कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्कन मानेनन् १४ विदेशी पर्यटक  

सम्झना रसाइली

तनहुँ — तनहुॅको बन्दीपुर आएका पर्यटक कोरोना भाइरस संक्रमणको त्रासले आफ्नो मुलुक फर्कन मानेका छैनन् । विभिन्न देशबाट नेपाल भ्रमणका लागि आएका १४ जना पर्यटक अहिले बन्दीपुरमा आश्रय लिएर बसेका छन् । 

फर्कन मानेनन् १४ विदेशी पर्यटक  

नेपाल भ्रमणका साथै विभिन्न सीप सिक्नका आएका पर्यटक तथा विद्यार्थीहरु आफ्नो देशको तुलनामा नेपाल मै सुरक्षित रहेकोले फर्किन नमानेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए ।

‘बन्दीपुर क्षेत्रका होटलमा रहेका विदेशी पर्यटकको तथ्यांक संकलन गरी आफ्नै देश पठाउने व्यवस्था गरिएको थियो ’, उनले भने, ‘सबै व्यवस्था गाउँपालिकाले नै गरेपनि हाम्रो देश असुरक्षित छ । घर फर्किनु भनेको मृत्युलाई निम्त्याउनु जस्तै हो । हामी नेपालमै सुरक्षित छौं, हामी यही बस्छौं भने ।’


बन्दीपुरमा फ्रान्सका पाँच , रुसका दुई, बेलायतका तीन, चीन/मोरक्को/कोलम्बिया/क्यानाडाका एक/एक गरी १४ जना विदेशी छन् । अध्यक्ष थापाले भने, ‘केही पर्यटक विद्यार्थी हुन्, उनीहरु गुन्द्रुक बनाउन सिक्न आएका रहेछन् । केही भने घुम्न भनेर आएका रहेछन् ।’


यस्तै, स्वास्थ्यमा आइपर्ने असुरक्षाको कारण देखाउँदै उनीहरु घर फर्किन नमानेका बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष वैंश गुरुङले बताए । ‘उनीहरु दुई/तीन महिनादेखि नै नेपाल भित्रिएका रहेछन्’, उनले भने, ‘बाह्य पर्यटकलाई दुई/तीन वटा होटल छानेर गाउँपालिकाको निगरानीमा राखिएको छ ।’


हाइड्रोका मजदुरलाई राहत वितरण


दोस्रो तनहुँ हाइड्रो प्रोजेक्टको माटो परीक्षणका लागि आएका प्राविधिक तथा मजदुरहरुलाई बन्दीपुर गाउँपालिकामा राहत स्वरुप खाद्यन्न उपलब्ध गराएको छ । तनहुँ हाइड्रोपावर निर्माणस्थल भन्दा तल दोश्रो तनहुँ हाइड्रो प्रोजेक्ट निर्माणका लागि आवश्यक अध्ययनका लागि खटिएका प्राविधिक तथा मजदुर गरी १० जना लकडाउनका कारण रोकिएका छन् ।


बन्दीपुर–२ सारङ्घाटमा निर्माणमा माटो परीक्षणका लागि पुगेका १० जना मजदुरलाई बन्दीपुर गाउँपालिकाले राहत स्वरुप खाद्यन्न उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।


‘कोभिड–१९ संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण खाना नपाएका मजदुरहरुलाई शनिबार गाउँपालिकाले राहत वितरण गरेको र उनीहरु नेपाली नै हुन् तर अन्य जिल्लाबाट आएका रहेछन्’, अध्यक्ष थापाले भने, ‘शनिबार बिहानै फोन गरेर लकडाउनका कारण पसल बन्द छ, खानेकुरा सबै सकियो अब भोकै हुनेभयौ भनेपछि गाउँपालिकाले खाद्यन्न उपलब्ध गराएको हो ।’


यस्तै, गाउँपालिकाले दैनिक ज्यालामजदुरी गरी गुजरा चलाउने तथा विपन्न समुदायलाई समेत राहत स्वरुप खाद्यन्न वितरण गर्दै आएको छ । गाउँपालिकाको २ र ६ नम्बर वडामा ३० केजीको १९१ बोरा चामल लगायतका अन्य खाद्यन्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र २२, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?