कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसद्वारा संकल्प प्रस्ताव पेस

एक घर एक पीसीआर टेस्टको व्यवस्था, शव व्यवस्थापनका लागि स्थान छनोट गर्न माग
प्रतीक्षा काफ्ले

गण्डकी — प्रमुख प्रतिपक्ष कांग्रेसले कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी मंगलबार गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव पेस गरेको छ । 

कांग्रेसद्वारा संकल्प प्रस्ताव पेस

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेस संसदीय दलका तर्फबाट कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले संकल्प प्रस्ताव पेस गरेका हुन् । प्रदेशसभा नियमावली नियम ८५ को १ अनुसार प्रस्ताव पेस गरिएको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ को कारण आर्थिक गतिविधि र नागरिकको दैनिकी कष्टकर बन्दै गएको, उद्योग, व्यवसाय, कलकारखाना ठप्प भएको र भयावह स्थितिबाट गण्डकी प्रदेश गुज्रिरहेको लगायतका विषय प्रस्तावमा उल्लेख छ । विषम परिस्थितिमा कोरोनासँग जुध्न, महामारीबाट प्रदेशका जनतालाई सुरक्षित गर्न, संक्रमित भएकाको लागि उपलब्ध उपचार प्रदान गर्न र व्यवस्थित हेरचाह गर्नतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

पीसीआर परीक्षण, क्वारेन्टाइन र आइसोलेसनको आवश्यक व्यवस्थापनका साथै कोरोनाका कारण मृत्यु हुनेको शव व्यवस्थापन चुनौतीका रुपमा देखिएकाले यसमा ध्यान दिन जरुरी रहेको उपनेता श्रेष्ठले बताए । ‘एक घर एक पीसीआर टेस्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया थाल्न, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्डअनुसार क्वारेन्टाइनको व्यवस्था मिलाउन, कोरोनाका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गण्डकीका ११ वटै जिल्लामा तत्काल स्थान तोक्न माग राख्दै संकल्प प्रस्ताव पेस गरेका हौं,’ श्रेष्ठले भने ।

कोभिड–१९ का कारण गण्डकीमा तीन महिनामा १ हजार १ सय १३ संक्रमित भएका छन् । ४ जनाको मृत्यु भएको छ । १६ हजार ७ सय ६१ परीक्षण गरिएकोमा १६ हजार ५ सय ७० जनाको नतिजा आएको छ । अधिकांश संक्रमित विदेशबाट आउनेहरु मात्र छन् ।

प्रकाशित : असार २४, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?