पर्वत र स्याङ्जामा ५/५ जनामा कोरोना संक्रमण

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी स्याङ्जामा पनि ५ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्वतको फलेबास नगरपालिका ठेगना भइ सदरमुकाम कुश्मास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई पुरुष र पर्वतकै महाशीला गाउँपालिका घर भइ कुश्माकै क्वारेन्टाइनमा राखिएका १९, २० र २१ वर्षका ३ पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।

यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । साथै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि क्वारेन्टाइनमा थिए । संक्रमित दशै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओली र इजरायलका समकक्षी नेतन्याहुबीच टेलिफोन संवाद 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सोमबार टेलिफोनमार्फत संवाद गर्दै शुभकामना आदान–प्रदान गरेका छन् । 

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुई प्रधानमन्त्रीहरुले अहिलेसम्मको द्विपक्षीय सम्बन्धलाई लिएर सन्तुष्टि व्यक्त गर्दै त्यसले दुई मुलुक बीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताएका हुन् ।

उनीहरुले कुराकानीका दौरान दुई पक्षीय सहकार्यलाई थप बलियो बनाउन उचित समयमा उच्चस्तरीय भ्रमण गर्ने कुरा गरेका हुन् । दुई प्रधानमन्त्रीले इजरायलले प्राविधिक क्षेत्रमा गरेको उच्च विकासको विषयमा कुरा गरेका थिए । प्रधानमन्त्री ओलीले सोही अवसरमा इजरायली प्रधानमन्त्री नेतनयाहुलाई नेपालको कृषि र स्वास्थ्य क्षेत्रलाई स्थानान्तरण गर्न इजरायलका प्रविधिलाई प्राथमिकताका आवश्यकता रहेको बारे जोड दिएका थिए ।






प्रकाशित : जेष्ठ १९, २०७७ २२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×