कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा प्रहरी हिरासतमा रहेका युवालाई कोरोना संक्रमण

हरिराम उप्रेती

गोरखा — प्रहरी हिरासतमा रहेका गोरखाका १७ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको छ । आइतबार कोरोना संक्रमण देखिएकामध्ये आठ जना भारतबाट आएका, एक जना काभ्रेबाट आएका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा प्रहरी हिरासतमा रहेका युवालाई कोरोना संक्रमण

प्रहरी हिरासतमा रहेका युवा जबर्जस्ती करणीको आरोपमा १० दिनअघि प्रहरीले पक्राउ गरेको थियो । ती युवाको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । ‘आरडीटीमा रिपोर्ट नेगेटिभ आएका युवाको पीसीआर पोजिटिभ आएको छ,’ उनले भने ।

आरडीटी प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि ती युवा प्रहरीकै हिरासतमा थिए । आइतबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि ती युवालाई गोरखा अस्पतालको आइसोलेसनमा पठाउने तयारी भइरहेको गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । ‘अहिले हिरासतमै छन्, आइसोलेसनमा पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘ती युवासँग जो–जो प्रहरी सम्पर्कमा आए, उनीहरुको खोजी गरिरहेका छौँ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको स्वाब परीक्षणको क्रममा गोरखामा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी गाउँपालिकाको भिमोदय आधारभूत विद्यालय र रत्नेश्वर मावि दर्वुङको क्वारेन्टाइनमा रहेका ४/४ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गण्डकी गाउँपालिकाकै ज्ञानमार्ग माविको क्वारेन्टाइनमा रहेको एक पुरुष भने काभ्रेबाट आएको स्वास्थ्य कार्यालय गोरखाका कोराना फोकल पर्सन नारायणबावु अर्यालले बताए । ‘गोरखाभित्र नै कोरोना पुष्टि भएको पहिलो पटक हो,’ उनले भने,‘आठ जना त भारतबाट आएक हुन्, पालुङटार घर भई हिरासतमा रहेका युवा र काभ्रेबाट आएर क्वारेन्टाइनमा बसेकालाई कसरी संक्रमित भए, बुझ्दै छौँ ।’ संक्रमित सबैलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?