चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षीय बालकको मृत्यु
तनहुँ — शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ८ बजेतिर आँगनमा खेल्दै गरेका स्थानीय विष्णुकुमार रानाका छोरा रोहन रानालाई चितुवाले लगेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
‘घरका अन्य सदस्यहरु घरभित्र अन्य कामकाजमा व्यस्त भएको बेला आँगनमा खेल्दै गरेका रोहनलाई चितुवाले टिपेर लगेको रहेछ’, उनले भने, ‘चितुवाले लगेका बालकको बुधबार मध्यरातमा टाउको र हात मात्र भेटिएको छ । ती दुवै अंग घरबाट झण्डै तीन किलोमिटर पर जंगलमा भेटिएको हो । अरु भाग अझै भेटिएको छैन ।’
यसअघि पनि शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गइसकेको छ । २०७४ साल फागुन १ गतेयता चितुवाको आक्रमणबाट तनहु्ँमा १० जना बालबालिकाले ज्यान गुमाइसकेका जिल्ला डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए । त्यस्तै, चितुवाको आक्रमणबाट ८ जना बालबालिका घाइते भएका छन् ।
प्रकाशित : श्रावण २२, २०७७ ०८:४५