कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर भत्केपछि सातादेखि सत्तलको बास

प्रकाश बराल

बागलुङ — बिहीबार राति हेमराज उपाध्यायको परिवार खाना खाएर सुत्ने तरखरमा थियो । बेलुकी ५ बजेदेखि परेको मुसलधारे पानीले बाहिर निस्कन सकिने अवस्था थिएन । 

घर भत्केपछि सातादेखि सत्तलको बास

बागलुङ नगरपालिका–५ मालिकाका उपाध्यायका दुई छोरा, एक छोरी, १ नातिनी र श्रीमतीसहित ६ जनाको परिवार घरमा बस्थ्यो । साढे ८ बजे एक्कासि घर हल्लियो । हतारहतार बाहिर निस्कन खोज्दाखोज्दै घरमाथिको सडकबाट खसेको पहिरो र बाढीले पश्चिमतर्फको पर्खाल भत्कायो । घरभित्रै हिलाम्मे भयो । सुत्न लागेकी नातिनी च्यापेर उपाध्यायको परिवार रुँदै–कराउँदै बाहिर निस्क्यो । भाग्ने ठाउँ कतै थिएन । बारीमा पनि जतासुकै पहिरो खसेको थियो । नजिकै ९० सालको भूकम्पले भत्केको घर मर्मत गरी गोठ बनाएका थिए । त्यहीँ पुगेर ओत लागे । हेर्दाहेर्दै घरको गाह्रो भत्कियो ।

रातको समय, मुसलधारे वर्षामा हारगुहार गर्दा पनि कसैले सुन्ने अवस्था थिएन । केही समयपछि एक–दुई जना छिमेकी आएर सुरक्षित स्थानमा राखे । त्यसै दिन उनकै दाइ भागीरथ उपाध्यायको घरमा पनि बाढी पसेर हिलाम्मे भइसकेको थियो । आँगनमा पहिरो खसेपछि उनीहरू पनि हारगुहार गर्दै बाहिर निस्केका थिए ।

उपाध्यायका सन्तान बाजेको पालादेखि त्यही पाखोमा बसेका छन् । ‘गाईबस्तु हिँडाउने डहर थियो, अहिले त्यसैलाई डोजर लगाएर मोटर बाटो बनाए, त्यसैको बाढीले घरबास उठायो,’ उपाध्यायले भने, ‘अझै कति पहिरो खस्ने हो, भन्न सकिन्न ।’ उनले सार्वजनिक जमिन मिचेर बसेकाहरू सुरक्षित भएको तर आफ्नो घरछेउमा कमजोर पर्खाल र सडक बनाइएकाले पहिरोको चपेटामा परेको गुनासो गरे । उनीहरू चार दिनदेखि नजिकैको शिव मन्दिरको सत्तलमा आश्रय लिइरहेका छन् ।

गण्डकी प्रदेश सरकारको ४२ करोड लगानीमा तिरुपति चोकदेखि मालिका हुँदै पञ्चकोटतर्फ जाने क्षेत्रीय सडक निर्माण भइरहेको छ । त्यसैअन्तर्गत उपाध्यायको घरमाथि ढलान गरेर सडक बनाइँदा होचो भाग अग्ल्याइएकाले पहिरोको जोखिम बढेको हो । झन्डै दुई किमीमाथिसम्म ग्रेड नमिलाई सडक खनिएको छ । त्यही सडकबाट बस्ती पसेको बाढीले खेतीपाती पनि बगाएको छ । दर्जनौं पहिरो खसेकाले सडक हिलाम्मे छ ।

शुक्रबार सशस्त्र प्रहरीको टोली पुगेर भत्किएको घरबाट सामानहरू निकालिदिएको छ । तर बस्ने स्थान छैन । तत्काल घर बनाउने सुरक्षित जमिन पनि उनीहरूसँग छैन । ‘सबै खरबारी र पाखो मात्रै छ, कता बनाउने अन्योल भएको छ,’ उपाध्यायले भने, ‘घर खर्च चलाउन नसकेका बेला यो दुःख आइलाग्यो ।’ उपाध्यायका एक छोरा अपांगता भएका छन् । अर्का छोरा र छोरी पढ्दै छन् । खुला सत्तलको बसाइ कष्टकर बनिरहेको छ ।

सोही रात कृष्णलाल सापकोटा, हर्कबहादुर क्षेत्री, भीम सापकोटा, गुमा रेग्मी, प्रजापति सापकोटा, जुनाकुमारी निउरे र देवेन्द्र उपाध्यायको घरमा समेत क्षति पुगेको छ । मातृका आचार्यको कुखुरा फर्ममा पहिरो खसेर १ हजार कुखुरा मरेका छन् । बाढी–पहिरोको चपेटामा परेका गाउँका अरूले पनि घरमा लगेर राख्न सक्ने अवस्था नभएकाले विस्थापितहरूलाई सत्तलमा राखिएको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?