कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झरी लागेपछि डोजर चलाइँदा घरबस्ती जोखिममा

प्रकाश बराल

बागलुङ — साताअघि काठेखोला गाउँपालिकामा पहिरोले घर पुर्दा एक महिलाको ज्यान गयो । बिहीबार पनि सदरमुकाम बागलुङ बजारदेखि सिगाना, बरेङ हुँदै शान्तिपुर जोड्ने सडकमा दर्जन ठाउँ पहिरो खसेको छ ।

झरी लागेपछि डोजर चलाइँदा घरबस्ती जोखिममा

बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा दुई घर जोखिममा परेपछि परिवार छिमेकीकहाँ आश्रय लिन बाध्य छन् ।

पर्वतमा रहेको पूर्वाधार विकास कार्यक्रमको १ करोड ५० लाख र सडक विभागको १ करोडमा सडक स्तरोन्नति गर्ने भन्दै बर्खा लागेपछि काम थाल्दा पहिरोको जोखिम झन् बढेको छ ।

काठेखोलादेखि पहिलो खण्डमा विभाग र दोस्रो खण्डमा पूर्वाधारले काम थालेका हुन् । जिप र ट्याक्टरमार्फत नियमित खाद्यान्न ढुवानी हुँदै आएको सडक पहिरोले अवरुद्ध भएपछि स्थानीयले सास्ती खेपेको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जीसीले बताए । ‘काम त पहिले नै थालेका थिए, लामो समय गरेनन्, वर्षाले छोपेपछि डोजर लगाउँदा यो गति भयो,’ उनले भने

मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा पनि झरीमै माटो र ग्राभेल बिछ्याउने काम भइरहेको छ । पहिरोले नाली थुनिएपछि सडकबाटै भेल आउँदा घरटहरामा क्षति पुग्न थालेको काठेखोला–५ का वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । इनारपानीनजिकै झन्डै ५ सय मिटर सडक चर्केपछि सवारीसाधन जोखिम मोलेर आउजाउ गरिरहेका छन् । लोकमार्ग भत्केर खानेपानी पाइप बगाउँदा सदरमुकाममा पानी आपूर्ति रोकिएको छ ।

बर्खा लागेपछि काम थाल्ने प्रवृत्तिले भएका संरचना पनि बिग्रने र दुर्घटना बढ्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । ‘पैसा निकासा गर्ने निहुँमा वर्षातमा मात्रै काम गर्ने चलन नहटेसम्म दुर्घटना पनि रोकिन्न,’ उनले भने, ‘अनुगमनका क्रममा सांसद विकास कोषको रकमले गरिएका र प्रदेश सरकारको पूर्वाधार कार्यालयको काममा बढी जोखिम देखियो ।’

कालीगण्डकी करिडोरको बेवास्ताले बानपा–१३ को पैयुँपाटास्थित कालाखोलानजिकै ५ वटा घर बग्ने अवस्थामा पुगेका छन् । ३ घरमा पहिरो खस्ने जोखिम छ । गत वर्षदेखि ५ घरले पाल टाँगेर पहिरो जाने स्थानको पानी तर्काएका छन् । जाली, पर्खाललगायत संरचनामा लगानी नगरिँदा यस्तो जोखिम निम्तेको हो । नगरपालिका र गाउँपालिकाले विनियोजन गरेका अधिकांश योजनामा पनि असार लागेपछि मात्रै काम गर्ने प्रवृत्ति बढेको छ । ‘स्थानीय पालिकाले आफ्नो बजेट समयमै खर्चन सक्नुपर्ने हो तर उनीहरू पनि कमिसन खान असारमै खर्चन थालेका छन्,’ अधिवक्ता राम शर्माले भने, ‘अधिकांश जनप्रतिनिधि कमिसन खाने धुनमा लाग्दा काम ढिला र कमजोर भएको हो ।’ नागरिक तहबाट गरिएको अनुगमन र सुझाव नटेर्नेलाई कारबाही हुने नीति आवश्यक रहेको उनले बताए ।

बजारभित्रै सास्ती

असारे विकासले सदरमुकाम बागलुङ बजारमै पनि सास्ती थपिएको छ । असार १ गते लकडाउन खुकुलो भए पनि मुख्य बजार प्रवेश गर्न स्थानीयले बासिन्दा घुमाउरो बाटो हिँड्न बाध्य छन् ।

हल्लन चोक, जिपपार्क र ट्राफिक चोकमा स्तरोन्नतिका नाममा काम अलपत्र छाडिएको छ । बाटो थुनिँदा सामान झार्न नसकिएको पसल सञ्चालकहरूको गुनासो छ । नगरपालिकाको चोक सुधार, नाली निर्माण र ढल व्यवस्थापनको बजेट असार लागेपछि मात्र खर्चन लागिएको हो ।

झरी परेपछि भत्काएर छाडिएका सडकमा सवारी गुड्न पाएका छैनन् । बोकेर सामान ल्याउँदा हेटौंडाबाट ल्याएको भाडाभन्दा बजार भित्र्याउन बढी खर्च लागेको बागलुङ नगरपालिका–२ का सुमन भुसालले बताए ।

प्रकाशित : असार १५, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?