनाउन लागिएको हो ।

गत असार २९ मा जिल्लाका सबै पालिकाको बैठकले कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिदको निर्णय गरेको थियो । तर मेसिन खरिदभन्दा संक्रमितलाई व्यवस्थापन गर्न आइसोलेसन भवन निर्माणमा लागिएको उतिबेला बैठकको अध्यक्षता गरेकी म्याग्दे गाउँपालिका अध्यक्ष माया रानाले बताइन् ।

केन्द्रमा निर्माण हुन लागेको आइसोलेसन भवनको सम्पूर्ण जिम्मा शुक्लागण्डकी नगरपालिकालाई दिइएको छ । करिब ७२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको आइसोलेसन भवनको खर्च व्यवस्थापन ४ नगरपालिका र ६ गाउँपालिका मिलेर गरिने शुक्लागण्डकी नगरप्रमुख किसान गुरुङले बताए ।

‘सुरुमा पीसीआर रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टाइनमा बस्नेहरु आत्तिएका कारण सबै पालिका मिलेर पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेका थियौ’, उनले भने, ‘मेसिन सञ्चालनमा छुट्टै संरचना, व्यवस्थापन र जनशक्ति आवश्यक पर्ने र पछिल्ला दिनमा रिपोर्ट पनि चाँडै आउन थालेपछि आइसोलेनि निर्माण गर्न लागिएको हो ।’ एक साताअघिदेखि केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।

उनका अनुसार भवन निर्माणका क्रममा लाग्ने लागतमा प्रतिशतको आधारमा पालिकाको सहभागिता हुनेछ । शुक्लागण्डकीको १४ प्रतिशत, व्यास, भिमाद र भानु नगरपालिकाको १२/१२ प्रतिशत, रिसिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको ९/९ प्रतिशत र देवघाट गाउँपालिकाको ५ प्रतिशत लागत सहभागिता रहने गुरुङले बताए । भवन निर्माण दशैंअगाडि नै सम्पन्न गरी केन्द्रलाई हस्तान्तरण गर्ने लक्ष्य छ ।

शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र । तस्बिर: सम्झना/कान्तिपुर

केन्द्रमा आइसोलेसन भवन निर्माण भए अन्य बिरामीलाई पनि केन्द्रबाट सेवा लिन सहज हुने श्वासप्रश्वास केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए । उनले भने, ‘कोभिड अस्पताल नभएको हुँदा संक्रमितलाई सीमित एउटै कक्षमा थुनेर राखेको जस्तो भएको छ र अन्य रोगका बिरामीलाई सेवा लिन आउन असहज भएको छ ।’ अहिले केन्द्रमा ५० वेड शय्याको आइसोलेसन कक्ष छ । हालसम्म १७१ जना संक्रमितले केन्द्रबाट सेवा लिएका छन् ।

प्रकाशित : आश्विन २, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारपछि किशोरीद्वारा आत्महत्या प्रकरण : दुई मुख्य आरोपी समातिए

अवधेशकुमार झा

राजविराज — १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार घटनाका दुई मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार बलात्कारमा संलग्नमध्ये सुमनकुमार मण्डल र रञ्जित मण्डललाई बिहीबार राति नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

स्रोतका अनुसार घटनापछि भारत गएर बसेका उनीहरूलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको हो । ‘भागेर भारत गएर बसेका थिए, बिहीबार राति नेपाली सीमा क्षेत्रमा आएको खबर आएपछि पक्राउ गर्‍यौं,’ प्रहरी निरीक्षक खड्काले भने । घटनाका अन्य दुई आरोपी विष्णु मण्डल र धर्म मण्डल अझै फरार छन् ।

भदौ २९ गते खेत जाँदै गरेकी डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी किशोरीलाई भदौ २९ गते चार जनाले बलात्कार गरेका थिए । घटनाबारे प्रहरीमा उजुरी नगर्न भन्दै स्थानीय पञ्चहरूले धम्क्याएपछि उनले सोमबार राति झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रहरीले पञ्चहरूमध्ये जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई मंगलबार नै नियन्त्रणमा लिएको छ । रकम लेनदेनमा घटना सामसुम पार्न प्रयास गरेका उनीहरूले पञ्चहरूको भेला डाकी किशोरी र उनको परिवारलाई प्रहरीमा उजुरी गर्न नपाउने निर्णय गरेका थिए । पञ्चायतीमा संलग्न अन्य पञ्च भने फरार छन् । उनीहरू सबैको खोजी भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २, २०७७ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×