कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङ प्रवेशमा अनिश्‍चितकालीन रोक

एम्बुलेन्सबाहेक सवारी साधन तथा मानिस हिँड्न नदिइने
आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङ प्रवेशमा अनिश्चितकालीन रोक लगाएको छ । शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म पैदल हिँडेर आउनसमेत रोक लगाएको हो ।

मनाङ प्रवेशमा अनिश्‍चितकालीन रोक

कोरोना भाइरसको संक्रमण फैलने भन्दै लमजुङसँग सीमा जोडिएको नासों गाउँपालिकाले एम्बुलेन्सबाहेक सबै सवारी साधन तथा पैदल भएर मनाङ आउन रोक लगाएको हो । गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार मनाङ प्रवेशद्वार तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मी बसेर कडाई गरिएको छ । एम्बुलेन्सलाई समेत जाँचमा कडाई गरेर जिल्ला भित्रन र बाहिर जान दिने निर्णय गाउँपालिकाले गरेको उनले बताए ।

एकमात्र सहज नाका लमजुङको उत्तरी भेग हुँदै मनाङतर्फ यसअघि अत्यावश्यक खाद्यान्न, ग्यास, विकास निर्माणसम्बन्धी सामग्री, औषधि तथा एम्बुलेन्सलगायत सवारी आवातजावात भइरहकोमा देशभरी संक्रमितको संख्या बढ्दै गएपछि नाकामा आवतजावत रोक लगाएको अध्यक्ष घलेले बताए । मनाङमा संक्रमण फैलिन नदिन नाकामा जाँच कडाइ पारिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । मुख्य नाकामा कडाइ गरेपछि जिल्लामा संक्रमण नभित्रने उनले दाबी गरे ।

मनाङमा जेठ १७ गतेदेखि तरकारी, फलफूल, मासु र पेयपदार्थ ल्याउन कडाई गरिएको थियो । निर्माण तथा खाद्यान्नका ढुवानीका सवारी साधन आउने गरेकोमा शुक्रबारदेखि सबैमा रोक लगाएको गाउँपालिकाले जनाएको छ । वडा १ का अध्यक्ष झलकबहादुर गुरुङले अत्यावश्यक सामग्री ल्याउने निहुँमा जो कसैको पनि प्रवेश हुन सक्ने भन्दै कसैलाई पनि प्रवेश गर्न नदिई ढुक्कसँग बस्ने वातावरण नागरिकलाई बनाउने प्रयास गरिएको बताए । खाद्यान्नलगायत अत्यावश्यक बस्तु ल्याउनु परेमा कारण खुलाएरमात्रै ल्याउने वातावरण मिलाइने गाउँपालिकाले निर्णय गरेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?