कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेटको तयारीमा गण्डकी सरकार

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/८८ को नीति तथा कार्यक्रमसँगै बजेट निर्माणको गृहकार्य थालेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रामेश्वर दंगालले आन्तरिक रूपमा प्रदेशका सातै मन्त्रालयमा बजेटका लागि गृहकार्य भइरहेको बताए ।

बजेटको तयारीमा गण्डकी सरकार

‘हामीले आधिकारिक पत्र पठाएका छैनौं तर आन्तरिक रूपमा प्रशासनिक खर्च कति लाग्छ, गृहकार्य गर्दै गर्नुस् भनेर इन्फर्मल रूपमा सबै मन्त्रालयलाई भनेका छौं,’ उनले भने, ‘माथिबाट पनि बजेट तयारीका लागि सिलिङ आएको छ ।’

दंगालले आगामी वर्षका लागि करिब १५ अर्बको बजेट सिलिङ आइसकेको जनाए । उनका अनुसार गत वर्षको तुलनामा आगामी वर्षको बजेट बढाउने योजना भए पनि लकडाउनका कारण कति आउँछ भन्न सकिने अवस्था छैन ।

चालू वर्षमा गण्डकी प्रदेश सरकारले २ अर्ब ऋणसहित ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट ल्याएको थियो । जसमा पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार र चालूतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार थियो । कुल बजेटमध्ये ३० प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

यस वर्ष कम बजेटको सिलिङ आएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । आगामी वर्षको बजेटमा विकास निर्माणका योजनासँगै कृषि र स्वास्थ्यलाई बढी प्राथमिकता दिइने भन्दै उनले असार १ गतेभित्रै ल्याउने गृहकार्य थालिएको जानकारी दिए ।

बजेट बढ्ने सम्भावना बजेट खर्चमा भर पर्नेछ । यसपालि ३५/४० अर्बको हाराहारी हुन सक्ने प्रवक्ता बस्नेतले बताए । उनका अनुसार समपूरक, वित्तीय, सशक्त शीर्षकमा बजेट पछि आउने हुँदा भोल्युम बढ्न सक्छ । ‘तर, आफ्नै बजेट कति बढाउने भन्ने हो,’ उनले थपे, ‘वैशाख २५ पछि बजेट निर्माणलाई तीव्रता दिइनेछ ।’

महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रको अवस्था नियाल्न पाइएको जनाउँदै उनले स्वास्थ्य क्षेत्रको विकासमा बजेट अनिवार्य रहेको बताए । ११ वटै जिल्लामा आइसीयू वार्ड र अस्पताल बनाउने गरी योजना अघि सार्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २१, २०७७ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?