कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा झन्डै एक हजार क्‍वारेन्टाइन, १२ सय आइसोलेसन शय्या

प्रदेशभरिबाट ४० जनाभन्दा बढीको नमूना परीक्षण गरिएकोमा हालसम्म एकजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । 

(पोखरा) — कोरोना भाइरसको संभावित संक्रमण रोक्न गण्डकी प्रदेशका सबै जिल्लामा क्‍वारेन्टाइन बनाइएको छ । स्थानीय तहले स्वतस्फुर्त रुपमा क्‍वारेन्टाइन बनाइरहेका छन् । शंकास्पद बिरामीमात्र नभइ विदेशबाट आएकाको पनि खोजी गरिरहेका छन् । 

गण्डकीमा झन्डै एक हजार क्‍वारेन्टाइन, १२ सय आइसोलेसन शय्या

प्रदेशभरि ३ हजारभन्दा बढी शय्या क्षमता भए पनि करिब एक हजारको हाराहारीमा मात्र क्‍वारेन्टाइनमा बनाइएको जिल्लास्थित संवाददाताहरुले जनाएका छन् । विशेषगरी विदेशबाट आएकाको खोजी गरी क्‍वारेन्टाइनमा राख्ने काममा स्थानीय तह र प्रशासन लागिपरेका छन् । एक हजार दुई सय २० आइसोलेसन वार्ड पनि तयार भएका छन् । प्रदेशभरिबाट ४० जनाभन्दा बढीको नमूना परीक्षण गरिएकोमा हालसम्म एकजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रदेशभरि आठ सय थानजति व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) रहेका छन् । तर पिपीइको गुणस्तरको मापन भने भएको छैन ।


कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिकाले सबै स्वास्थ्य चौकीमा पीपीई पुर्‍याएका छन् । स्थानीय तहले आफूखुसी खरिद गरेका पीपीईको गुणस्तर नपुगेको बताइएको छ । जिल्ला जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले स्थानीय तहले खरिद गरेका पीपीई गुणस्तरीय नभएको बताए । आइतबार अनुगमनका क्रममा कास्कीका विभिन्न स्थानीय तहले खरिद गरेका पीपीईको गुणस्तर नपुगेको भेटिएको उनले जनाए । ‘स्थानीय तहले प्राय हेल्थपोस्टमा पीपीई राखेको देख्यौं,’ उनले भने, ‘ती रेनकोट जत्तिको पनि छैनन् । सामान्य ज्वरो नाप्ने बेला लगाउन काम लाग्छ । कोभिड–१९ का सम्भावित र संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपयुक्त हुँदैन ।’


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा २०० सेट पीपीई छन् । ठूला अस्पताल कास्कीमै रहेकाले आवश्यकताका आधारमा ती प्रयोग हुन्छन् । कास्कीमा ३३ जना क्‍वारेन्टाइनमा बसेका छन् । उनीहरु विदेशबाट फर्किएर आएका र उनीहरुका आफन्त हुन् । कास्कीबाट १७ जना शंकास्पदको नमूना लिइएकोमा सबै नेगेटिभ आएका छन् ।


गोरखामा विदेशबाट फर्किएका २०४ जनालाई होम क्‍वारेन्टाइनमा राखिएको छ । स्थानीय तहसंगको समनन्वयमा अन्यको पहिचान तथा खोजिको भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणवावु अर्यालले बताए । शंकास्पद एकजनाको मात्र स्वाब परीक्षण गरिएकोमा नेगेटिभ देखिएको छ । गोरखामा हालसम्म १६ थान पीपीई छन् ।


बागलुङमा १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएपछि उनी आएकै जहाजमा सवार युवकको स्वाब आइतबार परीक्षणका लागि पठाइएको छ । अहिलेसम्म ११ जनाको स्वाब परीक्षणका लागि पठाइएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए । बागलुङमा ५० थान पीपीई छन् । जिल्लामा सोमबारसम्म ८८ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । होम क्‍वारेन्टाइनको तथ्यांक छैन । अस्पतालको आइसोलेसनमा संक्रमित एक युवती छिन् ।


