कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेटवर्किङमा पक्राउ परेका छुटे

कान्तिपुर संवाददाता

बागलुङ — नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका युवालाई जाहेरी नपरेको भन्दै प्रहरीले मंगलबार छाडेको छ । काठमाडौं कोटेश्वरका ३७ वर्षीय बालकुमार सुब्बालाई गैरकानुनी नेटवर्किङ व्यवसाय ‘क्राउड वान’ को सञ्जाल विस्तार गरेर ढोरपाटन नगरपालिकाका एक दर्जन युवा ठगेको भन्दै एक महिनाअघि पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको थियो ।

नेटवर्किङमा पक्राउ परेका छुटे

सुब्बाले खाता खोलेको १४ दिनभित्र चार जना सदस्य बनाए १७ हजार आउने भन्दै प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ असुल गरेको आरोप लागेको थियो । हिरासतमा राखेको लामो समयसम्म जाहेरी दिने कोही नआएपछि छाडिएको जिल्ला प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । ‘जाहेरी नपरेपछि हामीले मुद्दा चलाउन सकेनौं, अनुसन्धान गरिरहन्छौं,’ उनले भने, ‘ठगिएका मानिसले जाहेरी दिन सक्छन् ।’ मौखिक उजुरीका आधारमा पक्राउ गरे पनि ठगिएका व्यक्ति उजुरी दिन नआएको रेग्मीको भनाइ छ ।

असार १७ गते बुर्तिवाङबाट सुब्बालाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा रहेका सुब्बालाई मंगलबार दिउँसो छाडिएको हो । सुब्बाले बडिगाड गाउँपालिकामा पनि ९ जनालाई आईडी बनाएर प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ असुल गरेको भेटिएको थियो । आईडी खोलेको १४ दिनभित्र थप चार सदस्य बनाएमा खातामा १७ हजार रकम आउने भन्दै युवालाई समूह बनाएको थाहा पाएपछि पक्राउ गरिएको थियो ।

‘सुरक्षा निकायमा पनि कोही सूचना दिने छन्, कोही पैसा खाएर छुटाउने छन्,’ एक सुरक्षा अधिकारीले भने, ‘मुद्दा कमजोर बनाउन खोजिएकोले उनको जाहेरी नआएको बुझिन्छ ।’ ७ वर्ष अघिदेखि उनले गुल्मीको वामी टक्सारमा रहेको मनकामना मेडिकल हल, बागलुङको बडिगाडस्थित बिन्दबासिनी मेडिकलहल र बुर्तिवाङको हिमाली मेडिकलहलमा काम गर्दै क्रिश्चियन धर्म प्रचार गर्ने र लाग्न लगाउने गरेको समेत भेटिएको थियो ।

प्रकाशित : श्रावण २०, २०७७ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?