कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनभर मलामी १२ जना मात्र 

बाहिरबाट आएका छोरालाई छुट्टै राखेर कोरा
हरिराम उप्रेती

गोरखा — सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेकी ९७ वर्षीया श्रीमाया भट्टको सोमबार राति निधन भयो । मंगलबार सय जनाभन्दा बढी छिमेकी र आफन्त मलामी जाने तयारीमा जुट्दै थिए । लकडाउनका बेला यति ठूलो समूह भेला भएपछि टोलस्तरीय प्रतिकार्य समितिको बैठक बस्यो । बैठकले १२ जना मात्र मलामी जाने निर्णय लियो ।

लकडाउनभर मलामी १२ जना मात्र 

‘गाउँबाट दरौंदीको घाट पुग्न झन्डै दुई घण्टा लाग्छ,’ विनोद पाण्डेले भने, ‘बोक्न सक्ने बलिया नजिकका छिमेकी र आफन्त १२ जना मात्र सागर गयौँ ।’ मलामीलाई स्थानीय स्तरमै सेनिटाइजर र मास्कको व्यवस्था गरिएको थियो ।


पाण्डेका अनुसार आमाको काजक्रियाका लागि काठमाडौंबाट आएका माइला छोरालाई छुट्टै राखिएको छ । ‘चार भाइ छोरामध्ये तीन जना गाउँमै हुनुहुन्थ्यो, माइला छोरा हिजो काठमाडौंबाट आउनुभएको छ,’ उनले भने, ‘उहाँलाई तीन भाइभन्दा दुई मिटर टाढै राख्ने व्यवस्था मिलाएका छौँ ।’ माइला छोरालाई मास्क लगाउन दिइएको छ । अर्को गाउँबाट आउने आफन्त तथा छिमेकीलाई पनि सकेसम्म टेलिफोनबाट समवेदना दिन भनिएको छ ।


उक्त वडामा लकडाउन अवधिभर कसैको निधन भए १२ जना मात्र मलामी जान पाउने निर्णय भएको वडाध्यक्ष सुरज ढकालले बताए । यहाँ मात्र २४ वटा ‘कोरोना प्रतिकार्य समूह’ गठन भएका छन् ।


समूहले गाउँमा आउने पाहुनालाई समेत फर्काउने गरेको छ । गत आइतबार धावाबाट आएकी एक महिला एक रात पनि माइत बस्न पाइनन् । प्रतिकार्य समूहले कि क्वारेन्टाइन बस्नुपर्ने, नभए फर्कनुपर्ने जनाएपछि उनी आएकै दिन फर्किएकी हुन् । ‘तीन–चार जना पाहुनालाई कि क्वारेन्टाइन बस्नुस्, नत्र फर्कनुस् भनेछि अहिले अर्को टोलबाट गाउँमा सितिमिती मान्छे आउँदैनन्,’ उनले भने ।


लमजुङको बिचौरबाट मामाघर आएका एक युवकलाई पनि फिर्ता पठाइएको वडाअध्यक्ष ढकालले बताए । ‘गाउँबाट बाहिर को जाँदै छ, को भित्रियो निगरानी गर्छौं,’ उनले भने । टोल स्तरमै गठन भएको समूहले तास खेले/नखेलेको, सवारी चल्न रोक्नुका साथै सामूहिक रूपमा भेला भए/नभएको पनि निगरानी गर्छ । ‘यसरी समूह गठन गर्दा साह्रै प्रभावकारी भएको छ,’ उनले भने, ‘टोल स्तरमा केही समस्या देखिए समूहका सदस्य मिटिङ बसेर निर्णय लिन्छन् ।’


सिरानचोक गाउँपालिकाभरि १ सय ४८ प्रतिकार्य समूह गठन भएको गाउँपालिका अध्यक्ष राजु गुरुङ बताउँछन् । ‘२० देखि ३० घरसम्मको एक समूह छ, प्रत्येक समूहमा दुई महिला र दुई पुरुष सदस्य छन्,’ उनले भने, ‘उनीहरूले आफ्नो टोलमा लकडाउन पालना गराउनुका साथै नयाँ मान्छे को–को भित्रिए, निगरानी गर्छन् ।’ नयाँ मान्छेलाई गाउँपालिका भित्रने नाकामै समूहका सदस्यले सोधीखोजी गर्छन् ।


समूहले टोलमा कुनै समस्या देखिए वडाध्यक्षलाई सुनाउँछन् । वडाध्यक्षले गाउँपालिका अध्यक्षलाई भनेपछि समाधान छिटो–छरितो हुने गरेको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?