कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन वर्षपछि टुंगियो सिरानचोकको केन्द्र

हरिराम उप्रेती

गोरखा — स्थानीय तहको चुनाव भएको झन्डै ३ वर्षपछि सिरानचोक गाउँपालिकाको स्थायी केन्द्र चित्रेपोखरी कायम भएको छ । लामो रस्साकस्सीपछि बुधबारको गाउँसभाको बहुमतले चित्रेपाखेरीको पक्षमा मतदान गरेपछि केन्द्र विवाद टुंगिएको हो । गाउँपालिकाको केन्द्र वडा–५ को चित्रेपोखरी कायम भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । 

तीन वर्षपछि टुंगियो सिरानचोकको केन्द्र

गाउँसभाका ४२ मध्ये ३७ जनाले चित्रेपोखरीको पक्षमा मतदान गरेका थिए । वडा–४ का ५ जनाले भने चुनावी प्रक्रियामा भाग लिएनन् । यसअघि सिरानचोक गाउँपालिकाको अस्थायी केन्द्र वडा ५ को छोप्राकमा थियो । नेकपाबाट निर्वाचित वडा सदस्यहरु विमला गुरुङ र गंगा सुनारले चित्रेपोखरी केन्द्र निर्धारण गरियोस् भनेर प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा गाउँपालिका उपाध्यक्ष रिता देवकोटा, संसदीय दलका नेता जयकृष्ण ढकाल, वडा–३ का अध्यक्ष विरबहादुर थापा, २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा ६ का अध्यक्ष नारायण दानीले समर्थन जनाए । गाउँपालिकामा कांग्रेसका २९, नेकपाका १२ र जनता समाजवादीका २ गाउँसभा सदस्य छन् । कांग्रेसको बहुमत भएपनि आपसी समझदारी नहुँदा केन्द्र निर्धारणको प्रस्ताव अस्विकृत हुँदै आएको थियो । असार २४ को कार्यपालिका बैठकमा बहुमतले पास गरि असार ३१ को गाउँसभा बैठकले केन्द्रको अनुमोदन गराइएको हो । ‘स्थानीय तहको निर्वाचन लगतै पहिलो पटक गोप्य मतदान भएको थियो । बहुमत पुगेन । दोस्रो पटक कार्यापालिकामा छलफल भएपनि गाउँसभामा प्रस्ताव पेस नै हुन सकेन,’ अध्यक्ष गुरुङले भने, ‘तेस्रो पटकको प्रयासमा केन्द्र चित्रेपोखरी भयो ।’

स्थानीय तहको चुनावपछिको ६ महिनासम्म साधारण बहुमतले केन्द्र टुंग्याउन सकिने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान छ । ६ महिनापछि भने दुई तिहाइ बहुमतबाट केन्द्र छनोट गर्नुपर्ने हुन्छ । अब गाउँसभाको निर्णय गण्डकी प्रदेशको मन्त्रीरिषदमा पेस गर्ने तयारी भएको उनले बताए । प्रदेशको मन्त्रीपरिषदको बैठकको निर्णय गराएर संघीय सरकारमा पठाउनुपर्ने प्रावधान छ । ‘संघीय मन्त्रीपरिषद्को क्याविनेट बैठकले निर्णय गरेपछि राजपत्रमा प्रकाशित हुन्छ, अनि बल्ल कानुनी मान्यता पाउँछ,’ उनले भने । कानुनी वैधताको प्रक्रिया अघि बढिसकेको उनले बताए ।

गाउँपालिका केन्द्रको टुंगो लगाएसँगै कार्यालय सार्ने प्रक्रिया सुरु गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘चित्रेपोखरीका स्थानीयले गाउँपालिकाको लागि ५० रोपनी जग्गा दिने प्रतिवद्घता जनाउनुभएको छ,’ उनले भने, ‘जग्गा नामसारी लगायतको प्रक्रिया सुरु गरिहाल्छौँ ।’

प्रकाशित : श्रावण २, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?