म्याग्दीको कालिज फार्ममा चितुवा पस्यो- गण्डकी - कान्तिपुर समाचार

म्याग्दीको कालिज फार्ममा चितुवा पस्यो

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा चितुवा पसेको छ । हरियाली ग्रुप प्रालिद्वारा सञ्चालित कालिज फार्ममा फलामे बार र नाइलन जालीबाटै चितुवा भित्र पसेको हो ।

चितुवा फार्मभित्रै बसिरहेकाले कति कालिज माऱ्यो भन्ने यकिन नभएको फार्म सञ्चालकले बताएका छन् । साथै चितुवा भित्रै रहेकाले वरपरका स्थानीय पनि त्रसित बनेका छन् ।

शुक्रबार बिहान फार्मका कर्मचारी चारो हाल्न भित्र जाँदा चितुवा देखेपछि भागेका थिए । दुई वटा कालिज फार्ममध्ये चल्ला भएको भागमा चितुवा पसेको हरियाली ग्रुपले जनाएको छ ।

भित्र रहेको चितुवा बाहिर निक्लन पटक–पटक तारमा ठोक्किने र चिथोर्ने प्रयास गर्दा घाइते नै भएको छ । तर बाहिर निक्लन सकेको छैन ।

‘कालिज फार्ममा पसेको चितुवालाई खोरमा थु्न्न सक्ने अवस्था छैन । बेहोस बनाउने डार्ट गन जिल्लामा छैन, मान्छेलाई आक्रमण नगरी गोली हान्न पनि मिलेन । उपायको खोजीमै छौं,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘चितवन नेसनल पार्कबाट डार्ट गनसहित प्राविधिक ल्याई बेहोस बनाई बाहिर ल्याउन पनि कोरोनाले गर्दा अप्ठेरो भएको छ । दिनभर पर्खेर राति फार्ममा प्रवेश गर्ने मूल गेट खुल्ला राख्ने र सुरक्षित बाहिर निक्लने वातावरण बनाउने योजनामा छलफल चल्दैछ ।’

मीनबहादुर श्रेष्ठको अगुवाइमा स्थानीय कृषक र व्यवसायी मिलेर बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले करिब १० करोड लगानीमा व्यावसायिक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेको हो ।

प्रकाशित : भाद्र २६, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

कोसेलीमा गुर्जो

घनश्याम खड्का

म्याग्दी — पोखरादेखि काठमाडौसम्मका आफन्त र साथीभाइलाई उनले अचेल नयाँ कोसेली पठाउन थालेका छन्– गुर्जो । सदरमुकाम बेनीबजारका बालकृष्ण सुवेदी, जो ३ महिनादेखि आफैं पनि नियमित गुर्जो सेवन गरिरहेका छन् । आयुर्वेद चिकित्सामा रोग प्रतिरोधात्मक क्षमता बढाउन र विभिन्न रोग उपचारमा गुर्जोको उपयोग हुँदै आएको उनले उहिल्यै थाहा पाएका हुन् ।

तर पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि भने नियमित सेवन गरिरहेका छन् ।

‘गुर्जोको नियमित सेवनले शरीर स्फूर्ति बढेको महसुस गरेको छु,’ उनले भने, ‘मैले कोसेली पठाएको गुर्जो सेवन गरिरहेका पोखरादेखि काठमाडौंसम्मका आफन्त र साथीभाइले पनि फाइदा पुगेको प्रतिक्रिया दिइरहेका छन् ।’ उनले मात्र नभई परिवारका सबैले गुर्जो सेवन गरिरहेका छन् । गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढ्ने र कोरोना संक्रमणलाई रोक्न मद्दत गर्ने सुनेपछि कार्यालयमा नियमित रूपमा बिहान, दिउँसो र साँझ चियाका रूपमा सेवन गर्दै आएको कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाइन बेनीका सहायक प्रबन्धक यादव न्यौपानेले बताए । ‘चिया बनाएर खाँदा टर्रोपन पनि हुँदैन,’ उनले भने, ‘कार्यालयका सबैले नियमित सेवन गरेपछि स्फूर्ति बढेको अनुभव भएको छ ।’

