कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा ४८० जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सम्झना रसाइली

दमौली — भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको तनहुँमा र्‍यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट बिहीबारसम्म ४ सय ८० जनाको परीक्षण गरिएको छ ।

तनहुँमा ४८० जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको समन्वयमा जिल्लाका १० वटै स्थानीय तहका वडावडामा पुगेर गरिएको परीक्षण्मा सबैको नतिजा नेगेटिभ आएको छ ।

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिमा आइतबारदेखि सुरु गरिएको र्‍यापिड परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् ।

प्रत्येक पालिकाको वडास्तरमै गएर भारत लगायतका देशबाट जिल्ला फर्किएका व्यक्तिहरुको किटबाट परीक्षण गरिएको अधिकारीले बताए । उनले भने, ‘विदेशबाट जिल्ला फर्किएर होम तथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर १४ दिन नाघेका र २१ दिन नकटेका व्यक्तिहरुको रगतको नमूना लिएर परीक्षण गरिएको हो । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

प्रदेश सरकारमार्फत जिल्लामा ६ सय ४० वटा किट उपलब्ध भएको बताउँदै कार्यालय प्रमुख अधिकारीले भने, ‘आवश्यकताअनुसार हरेक स्थानीय तहमा किट उपलब्ध गराएर वडावडामै पुगेर कोभिड–१९ परीक्षण गरेका हौं ।’

भानु नगरपालिकामा ४३, व्यास नगरपालिकामा ९१, म्याग्दे गाउँपालिकामा ३६, शुक्लागण्डकी नगरपालिकामा ७०, भिमाद नगरपालिमा ७३, घिरिङ गाउँपालिकामा ४०, ऋषिङ गाउँपालिकामा ६२, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १५ र आँबुखैरेनी गाउँपालिकामा १६ जनाको परीक्षण गरिएको हो ।

जिल्लामा चैत्र १ गतेयता ७ सय ५४ जना विदेशबाट फर्किएका छन् । यी मध्ये देवघाटले निर्माण गरेको क्यारेन्टाइनमा १ जनामात्र बसेका र अन्य होम क्वारेन्टाइनमै बस्दै आएका छन् । हालसम्म १२ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएता पनि जिल्लाबासी सचेत रहनुपर्ने र लकडाउनको पूर्ण रुपमा पालना गरी सबै होम क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए ।

प्रकाशित : वैशाख ४, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?