कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँझो जग्गामा खेती गरे प्रतिरोपनी ५ हजार अनुदान

आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा तरकारी तथा फलफूल खेती गरेमा प्रतिरोपनी ५ हजार रुपैयाँसम्म अनुदान दिने भएको छ ।

बाँझो जग्गामा खेती गरे प्रतिरोपनी ५ हजार अनुदान

नगरपालिकाले ४० वर्षमुनिका युवालाई लक्षित गरी यो कार्यक्रम अघि सारेको जनाएको छ । बेरोजगार युवालाई मध्यनजर राखेर नगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदानको कार्यक्रम ल्याएको नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । उनका अनुसार जो कसैले पनि बाँझो जमिनमा खेती गरेमा प्रतिरोपनी ४ हजार रुपैयाँ र अरुको जग्गा भाडामा लिएर बाँझो जमिनमा खेती गरेमा ५ हजार अनुदान दिने निर्णय गरिएको छ ।

कोराना महामारीसँगै आउँदा दिनमा आउन सक्ने खाद्यान्न संकट टार्न र दीर्घकालीन रुपमा पनि युवालाई कृषिकर्ममा टिकाउन कार्यक्रम लागू गर्न लागेको उपमेयर राजकुमार श्रेष्ठले बताए । ‘एकातिर बाँझो जमिनमा खेती हुनेछ । अर्को कुरा युवा स्वदेशमै स्वरोजगार बन्नेछन् । व्यावसायिक बन्नेछन् । फलफूल, तरकारी तथा खाद्यान्नमा नगरपालिका आत्मनिर्भर बन्नेछ ।’

बाँझो जमिनमा खाद्यबाली, तरकारी तथा फलफूल साथै मसालेदारलगायत खेती गर्न सकिने नगरपालिकाले जनाएको छ । खेती गर्नका लागि वडा कार्यालयमामार्फत निवेदन संकलन गर्ने र संकलित निवेदनलाई ‘युवा एवं महिला, कृषि तथा पशुपालन लक्षित कार्यक्रम कार्यान्वयन कार्याविधि २०७५’ अनुसार गठित समितिले सिफारिस गरेपछि अनुदान दिइने मेयर पाण्डेले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वीकृत ‘नगरप्रमुख कृषि आधुनिकरण अनुदान कार्यक्रम’ शीर्षकमा छुट्याएको ५० लाख रुपैयाँ अहिलेको अवस्थामा खरिद प्रक्रिया पूरा गरी खरिद तथा वितरण गर्ने सम्भावना नभएकाले उक्त बजेटलाई बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने प्रक्रिया अघि बढाएको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काका अनुसार बाँझो जमिनमा खेती गर्न इच्छुकको वडा कार्यालयमार्फत निवेदन संकलन भइरहेको र निवेदन नगरपालिकामा प्राप्त भएपछि तत्कालै कार्यान्वयन प्रक्रियामा अघि बढाइने बताए । ‘अहिले धेरै युवा बेरोजगार छन् । काम पाएनौं भनिरहेको अवस्था छ । बरु बाँझो जमिनमा खेती गरेमा हामीले अनुदान दिने भनेका छौं,’ उनले भने, ‘कृषि कर्ममा युवा लागेमा हामी अन्य अनुदानका कार्यक्रम पनि सहयोग गर्छौं ।’

प्रकाशित : जेष्ठ १०, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?