कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले लमजुङका चार दर्जन परिवार विस्थापित

आश गुरुङ

लमजुङ — केही दिनयताको वर्षाले बाढीपहिरो चल्दा ४ दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । एक सयभन्दा बढी घर उच्च जोखिममा छन् ।

पहिरोले लमजुङका चार दर्जन परिवार विस्थापित

बाढीपहिरोले दोर्दी गाउँपालिका–८ दुवारगाउँमा मात्रै २३ घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् । गएका वर्षमा समेत पहिरोले उच्च जोखिममा पारेको उक्त गाउँमा अहिलेको वर्षाले जमिन भासिएपछि घर भत्किनुका साथै घरआँगनबाटै पहिरो चलेपछि विस्थापित भएको दोर्दी गाउँ कार्यपालिका सदस्य लालमाया मिजारले बताइन् ।

वडाअध्यक्ष तुलबहादुर गुरुङका अनुसार वर्षाका कारण घरमा बाढी पस्ने र घर नजिकै पहिरो खस्न थालेपछि ४० घर उच्च जोखिममा परेको छ । जोखिममा परेकामध्ये २३ घरपरिवार छिमेकी गाउँ र नजिकैको आफन्तकोमा विस्थापित भएका छन् । ‘४/५ घर भत्किसकेको छ । अरु घर जोखिममा छन् । धेरैको घरभित्र भलपानी र बाढी पसेको छ,’ उनले भने । उनका अनुसार कसैको घर ढलेको छ । कसैको घर चर्किएको छ । करिब २० रोपनी जग्गा चिराचिरा परेको स्थानीयले बताएका छन् ।

क्व्होलासोंथर गाउँपालिका–७ भोंजेको १० घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । वडा सचिव तक्मा विकका अनुसार पहिरोले घरआँगन भत्काउन लागेपछि उनीहरु विस्थापित भएर आफन्तकोमा र सामुदायिक घरमा बस्न थालेका छन् । ‘भोंजेको समस्या बर्सेनि बढ्दै गएको छ । यस वर्ष झन् समस्यामा छ,’ उनले भने ।

डीएसपी गंगाबहादुर थापाका अनुसार बाढी पहिरोका कारण जोखिममा परेपछि गाउँले विस्थापित हुन थालेका छन् । सबैको विवरण आइनसकेको र विवरण संकलनको क्रममा रहेको उनले बताए । उनका अनुसार दोर्दी गाउँपालिका–६ ढोडेनीमा ४, वडा नम्बर ८ को खिञ्चोकमा ४, वडा नम्बर ८ को मगरगाउँमा ३, क्व्होलासोंथर गाउँपालिका–३ बगुममा १ घर विस्थापित भएका छन् । ‘कतिपय ठाउँमा सञ्चार सम्पर्क हुन सकेको छैन । कतिपय ठाउँको रिपोर्ट हामीमा आइरहेको छैन । हामी सम्पर्क गर्ने प्रयासमा छौं,’ उनले भने ।

स्थानीयका अनुसार बेंसीसहर नगरपालिका–१० राउतथोकको सम्शेरबहादुर राउतको घरमा पहिरो खसेपछि उनी विस्थापित छन् । मर्स्याङदी गाउँपालिका–२ घनपोखराकी मिनिता गुरुङ घर तलबाट पहिरो आउन थालेपछि विस्थापित छन् । मर्स्याङदी–९ सिम्पानीको सोमबहादुर घलेको घर माथिबाट ढुंगासहितको पहिरो आएपछि विस्थापित छन् ।

बाढी पहिरोमा परेर बेंसीसहर नगरपालिका–७ सहजीमा हरिबहादुर तामाङको बंगुर फार्ममा रहेका ४० वटा बंगुरलाई बाढीले बगाएको छ । ६० वटा बंगुर रहेकोमा २० वटा मात्र बाँकी छ । बेंसीसहर नगरपालिका–१० राउतथोकको सम्शेरबहादुर राउतको २ वटा बाख्रा मरेको छ । क्व्होलासोंथर गाउँपालिका–४ भुजुङ कमागाउामा बाढीले एउटा भैंसी बगाएको छ । बिहीबार राति बेंसीसहर नगरपालिका–७ सातबिसेमा पहिरो जाँदा एकै परिवारका ३ जनालाई पुरेको थियो । बेंसीसहर नगरपालिका–१०, खाँचे घर भइ हाल बेंसीसहर नगरपालिका–७ सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका ३३ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २७ वर्षीय भीममाया तामाङ र १० वर्षीय छोरा छेवाङ तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित : असार २८, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?