कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट २ सय ८० भित्रिए, क्‍वारेन्टाइनमा ७७ मात्रै

सुन्दरबजार नगरपालिकामा विदेशबाट ६० जना आएका थिए, क्‍वारेन्टाइनमा कोही पनि बसेका छैनन्।
आश गुरुङ

लमजुङ — कोभिड-१९ को संक्रमण रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय लमजुङले चैत १ गतेदेखि लागू हुने गरी ठूलो भीडभाड, मेलामहोत्सव, जमघट र कोरोना सचेतनाबाहेक औपचारिक कार्यक्रममा रोक लगायो। भारतलगायत विदेशबाट आउनेमाथि निगरानी राख्यो। स्थानीय तहले आफ्नो गाउँठाउँमा विदेशबाट आएका र भारतबाट आएकाको खोजी थाल्यो र तथ्यांक प्रशासनमा बुझायो। 

विदेशबाट २ सय ८० भित्रिए, क्‍वारेन्टाइनमा ७७ मात्रै

चैत १ गतेदेखिको रेकर्डअनुसार लमजुङका ८ वटा स्थानीय तहमा २ सय ८० जना आएको प्रशासनको तथ्यांकमा उल्लेख छ। विदेशबाट आएका प्रायः सबै कोरोना संक्रमित मुलुकबाट आएका छन्।


सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीको संयोजकत्वमा गठित क्वीक रेस्पोन्स टीम (क्यूआरटी) ले प्रजिअ लक्ष्मणबहादुर खड्काको संयोजकत्वमा रहेको कमान्ड पोस्टको समितिमा रिपोर्ट बुझाउँछ। ५ वटा बैठकले केन्द्रीय तथा प्रदेश निकायमा बुझाएको रिपोर्टमा चैत १ गतेदेखि जिल्लामा विदेशबाट भित्रिएको संख्या २ सय ८० भए पनि मंगलबारसम्मको रेकर्डअनुसार क्‍वारेन्टाइनमा भने ७७ जनामात्रै छन्।


तथ्यांकअनुसार बेंसीसहरमा ४६ जना विदेशबाट आए पनि १७ जना क्‍वारेन्टाइनमा छन्। ६० जना विदेशबाट आएको देखिएको सुन्दरबजार नगरपालिकामा क्‍वारेन्टाइनमा कोही पनि बसेको रेकर्ड छैन। २५ जना विदेशबाट आएको रेकर्ड रहेको मध्यनेपालमा ७ जना क्‍वारेन्टाइनमा बसेका छन्। ४८ जना विदेशबाट आएको तथ्यांक रहेको मर्स्याङ्दी गाउँपालिकामा २० जना क्‍वारेन्टाइनमा छन्। २० जना विदेशबाट आए पनि दोर्दी गाउँपालिकामा ५ जना क्‍वारेन्टाइनमा छन्। विदेशबाट आएका १७ जनामध्ये क्व्होलासोंथर गाउँपालिकामा २९ जना क्‍वारेन्टाइनमा छन्। सहायक प्रजिअ शाहीका अनुसार विदेशबाट आएकाहरुका परिवार पनि उक्त क्‍वारेन्टाइनमा बसेका हुन्।


सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार स्थानीय तहले कम्तीमा २/३ लाख खर्च गरेर क्‍वारेन्टाइन बनाएका छन्। क्‍वारेन्टाइनमा ल्याएर राखिए पनि कतिपय भाग्ने गरेको उनले सुनाए। ‘क्‍वारेन्टाइनमा बस्न भनेका छौं। ल्याएर राख्यो, सैनिक क्षेत्रमा रहेकाहरु नै क्‍वारेन्टाइनबाट भाग्ने गरेका छन्। व्यवस्थापन गर्न सकिएको छैन,’ उनले भने। बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले क्‍वारेन्टाइन बस्न सम्बन्धित व्यक्ति र परिवारले नमानेको बताए। ‘हामी घरमै छौं, छुटिँदैनौं। यहीँ ठिक छ भन्छन्,’ उनले भने, ‘कसैको १४ दिन पुगिसक्यो। कसैको १२/१३ दिन भयो। कसरी क्‍वारेन्टाइन बसाउने?’


प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले तथ्यांकअनुसार जिल्लामा २ सय ८० विदेशबाट आएको देखिए पनि केही भारतीय आफ्नो देश फर्केर गएको बताए। ‘हामी तथ्यांकलाई अद्यावधिक गर्ने तयारीमा छौं। विदेशबाट आएका कति छन् भन्ने तथ्यांक अद्यावधिकपछि आउला। अहिलेसम्मको तथ्यांक २ सय ८० नै हो,’ उनले भने।


प्रकाशित : चैत्र १९, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?