कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा ढुवानी सवारी पासमा रोक, क्‍वारेन्टाइन सेनाको रेखदेखमा

आश गुरुङ

लमजुङ — जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नाकाबाट लुकिछिपी सवारी साधन र मानिस भित्रन नदिन सुरक्षा सतर्कता बढाइएको छ ।

लमजुङमा ढुवानी सवारी पासमा रोक, क्‍वारेन्टाइन सेनाको रेखदेखमा

लमजुङको मुख्य सीमा तनहुँसँग जोडिएको पाउँदी, गोरखा र कास्कीबाट लमजुङ भित्रने नाकामा थप प्रहरी परिचालन गरिएको छ । बाह्य जिल्लामा कोरोना संक्रमण बढेपछि लमजुङमा ढुवानीमा रोक लगाएको छ । यसअघि जेठ ५ गतेसम्मका लागि दिइएको पासबाहेकका गाडीलाई बिहीबारदेखि निर्माण सामग्री ढुवानीमा रोक लगाएको छ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (संकट व्यवस्थापन केन्द्र) को बुधबार बसेको बैठकले बाह्य जिल्लाबाट निर्माण सामाग्री आयातमा रोक लगाउने निर्णय गरेको हो ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङसँगको तनहुँ, गोरखा र कास्की सीमामा थप प्रहरी परिचालन गरिएको छ । ‘व्याकअप’मा सशस्त्र प्रहरी राखिएको छ । जो कसैलाई पनि आवातजावतमा रोक लगाइएको उनले बताए । उनका अनुसार लुकिछिपी आउनेलाई सुन्दरबजार नगरपालिका ७ कृषि क्याम्पसमा निर्माण गरिएको जिल्लास्तरीय क्‍वारेन्टाइनमा राखिने छ ।

जिल्लास्तरीय क्‍वारेन्टाइन रेखदेखका लागि बिहीबारदेखि नेपाली सेनाको उदिपुरस्थित श्रीजंग गणबाट सैनिक टोली खेटिएको छ । उक्त क्‍वारेन्टाइन निर्माण तथा व्यवस्थापनको लागि लमजुङका ८ वटा स्थानीय तहले १/१ लाख रुपैयाँ सहयोग गर्ने विपद व्यवस्थापन समितिले निर्णय गरिसकेको छ । क्‍वारेन्टाइन सञ्‍चालन सम्बन्धमा स्थानीय तहसँग जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले समन्वय गर्नेछ ।

कोभिड १९को परीक्षणका लागि आवश्यक आरडीटी किट न्यून मौज्दात रहेकाले किट उपलब्ध गराइदिन गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको प्रजिअ खड्काले बताए ।

प्रकाशित : जेष्ठ १, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?