कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोको त्रासले २४ सै घन्टा हेरालु

घनश्याम खड्का

म्याग्दी — म्याग्दीस्थित किमचौरको भीर फाटेर खस्‍न सुरु गरेपछि यहाँका ३६ परिवारमा त्रासमा छन् । यो भीर म्याग्दीखोलास्थित दक्षिण डाँडामा रहेको अर्मन बस्तीको सिरानमा पर्छ । पहिरो खस्‍ने त्रासमा रहेका स्थानीय चौबिसै घण्टा पालो मिलाएर हेरालु बस्‍न थालेका छन् । 

पहिरोको त्रासले २४ सै घन्टा हेरालु

पहिरो खस्‍ने लक्षण देखिन थाले हेरालुले माथिबाट सिटी फुक्ने, ड्रम बजाउने गर्छन् । ‘स–साना ढुंगा दिनहुँ खस्छन् । मुख्य जोखिम मानिएको ठूलो ढुंगो कहिले खस्ने हो, त्यही डर छ,’ स्थानीय रत्नबहादुर विकले भने, ‘दैनिक ३–३ जनाको पालो लगाएर पहिरो नजिकै सुरक्षित स्थानमा हेरालु बस्ने गरेका छौं । गोठमा भैंसीले किलोमा सिङ बजाउँदा पनि पहिरो खस्यो कि भन्ने त्रास हुन्छ ।’

अर्मन बस्ती मंगला गाउँपालिका–५ मा पर्छ । अर्मन र किमचौरवासीले गाउँपालिकाको ८ लाख बजेटमा धारा–अर्मन–किमचौर सडक खन्‍न सुरु गरेका थिए । सडकको ट्र्याक अर्मन गाउँदेखि माथि किमचौर बस्तीमुनि पुगेपछि भीरमा पुगेर टुंगियो । भीर फोड्न खोज्दा ठूला ढुंगा निक्लिए । डोजर र ब्रेकरको कम्पनले पहरा नै खस्‍न थालेपछि तलको अर्मन बस्ती जोखिममा पर्‍यो । ‘दुवै बस्तीको सहमतिमै सडक खनिएको हो,’ प्राविधिक नगेन्द्र सापकोटाले भने, ‘अहिले भीर चर्किएकाले झर्ने हो कि भन्ने त्रास छ ।’

ढुंगा खस्‍न थालेपछि सम्भावित खतराबाट जोगाउन गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले गाउँलेलाई सुरक्षित स्थानमा अस्थायी रूपमा सार्ने तयारी गरेको छ । ‘तत्काल बस्ती नसार्ने हो भने ठूलो जोखिम छ । सुरक्षित स्थानको पहिचान भइसकेको छ । केन्द्र र प्रदेश सरकारबाट पालसमेतका सामग्री प्राप्त हुनासाथ बस्ती सार्छौं,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘भौगर्भिक अध्ययनबिना हचुवाको भरमा गरिने सडक विस्तारले निम्त्याएको मानवीय संकटको एउटा नमुना यो पनि हो ।’

अर्मनमा २०५८ साउन १३ मा यहीँ पाखोबाट झरेको पहिरोले १६ जनाको ज्यान लिएको थियो ।

प्रकाशित : असार २४, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?