कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले खेत बन्यो बगर

हरिराम उप्रेती

गोरखा — धान रोपेको तीन साता नबित्दै खेत बगरमा परिणत भएका छन् । वर्षदिनभरि खाने अन्न उब्जने खेत खारखोलाले कटान गरेपछि गोरखा नगरपालिका–१४ देउरालीका धनबहादुर थापा निराश छन् । बाढीको कटानपछि उनको दुई सुर्का मात्र बचेको छ ।

बाढीले खेत बन्यो बगर

‘दुई हलको मेलोको खेतबाट बर्खे धान मात्र १० मुरी भित्र्याउँथे,’ उनले भने,‘साउन ५–६ गतेको बाढीले दुई सुर्का मात्र बाँकी राख्यो । यो वर्ष १० पाथी धान पनि भित्राउन सकिँदैन ।’ बचेका दुई सुर्काको पनि रोपो र आली बगाएको उनले सुनाए । खोलाको धार खेततर्फ सोझिएपछि थापालाई जमिन पुरानै अवस्थामा फर्काउने कसरी सोच्नसम्म सकेका छैनन् ।

साउन पहिलो साता आएको बाढीले खेत बगर बनाएपछि यहाँका तीन सय बढी किसान समस्यामा परेका छन् । दरौदी नदी, भुसुण्डे, खारखोला, लुदि खोला छेउछाउका झण्डै २५ सय रोपनी खेतमा बाढीले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वडहरे फाँटको मात्र ६० रोपनी खेतमा यतिखेर खोला हिँडेको छ । ‘खेत बगर वन्यो,’ देउरालीका भानु थापाले भने, ‘खेतका माटो सबै बगेर ढुंगा देखिएको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ ।’ थापाको मात्र चार रोपनी खेत खारखोलाले कटान गरेको छ । लगातारको वर्षात पछि भट्टबेसी–बुढीकोट सडकको माटोसहितको लोदो खेतमा पसेको उनले बताए । खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उनको गुनासो छ । ‘अब धानको बिउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बिउ रोप्न मिल्दैन,’ उनले भने ।

बिर्दीका उमेशचन्द्र ढकालले धान रोपाइँका लागि झण्डै १० हजार खर्च गरे । तर रोपेको दुई साता नबित्दै उनको साढे तीन रोपनी खेत बगर बनेको छ । ‘ट्याक्टरलाई मात्र सात हजार दिएको छु, रोपार, आली लगाउने खेतला खोज्दा धेरथोर खर्च भयो । आफ्नो दु:खको त कुरै छाडौं,’ उनले भने, ‘लगानी खेर गयो, बरु त्यो पैसाले वेसाएर खाएको भए भरथेग हुने रहेछ ।’

गोरखाको दरौदी र खारखोला दोभानमा बाढीले क्षति पुर्‍याएको धान खेत ।

खारखोला फाँटका परम्परागत कुलोसमेत बगाएको छ । सबैभन्दा लामो र झण्डै दुई सय किसानको खेत सिँचाइ हुँदै आएको लामकुलोको नाम निसाना छैन । बचेका कुलोमा पानी नचढ्ने समस्या थपिएको छ । ‘शेरा फाँट र खारखोला फाँटमा मात्र पाँच–सात वटा बाँध, कुलो केही पनि छैन,’ पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेजराज पाण्डेले भने, ‘बचेका खेतमा पनि पानी लगाउन सक्ने अवस्था छैन ।’ उक्त वडामा मात्र बाढीले तीन सय किसान प्रभावित भएको उनले बताए । ‘कुनै खेत बगर बन्यो, कतै गेग्रान थुप्रिएर रोपो पुरेको छ, फेरि खोलाको कटानले पनि खेत बगाएको छ,’ उनले भने ।

तटबन्ध तथा बाढी रोकथामको अभावमा बर्सेनि बाढीले दु:ख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दिर्घकालीन रुपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने, तत्कालका लागि क्षतिपूर्ति र बचेका खेतमा सिँचाइका लागि कुलो मर्मत गरिदिनुपर्ने किसानको माग छ ।

कृषि ज्ञान केन्द्र गोरखाका अनुसार गोरखा नगरपालिकाको १२ सय ८४, सहिद लखन गाउँपालिकाको ११ सय पाँच, बारपाक सुलिकोट गाउँपालिकाको ८१, सिरानचोक गाउँपालिकाको दुई र गण्डकी गाउँपालिकाको तीन रोपनी धान खेतमा क्षति पुगेको छ । मुचुल्कासहित क्षति विवरण संकलन गरिएको कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाले बताइन् । संकलित विवरण गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेस गर्ने उनले बताइन् । ‘अझै क्षतिको विवरण संकलन कार्य जारी छ,’ उनले भनिन् ।

प्रकाशित : श्रावण २७, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?