कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले मध्यनेपालका १ सय बढी घर विस्थापित

आश गुरुङ

लमजुङ — बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकामा मात्रै १ सय बढी घरपरिवारलाई विस्थापित बनाएको छ ।आइतबार रातिदेखिको निरन्तरत वर्षाले घरबार डुबाउनुका साथै भत्काउन थालेपछि १ सय ९ घरपरिवार विस्थापित भएका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बाढीपहिरोले केहीको घर डुबाएको छ भने केहीको घर पुरेको छ ।

बाढीपहिरोले मध्यनेपालका १ सय बढी घर विस्थापित

केहीको घर बगाएको छ । कसैका घर उच्च जोखिममा पारेको छ । आफ्नो घरमा बस्ने अवस्था नभएपछि विस्थापितहरु आफन्त, छिमेकी र विद्यालयमा बसेका मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए ।

मध्यनेपाल नगरपालिका ६ का अध्यक्ष विष्णुभक्त पौडेलका अनुसार सवैभन्दा बढी वडा नं. ६ मा क्षति पुर्‍याएको छ । वडा नं. ६ को रानीपानीका मात्रै ३१ घरमा क्षति पुर्‍याएको र उनीहरु विस्थापित भएको पौडेलले बताए । लामासोतीका २७ घर, भदौरेका ११ घर, गुम्बाबेंसीका ९ घरपरिवार विस्थापित भएका उनले बताए । ‘रानीपानीका विस्थापितलाई हामीले ईशानेश्वर क्याम्पसमा राखेका छौं । अरु कोही आफन्त र कोही छिमेकमा छन् । खानपानको व्यवस्थापन हामी आफैंले गरेका छौं,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मध्यनेपाल–६ मा सबैभन्दा धेरै क्षति भएको छ । मध्यनेपाल–९ रातामाटाका २१ घर, वडा नं. ३ सूर्यपालका ५ घर, वडा नं. २ पराजुलीटारका ३ घर, वडा नं. १ खवासगाउा र वडा नं. ४ चर्दीका १/१ घर विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बाढीपहिरो पीडित स्थानीयलाई तत्कालका लागि मध्यनेपाल नगरपालिकाले खानेबस्ने व्यवस्था मिलाएको छ । उद्धार कार्यमा स्थानीय र प्रहरी खटिएको उनले बताए । ‘पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा हुने र बाढी आउने क्रम पनि रोकिएको छैन’ उनले भने ।

उक्त स्थानको पहिरोको निरीक्षण तथा अवलोकन गर्न जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी सोमबार तनहुँको बाटो भएर जाँदै गर्दा बाटोमा पहिरो खसेकाले उनीहरु फिर्ता भएका छन् । उनीहरु मंगलबार पनि जाने तयारीमा छन् ।

प्रकाशित : असार ३०, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?