कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रणनीतिक सडकमा लगानी शून्य

प्रकाश बराल

बागलुङ — गलकोट नगरपालिकाको डाँडाखेतदेखि वडा नम्बर ४ को कार्यालय हुँदै बरेङ र गुल्मीको शान्तिपुर जान रणनीतिक सडकको ट्रयाक खुलेको ५ वर्ष पुग्यो । ट्रयाक खुलेपछि यो सडकमा कसले लगानी गर्ने भन्ने अन्योल कायमै छ । वडा नं. ४ को कार्यालय सम्म पुग्न नगरपालिकाले ६० लाख लगानी गर्‍यो । एक किलोमिटर सडक कालोपत्रसमेत बनेको छ । त्यसपछि अन्य खण्डमा दुई वर्षदेखि लगानी शून्य छ ।

रणनीतिक सडकमा लगानी शून्य

नगरपालिकाले गौरवको आयोजना भन्दै पहिलो वर्ष लगानी गरेपछि रणनीतिक सडक भएकोले लगानी थपेन । संघीय र प्रदेश सरकारबाट बजेट नआएपछि १ किमी खण्ड कालोपत्र भएपनि अहिले अलपत्र छ । नगरपालिकाले गौरवको आयोजना रद्द गरायो । वडाले पनि उक्त सडकलाई प्राथमिकतामा राखेको छैन ।

डाँडाखेतदेखि खरुवा मावि, चमुवा हुँदै नुवाकोटतर्फ जाने यो सडक नगरपालिकाकै चक्रपथमा पनि सूचीकृत छ । गत वर्ष चक्रपथकै ट्रयाकमा बस चलाउने निधोसमेत भयो । केही दिन चलेर यो सडकमा बस चल्न सकेनन् । चक्रपथ निर्माणमा पनि उल्लेख्य बजेट विनियोजन भएन । अहिले यो सडकको अधिकांश खण्ड जीर्ण भइरहेको वडा अध्यक्ष बलबहादुर खत्रीले बताए ।

तत्कालीन जिल्ला विकास समिति र सांसद विकास कोषको झन्डै ३ करोड लगानीपछि २० किमी ट्रयाक खोलिएको यो सडक गुल्मी जोड्न सबैभन्दा छोटो छ । दुई पालिका र दुई प्रदेश जोड्ने सडकलाई संघीय सरकारले लगानी गर्ने नीति बनेकोले नगरपालिकाले लगानी नगरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘दोहोरो लगानी भयो भने आर्थिक अनियमितता हुन्छ भनेर लगानी गरेनौं,’ गैरेले भने, ‘यो सडकको सुधार गर्न न संघले हेर्‍यो, न प्रदेशले लगानी गर्‍यो ।’ नगरपालिकाले बढीमा ४५ लाख देखि ५० लाख रुपैयाँ मात्र लगानी गर्न सक्ने उनले बताए ।

उक्त सानो बजेटले कालोपत्र गर्ने, चौडा सडक बनाउने काम सम्भव नहुने भन्दै परिषदमा चर्चा उठेपछि रकम विनियोजन रोकेको उपप्रमुख रेणुका काउचाले बताइन् । ‘रणनीतिक सडकमा स्थानीयले लगानी गरेर पार लगाउन सकिँदैन, प्राथमिकतामा राखेर प्रदेश र संघमा पठाएको सम्बोधन भएको छैन,’ काउचाले भनिन्, ‘वडा कार्यालयसमेत भएकोले धेरै मानिसले यात्रा गर्नुपर्छ, सास्ती पनि भएको छ ।’ गतवर्ष निर्माण थालिएको वडा कार्यालय निर्माण सम्पन्न गर्न नगरपालिकाले १६ लाख विनियोजन गरेको उनले बताइन् । वडा कार्यालयसमेत संरक्षण गर्नेगरी चमुवा खोलामा कल्भर्ट निर्माण गर्न पनि २० लाख विनियोजन गरेको छ । उक्त कल्भर्टले रणनीतिक सडकका लागि पुलको कामसमेत गर्नेछ ।

वडा गौरवको योजना भन्दै दुई वर्षअघि नै वडा नं. १ र ९ मा स्वास्थ्य चौकी निर्माण गर्न विनियोजन भएको १ करोड रुपैयाँ खर्च हुन सकेन । वडाले जग्गा उपलब्ध गराउन नसकेपछि उक्त रकम फ्रिज भएको थियो । वडा नं. २ ले मात्र गौरवको योजना अन्तर्गत सभाहल निर्माण गरेर सातौं नगर परिषद र बजेट सार्वजनिकीकरण समेत सम्पन्न गरेको छ । अरु वडाले काम गर्न नसकेपछि गौरवका योजनामा लगानी नगरिएको गैरेले बताए । ‘अब वडा वडामा हैन, नगरका एकदुईवटा मात्रै गौरवका योजना बनाएर पूरा गर्ने लक्ष्य बनाइयो,’ उनले भने,‘वडा कार्यालयसम्म पुग्ने सडकमा मात्र नगरले लगानी गर्छ, अन्य पालिकामा जोड्ने सडक विभाग र संघीय सरकारकै ध्यान जानुपर्छ ।’ गलकोटले आफ्नै प्रशासनिक भवन निर्माणलाई गौरवको योजनामा समेटेको छ । २ करोड ५० लाख रुपैयाँ खर्चेर आगामी वर्ष नगरले भवन बनाउने भएको हो । त्यसबाहेक सहरी विकास कार्यक्रमका लागि पनि २ करोड ८५ लाख बजेट छुट्टयाएको छ । नगरपालिकाले वडा नं. १० को रमुवा सडक स्तरोन्नतीका लागि ५० लाख, हटिया बजार ढलान गर्न ७० लाख विनियोजन गरेको छ ।

प्रकाशित : असार २३, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?