कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम अभाव, खाद्यान्नको मूल्यवृद्धि

घनश्याम खड्का

म्याग्दी — लामो समयदेखि बेनी–जोमसोम सडकको विभिन्न खण्ड पहिरोले अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । मनसुन सुरु भएसँगै अनियमित भएको पेट्रोलियम पदार्थको ढुवानी गत असार २७ गतेदेखि बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डको दर्जन बढी स्थानमा बाढीपहिरोले भत्काएपछि मुस्ताङमा  खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको ढुवानी ठप्प छ ।

पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम अभाव, खाद्यान्नको मूल्यवृद्धि

ढुवानी रोकिएपछि खाद्यान्नमा मूल्यवृद्धि भएको छ । ‘दाउरा नपाइने मुस्ताङमा खाना पकाउने ग्याँस पाइँदैन, २२ सय पर्ने चामलको मूल्य बढेर ३५ सय पुगेको छ,’ जोमसोममा कार्यरत एक कर्मचारीले सुनाए ।

मुस्ताङमा नेपाल आयल निगमको डिलर (पम्प) नभएकोले व्यवसायीले बेनी र पोखराबाट ब्यारेल (२ सय २० लिटर क्षमताको ड्रम)मा भरेर डिजेल,पेट्रोल ल्याई पानीको बोतलमा भरेर बेच्ने गर्छन । खाना पकाउने एलपी ग्याँस पनि पोखराबाटै सिलिण्डर भरेर लैजाने गरिएको छ ।

‘पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि हाहाकार नै भएको छ । सडक मर्मत गर्न डोजर चलाउने समेत इन्धन समस्या भएको छ,’ प्रमुख जिल्ला अधिकारी वेदनाथ अर्यालले भने, ‘असारे विकासले पनि एक्कासि पेट्रोलियम पदार्थ सकिएको हो । खाद्यान्नमा मूल्यवृद्धि हुँदा कर्मचारी र निम्न वर्गका मजदुरलाई समस्या देखिन थालेको छ ।’

खाना पकाउने एलपी ग्याँस अभाव हुँदा ठूलो संख्यामा रहने सुरक्षाकर्मी, कर्मचारी र मजदुर समुदाय बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार बजारमा खाना पकाउने एलपी ग्याँससमेत डिजेल, पेट्रोलको स्टक आउट छ ।

पेट्रोलियम पदार्थसँगै निर्माण सामग्री ढुवानी पनि रोकिएकोले मुस्ताङमा सञ्चालित विभिन्न पूर्वाधारका योजनाहरु प्रभावित भएका छन । पानी नपर्ने र गर्मी मौसम भएकोले मुस्ताङमा वैशाख–भदौ पूर्वाधार निर्माणको उपयुक्त समय हो ।

‘बाढीपहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङमा खाद्यान्न, पेट्रोलियम पदार्थ र निर्माण सामग्री ढुवानी पूरै रोकिएको छ,’ घरपझोङ्ग गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले भनिन्, ‘लकडाउनले गर्दा पर्यटन नआउने भएपछि व्यवसायीले पनि धेरै खाद्यान्न स्टक नराखेकोले सडक अवरुद्ध हुँदा छिट्टै अभाव देखिएको हो ।’

पेट्रोलियम पदार्थको अभाव बढेसँगै मुस्ताङमा सञ्चालित राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकको लेत–जोमसोम–कोरला खण्डमा भइरहेको काम समेत धेरै योजना प्रभावित भएका छन् ।

प्रकाशित : श्रावण १७, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?