कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले कटान गरेको बेलिब्रिज एक महिनापछि सञ्चालनमा

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वरमा राहुघाट खोलाले फाउन्डेसन कटान गरेपछि भत्किएको बेलिब्रिज एक महिनापछि सञ्चालनमा ल्याइएको छ । गत असार २६ को बाढीले पुल कटान गरेपछि बेनी–जोमसोम खण्डमा यातायात अवरुद्ध थियो ।

बाढीले कटान गरेको बेलिब्रिज एक महिनापछि सञ्चालनमा

बेलिब्रिज सञ्चालनपछि बेनी–दाना ३० किमी खण्डमा यातायात खुलेको हो । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार बेनीदेखि दानासम्म करिब ३० किमिमा मिनी ट्रकसम्म चल्न सक्ने गरी सडक खुलेको छ । त्यसै गरी मुस्ताङतर्फबाट लेतेदेखी तल बाँदरजुँग भीरसम्म करिब ८ किमिमा ट्र्याक खोलिएको छ ।

‘बाढीले ढलाएको बेलिब्रिजलाई जस्ताको त्यस्तै उठाएका छौं । आजदेखि पुलमा ट्याक्टर र साना गाडी सञ्चालन गरेका छौं । हेभी गाडी चल्न अझै केही दिन कुर्नुपर्छ,’ आयोजना प्रमुख अशोक तिवारीले भने ।

आयोजनाका अनुसार अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता–बाँदरजुँग भीरसम्म ५ किमि खण्डमा रहेका काप्रेभीर, रुप्से, दाना, द्वारीखोला र खामभित्तामा पहिरो पन्छाएर ट्र्याक खोल्नपर्ने देखिएको छ ।

सबैभन्दा जटिल भाग मानिएको काप्रेभीर/बाँदरजुँग भीरको करिब ४० मिटर सडकको फाउन्डेसन नै नरहेकोले पहाडमा विस्फोट गराई ट्र्याक खोल्ने योजना बनाइएको आयोजनाले जनायो । दानाको खामभित्तामा कालिगण्डकीले सडक बगाएको छ भने माथिबाट लेदो बगेर आउने गरेको छ ।

म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीर/बाँदरजुँग भीरमा दुईवटा पहिरो खस्दा सडक बगेर कालीगण्डकीमा पुगेको छ।

प्रकाशित : श्रावण २८, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?