पर्वतमा शंकास्पद तीन जनालाई सोमबार उपचारका लागि भर्ना गरिएको छ । पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले शंकास्पद बिरामीलाई पर्वत अस्पतालबाट रिफर गरेर कोरोना अस्पताल पठाइएको बताए । पर्वतमा ३ जनाको स्वाव परीक्षणका लागि पठाइएको छ । सदरमुकाम कुश्मामा सञ्चालित कोरोना अस्पतालमा २० आइसोलेसन शय्या रहेकोमा चार जनालाई राखिएको छ । जिल्लाभरि हालसम्म चार जनालाई क्‍वारेन्टाइनमा राखिएको सहायक प्रजिअ अमृत सुवेदीले बताए । पर्वतमा १३० थान पीपीई छन् ।


पूर्वी नवलपरासीमा कोरोना उपचारमा खटिने चिकित्सकले लगाउनुपर्ने पीपीई ५५ थान छन् । चौधरी फाउन्डेसनले ३५ वटा र कावासोती नगर विकास समितिका पूर्वअध्यक्ष सुरज गुरुङले व्यक्तिगत तवरबाट २० वटा पीपीई दिएका हुन् ।


जिल्लाभर ६ सय ८५ शय्याको क्‍वारेन्टाइन तयार भएकोमा ६५ जना मात्रै बसेका जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माले बताए । आइसोलेसन शय्या २२ छन् । अहिलेसम्म कसैको पनि स्वाब परीक्षण गरिएको छैन ।


लमजुङमा नौ सय चार शय्याको क्‍वारेन्टाइन निर्माण गरिए पनि ६२ जनामात्रै बसेका छन् । केही होम क्‍वारेन्टाइन्मा बसेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार कोरोना प्रभावित खाडी मुलुकबाट आएकामध्ये तीन जनाको स्वाबको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ । स्वास्थ्य कार्यालय, लमजुङ जिल्ला सामुदायिक अस्पतालगायत स्वास्थ्य संस्था र स्थानीय तहमा गरी जिल्लामा सोमबारसम्म ४४ वटा पीपीए रहेको उनले बताए ।


मनाङमा पनि सातवटा आइसोलेसन शय्या बनाइएको छ । ४५ वटा क्‍वारेन्टाइन छन् । एक जना होम क्‍वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । मनाङमा १५ वटा पीपीई छन् ।


तनहुँमा हालै विदेशबाट फर्किएका पाँच सय १० जना होम क्वारेन्टइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । दुई जना मास क्‍वारेन्टाइनमा छन् । जिल्लामा एक सय १० पीपीई रहेका छन् भने हालसम्म कसैको पनि स्वाब परीक्षण गरिएको छैन ।


कोरोना संक्रमित युवतीहरूसँगै जहाजमा आएका स्याङ्जाका ६ जनामध्ये तीन जनाको स्वाव परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार जिल्लामा चार सय १७ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । तीमध्ये तीन सय ८७ जना होम क्‍वारेन्टाइन र ३० जना मास क्‍वारेन्टाइनमा छन् । जिल्लामा एक सय थान पीपीई रहेको उनले बताए ।


म्याग्दीमा ४२ र मुस्ताङमा ६ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । म्याग्दीमा विदेशबाट घर फर्केर होम क्‍वारेन्टाइनमा बसेका भनिएका ६८ जनालाई पनि क्‍वारेन्टाइनमा ल्याउन जनप्रतिनिधि र प्रहरी परिचालन गरिएको छ ।


फागुन दोस्रो साता कोरियाबाट फर्केर होम क्‍वारेन्टाइनमा बसेका एक पुरुषको स्वाब परीक्षण नेगेटिभ आएको थियो । बाँकी कसैको पनि स्वाबको नमुना परीक्षण गरिएको छैन । म्याग्दीमा ८४ थान पीपीई छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विदेशबाट फर्केकालाई क्‍वारेन्टाइनमा ल्याउन प्रयास थालिएको बताए ।


जाडो छल्न भारतका विभिन्न सहर पुगी घुम्ती व्यापारपछि घर फर्केका उपल्लो मुस्ताङका ६ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । मुस्ताङमा ७० शय्या क्षमताको क्‍वारेन्टाइन बनाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

(दीपक परियार/पोखरा, हरिराम उप्रेती/गोरखा, प्रकाश बराल/बागलुङ, अगन्धर तिवारी/पर्वत, नारायण शर्मा/पूर्वी नवलपरासी, आश गुरुङ/लमजुङ, सम्झना रसाइली/तनहुँ, प्रतीक्षा काफ्ले/स्याङ्जा र घनश्याम खड्का/म्याग्दीको रिपोर्ट)

प्रकाशित : चैत्र १७, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?