कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेवातालका जलाहारी भन्छन्– 'राहत होइन, काम गर्न देऊ'

'अरुले दिएको राहतले कति दिन टर्छ र ? हामीलाई गुजारा चल्ने गरी काम गर्ने वातावरण भए पुग्छ ।'
प्रतीक्षा काफ्ले

गण्डकी — पोखरा महानगरपालिका–१८ खपौंदीकी सुनिता जलाहारी ४ वर्षदेखि फेवातालमा माछा मार्ने काम गर्छिन् । २२ वर्षीया सुनिताको यो पुर्ख्यौली पेसा हो । परिवारमा उनका सानो छोरा र श्रीमान् छन् । 

फेवातालका जलाहारी भन्छन्– 'राहत होइन, काम गर्न देऊ'

लकडाउन भएपछि माछा मार्ने काम रोकियो । श्रीमान्‌सँगै उनी खाली हात बस्नुपर्‍यो । हिजोआज भने एक दिन बिराएर माछा मार्ने गरेको उनले बताइन् । 'बेलुका तालमा जाल थापेर छाडिन्छ,' उनले भनिन्, 'माछा परे पनि अहिले बेच्ने ठाउँ छैन ।'

खपौंदीमा जलाहारीका ९० परिवार छन् । यहाँको सिंगो बस्तीमा वडा कार्यालयले आधा बोराका दरले चामल वितरण गरेको थियो । स्थानीयका अनुसार त्यसपछि कुनै राहत मिलेको छैन । 'अरुले दिएको राहतले कति नै टर्छ र ? हामीलाई गुजारा चल्ने गरी काम गर्ने वातावरण भए पुग्छ,' सुनिताले भनिन्, 'माछा बिक्री गर्ने व्यवस्था मिलाइदिनुपर्‍यो । बजारसम्म जान आउन पुग्ने पास भए पनि ठूलो राहत मिल्थ्यो ।’ जाल थापेर ल्याएका माछा फ्रिजमा राख्ने गरेको र बिक्री नभए आफैले खाएर सक्नुपर्ने उनले बताइन् ।

लकडाउन हुनुपूर्व दैनिक १/२ हजार आम्दानी हुने गरे पनि अहिले कसरी बिक्री गर्ने भन्ने नै चिन्ता छ । उनका अनुसार प्रतिकिलो माछामा १० रुपैयाँ कर तिर्नुपर्छ । 'कर तिरेपछि बजारको व्यवस्थापन पनि सरकारले नै मिलाउनुपर्‍यो नि,' उनले भनिन् ।

खपौंदीकै ४१ वर्षीय सोम जलाहारीको जीविका पनि माछा मारेरै चल्ने गरेको छ । तर लकडाउनले गर्दा ९ जनाको परिवारको गुजारा चलाउन समस्या भएको उनले बताए । सुरुमा माछा मार्न रोक लगाइए पनि स्थानीयको सल्लाहअनुसार हाल दिन बिराएर माछा मार्ने गरिएको उनको भनाइ छ । 'एउटा डुंगामा दुई जना हुन्छौं । राति जाल थापेर छाड्छौं । बिहान ५ बजे पुग्छौं,' उनले भने । माछा मार्नकै लागि तालमा एकसाथ ५०/६० वटा डुंगा देखिन्छन् ।

एउटा जालमा ५ देखि १० किलोसम्म माछा पर्छन् । कहिले त पर्दैनन् पनि । माछा मार्नेबाहेक अन्य व्यवसाय नहुँदा आफूहरु मर्कामा परेको उनको भनाइ छ ।

तालमा नियमित माछा मार्न नपाएपछि घरमै बसेकी ८० वर्षीया सोमती जलाहारी ।

८० वर्षीया सोमती जलाहारीसँग भने तालमा माछा मारेको लामो अनुभव छ । अहिले जस्तो समस्या उनले यसअघि भोग्नुपरेको थिएन । संकटको बेला माछाको मूल्य पनि २ सयमा घटेको बताइन् । 'आफैं हिँडेर बजार पुगेर बिक्री गर्न पाए प्रतिकिलो ३ सय आउँथ्यो,' उनले भनिन्, 'अरुलाई बिक्री गर्न दिए प्रतिकिलो २ सय हात पर्छ ।'

२० वर्षिया एलिना जलाहारी भने नियमित माछा मार्न नपाउँदा धेरै समस्या आइलागेको बताउँछिन् । ‘केही बचत रकम थियो, हजुरआमा बिरामी पर्नुभयो,' उनले भनिन्, 'एक महिनासम्म उपचार गर्दा खर्च पनि सकियो ।'

जलाहारी समुदायका ९० परिवारले हर्पणफेवा मत्स्य व्यवसायिक सहकारी सञ्चालनमा ल्याएका छन् । सहकारीले केही मात्रामा माछाको व्यवस्थापन गर्ने गरेको छ ।

प्रकाशित : वैशाख २२, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?