कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण देखिएपछि बन्दीपुर एक हप्ता बन्द

सम्झना रसाइली

तनहुँ — स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बन्दीपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण रुपमा बन्द गरिने भएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण देखिएपछि बन्दीपुर एक हप्ता बन्द

सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाको आपत्कालीन बैठक बसेर सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए ।

गाउँपालिकाका अनुसार सोमबार २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेन्टाइनमा रहेका ८ जना गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको भन्दै असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दीपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष थापाले बताए । उनले भने, ‘बन्दीपुर गाउँपालिकाको सबै सेवा, गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छौं ।’ गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, सबै गाउँपालिका बासिलाई उच्च मनोबलका साथ भौतिक दूरी कायम गरी आफू र समुदायलाई सुरक्षित रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै तनहुँको व्यास नगरपालिकामा ८, शुक्लागण्डकी नगरपालिकामा ५, भानु नगरपालिकामा ४, रिसिङ गाउँपालिकामा ३२, घिरिङ गाउँपालिकामा २४, भिमाद नगरपालिकामा ३, आबुखैरेनी गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकामा ११ गरी ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तनहुँमा कोरोना संक्रमणमुक्त भएर ९ जना घर फर्किएका छन् ।

प्रकाशित : असार ९, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?