गण्डकीका मुख्यमन्त्री र मन्त्रीको स्वाब संकलन
स्याङ्जा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै मन्त्रीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार संकलन गरिएका स्वाबको पीसीआर नतिजा बुधबार आउनेछ ।
मन्त्रीका सचिवालय सदस्य र सातवटै मन्त्रालयका सचिव, प्रमुख सचिव तथा कर्मचारी, चालक र सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जेठ ११ देखि प्रदेशसभाको वर्षे अधिवेशन सुरु हुने भएकाले त्यसमा सहभागी हुने सबैको कोरोना परीक्षण थालिएको मुख्यमन्त्री गुरुङले बताए ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मंगलबार १ सय ४६ जनाको स्वाब संकलन गरिएको छ । प्रदेशसभामा उपस्थित हुने सबैको स्वाब परीक्षण गरिने कार्यालयले जनाएको छ । बुधवार सभामुख, उपसभामुख र सांसदको स्वाब परीक्षण गरिनेछ ।
संसद्को समाचार संकलन गर्ने सञ्चारकर्मीको पनि स्वाब परीक्षण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिए । ‘अधिवेशनमा उपस्थित हुनुपर्ने सबैलाई कोभिड–१९ भए/नभएको निर्क्योल गर्नुपर्ने भएकाले आजबाट परीक्षण सुरु गरेका हौं,’ उनले भने । सामाजिक दूरी राख्नुपर्ने कारणले यो अधिवेशनलाई पोखरा सभागृहमा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य छन् ।
प्रकाशित : जेष्ठ ६, २०७७ १२:३१