केही महिनाअघिसम्म आयुर्वेद उपचारमा चासो राख्ने थोरैलाई बाहेक कुनै चर्चा र चासो थिएन गुर्जोबारे । वनपाखा र खेतबारीमा प्रशस्त पाइने गुर्जो प्रायः खेर गइरहेको थियो । तर अहिले एकाएक गुर्जोको लहरो चर्चामा छ । गाउँघर, सहरबजारमा सेवन बढेको त छ नै, आफन्त र इष्टमित्रलाई पठाउने बहुमूल्य उपहार (कोसेली) बन्न थालेको छ ।

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको कुनै औषधि र उपचार पद्धति विकास नभएको अवस्थामा आयुर्वेद चिकित्सकले कोरोनासँग लड्न गुर्जो लहरोको रस सेवन गर्न सुझाएपछि खोजीखोजी सेवन थालिएको हो ।

उष्णतटीय क्षेत्रमा पाइने लहरे प्रजातिको वनस्पती गुर्जो खोज्ने यतिबेला छ्यापछ्याप्ती भेटिन्छन् । प्राचीन समयदेखि नै रोग प्रतिरोधात्मक क्षमता अधिक रहेको मानिने गुर्जो ज्वरो, रुघाखोकी, मधुमेह र चर्मरोगसमेतको उपचारमा उपयोग गरिँदै आएको पाइन्छ । पछिल्लो समय भने कोरोना नियन्त्रणका लागि भन्दै गुर्जो पाइने क्षेत्रका प्रायः घरमा पानी वा चियामा उपयोग गर्न थालिएको हो । आयुर्वेद चिकित्सकका अनुसार बेसार, गुर्जो र तुलसीको पातसमेत मिसाएर उमालेको पानी बेलुका–बिहान नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ ।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा पनि कोरोना संक्रमण भई आइसोलेसनमा बसेका ४८ जनालाई सुरुदेखि नै तुलसीको पात र गुर्जो थिचेर बनाएको चिया र अस्वगन्धा जडीबुटी नियमित खुवाइएको थियो । आइसोलेसनमा बसेका सबै छिट्टै कोरोना संक्रमणमुक्त हुनुले गुर्जोलगायत जडीबुटीको सेवन उपयोगी रहेको कार्यालयको दाबी छ । संस्कृतमा गुडुची वा चक्रलक्षणिका भनिने गुर्जोलाई नेपालीमा अमृता पनि भनिन्छ ।

यसको वैज्ञानिक नाम भने ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । ‘गुर्जो बहुउपयोगी र बहुगुणकारी जडीबुटी भएकाले सम्भव भएसम्म खानु जरुरी छ,’ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. मधुरजी ढकालले भने, ‘हरेक कुराको सीमा हुन्छ । गुर्जो सेवनमा पनि मात्रा मिलाउनु आवश्यक हुन्छ । त्यसैले एक जना वयस्कले २ इन्चसम्मको टुक्रा गुर्जो थिचेर थोरै पानीमा राखी उमालेर ५० एमएलसम्म बनाई सेलाएर बिहान–बेलुका नित्य सेवन गर्दा फाइदा पुग्छ ।’ गुर्जो सेवनले अन्य रोगलाई समेत लाभ पुर्‍याउने उनले बताए ।

पानको झैं फिँजारिएको पात हुन्छ गुर्जोको । यसको लहरालाई काट्दा भित्र चक्राकार चिह्न देखिन्छ । बर्खायामको फूल पहेंलो र हिउँदमा फल रातो फल्छ । गुर्जोको ताजा वा सुकेको लहराको १–२ इन्च जति टुक्रालाई थिचेर २ सय एमएल पानीमा राखी उमाल्दै सुकाएर ५० एमएल भएपछि सेलाएर नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै मधुमेह (सुगर) का बिरामीलाई समेत राम्रो हुने केन्द्रले जनाएको छ ।

‘गुर्जो गुणकारी जडीबुटी भएको धेरैले अनुभव सुनाएका छन् । गुर्जो प्रयोग भएका विभिन्न औषधि ल्याउने तयारीमा छौं,’ जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन विश्वकर्माले भने, ‘बजेट व्यवस्थापनपछि गुर्जोयुक्त औषधि वितरण गर्ने र यसको उपयोग गर्ने विधिबारे सचेतनाको योजनामा छौं ।’

प्रकाशित : भाद्र १७, २०७७ ०६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×