कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घलेगाउँमा चियाको स्याहार

नयाँ बेर्ना सार्न खाडल खन्ने, पुराना बोटको चिया टिप्ने र गोडमेल गर्ने दैनिकीमा गाउँका सबै जुटेका छन् ।
आश गुरुङ

घलेगाउँ, लमजुङ — यमुना घले पेसाले शिक्षक हुन् । दिनदिनै बालबालिकालाई खेलाउँदै/पढाउँदै आएकी उनको दैनिकी अहिले चियाबारीमा बितिरहको छ । नयाँ बेर्ना सार्न खाडल खन्ने । पुराना बोटको चिया टिप्ने । चियाको बोट गोडमेल गर्ने उनको दैनिकी बनेको छ । 

घलेगाउँमा चियाको स्याहार

दैनिक पर्यटकको स्वागतसत्कार र बिदाइमा जुट्दै आएकी दिलमाया गुरुङको दिनचर्या पनि अहिले चियाबारीमा बित्दै छ । बिहान उठेपछि परिवारका लागि खाना बनाउने र चियाबारीमा आएपछि उनी साँझमात्रै घर फर्किन्छिन् ।

गाउँमै बसेर विभिन्न पेसा व्यवसायमा रहेकाहरु अहिले चियाबारीको स्याहार र गोडमेलमा व्यस्त छन् । ‘यो समय विद्यार्थी भर्ना गरेर पठनपाठन गर्ने समय हो । कोरोना संक्रमणबाट जोगिन सरकारले लकडाउन गर्‍यो,' यमुनाले भनिन्, 'अहिले पढाइ नभएकाले हामी चियाको गोडमेल र नयाँ बेर्ना सार्ने तयारीमा छौं ।’

घलेगाउँ सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेका अनुसार स्मार्ट भिलेजउन्मुख घलेगाउँका बासिन्दा अहिले चियाको गोडमेल र खेती विस्तारमा लागेका छन् । ‘एक-अर्काको फरक करिब ३ फिट राखेर काम गरिरहेका छौं । हुन त हाम्रो गाउँमा त्यस्तो समस्या केही छैन । बाहिरका कसैलाई आउन दिएका पनि छैनौं,’ उनले भने ।

क्व्होलासोंथर गाउँपालिका-३ मा पर्ने घलेगाउँमा अहिले युवायुवती, वृद्धवृद्धा सबै चिया बगानको सरसफाइ र गोडमेलमा जुटेका छन् ।

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार गाउँमा १ सय २० घरधुरी छन् । ५ टोल छन् । प्रत्येक घरबाट १/१ जना खटिएर अहिले चियाखेती विस्तार र गोडमेलमा लागेका छन् । ‘बगान वरपर खाली जग्गाको झाडी फाँडेर नयाँ लगाउने तयारी गरेका छौं । टिप्ने उमेरका बोटलाई कुटो, कोदालो, हसियाँको माध्ययमबाट सरसफाइ र गोडमेल गरेका छौं,’ उनले भने ।

पोखराको कालिका मावि कक्षा १२ मा अध्ययनरत सुदीप गुरुङका अनुसार यसअघि सहर झरेका समेत गाउँमा आएर काम गर्न थालेका छन् । ‘हामी लकडाउन हुने भन्ने खबर आएपछि तुरुन्तै गाउँ आयौं । गाउँलेलाई सघाउँदै छौं,’ उनले भने ।

घलेगाउँका स्थानीयले करिब ३ सय रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । यसवर्ष १६ रोपनी जग्गामा खेती विस्तार गर्न लागिएको छ । स्थानीयले नयाँ ८ हजार बिरुवा रोप्ने तयारी गरेका छन् । यसका लागि चियाको बेर्ना गाउँमै तयार पारिएको छ । चिया खेतीमा स्थानीयको बढ्दो चासोले गाउँमै चियाको बेर्ना उत्पादन गरिएको चिया नर्सरी सञ्चालक मुक्तसिंह गुरुङले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा स्थानीयले २०५४ देखि सामूहिक चिया खेती गरेका थिए । सुरुमा आमा समूहको अगुवाइमा गरिएको चिया खेतीका लागि अहिले सबैजना जुटेका पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए । अहिलेसम्म हातले माडेर चिया बनाइएकोमा अब मेसिन ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

घलेगाउँमा तक्दा–७८, तक्दा ३८३ र गुम्ती जातका चिया लगाइएको छ । समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ चियाबगान बन्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : वैशाख २८, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?