कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनास्लुमा तय भएको श्याग्या महोत्सव स्थगित 

काठमाडौँ — गोरखाको मनास्लु क्षेत्रस्थित चुमनुब्री गाउँपालिका, छेकम्पारको ऐतिहासिक राजेन गुम्बामा वैशाख पहिलो साता हुने भनिएको श्याग्या शताब्दी महोत्सव स्थगित भएको छ । 

मनास्लुमा तय भएको श्याग्या महोत्सव स्थगित 

विश्वमै महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण अर्को सूचना प्रकाशित नभएसम्म महोत्सव स्थगित गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष निमा लामाले कान्तिपुरलाई बताए ।


अहिंसा क्षेत्र घोषणा भएको ९९ वर्ष पूरा भएर १ सय वर्ष सुरु हुने अवसरमा वैशाख ५ देखि ८ गतेसमम राजेन गुम्बा परिसरमा महोत्सव गर्न लागिएको थियो । चीनको स्वशासित तिब्बतसंग जोडिएको चुम उपत्यका चुम नुब्री गाउँपालिकाको ६ र ७ वडामा फैलिएको छ ।


अध्यक्ष लामाका अनुसार १९७७ सालमा उक्त क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गरिएको थियो । काटमार नहुने क्षेत्र भएकाले यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा परिचित गराउने उद्देश्यले महोत्सव गर्न खोजिएको थियो ।

२०६५ सालमा साविकको छेकम्पार गाविसको गाउँ परिषद्ले अहिंसा क्षेत्रको चार किल्ला घोषणा गरेको थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) भित्र पर्ने चुमक्षेत्रमा कहिल्यै पनि काटमार हुंदैन ।


जसका कारण वर्षौदेखि हिमाली पाखा पखेरामा पाइने वन्यजन्तु र जैविक विविधाको संरक्षणसमेत भएको छ । कुनै पनि पशु वा वन्यजन्तुको काटमार नहुने भएकाले उक्त क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई यस्तो कुरा नयां लाग्ने गरेको छ ।


सिकार खेल्न, भीर मौरी काट्न, डढेलो लगाउन, मासुजन्य प्रयोजनको व्यापारका लागि उक्त क्षेत्रमा प्रतिबन्ध लगाइएको छ।चुम उपत्यकामा बौद्ध गुरु मिलारेपाले समेत ध्यान गरेकाले अहिलेसम्म उक्त क्षेत्रमा बौद्ध धर्मकोका अनुयायीको चासो रहेको छ ।


करिब ३ हजार ७ सय जनसंख्या र ५ सय ६० घरधुरी रहेको चुम उपत्यकामा पुराना गुम्बा, आंखैअघि देखिने हिम श्रृंखला, परम्परागत संस्कृती मुख्य आकर्षण हुन् ।

प्रकाशित : चैत्र १८, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?