कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच सय बेडको क्‍वारेन्टाइन

नारायण शर्मा

(नवलपरासी) — देवचुली नगरपालिकामा पाँच सय बेड क्षमताको क्‍वारेन्टाइन बनाएर प्रयोगमा ल्याइएको छ । रजहरको प्राकृतिक चिकित्सालयमा चार सय बेड र नगरपालिकाभित्र १७ वटा विद्यालयमा थप एक सय बेड तयार गरिएको हो । शनिबारसम्म कोरोना भाइरस (कोभीड–१९) को संक्रमण भएको आशंकामा २२ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ ।

पाँच सय बेडको क्‍वारेन्टाइन

‘हालसम्म १६ जना पुरुष बिरामीलाई क्‍वारेन्टाइनमा राखिएको छ र ति सबै विदेशबाट फर्किएका हुन्,’ प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले भने, ‘दुई सय ५० वटा कोठामा ४ सय बेड तयार गरिसकिएको छ । थप ६ सय बेड थप्न मिल्ने ठाउँ समेत चिकित्सालयमा छ ।’ अन्य ६ जनालाई भने घरपायक पर्ने नजिका विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको छ ।


सम्भावित संक्रमित वा बिरामीको चापको अनुपातमा बेड थप्दै जाने योजना रहेको उनले सुनाए । ११ बिघा क्षेत्रफलमा स्थानीयको प्रयासबाट निमाण गरेर सञ्चालनमा ल्याइएको चिकित्सालय जंगल भित्र र एकान्तमा अवस्थित छ । प्राकृतिक चिकित्सा पद्धतिबाट मात्रै उपचार हुने भएकोले चिकित्सालयमा ल्याब र जनशक्तिको अभाव रहेको पौडेलले बताए । उनले थपे, ‘चिकित्सक र स्वास्थ्यकर्मीका लागि चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) समेत छैन ।’


उनका अनुसार क्‍वारेन्टाइनमा राखिएका कसैलाई संक्रमण देखिएमा भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । ‘यसका लागि चिकित्सालयमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,’ उनले भने ।


देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालका अनुसार नगरपालिकाका सबै वडाका होस्टल रहेका विद्यालयमा क्‍वारेन्टाइन कक्ष तयार गरिएको हो । क्‍वारेन्टाइनमा बस्नेहरुलाई नि:शुल्क खानेबस्ने व्यवस्था मिलाइएको छ ।


शनिबार बिहानसम्म विदेशबाट आउनेको नगरवासीको संख्या एक सय ४२ जना रहेको उनले जानकारी दिए । ‘ती सबैजना भारत र खाडी मुलुकबाट आएकाहरु हुन्,’ उनले भने, ‘हरेक दिन नगरपालिका प्रवेश गर्नेहरुको तथ्यांक राख्ने गरिएको छ । उनीहरुलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा बस्न आग्रह गर्दै आइएको छ ।’ केही व्यक्ति भने सल्लाहमै घरघरमै क्‍वारेन्टाइनमा बसिरहेका उनले बताए । ‘घरमा प्रयाप्त कोठा नहुनेहरुलाई भने नगरपालिकाले तयार गरेको क्‍वारेन्टाइन जान अनिवार्य गरिएको छ,’ उनले भने ।


एक करोड बजेट

नगरपालिकाले कोरोना भाइरस संक्रमणको नियन्त्रण र सतकर्ताका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । विपद् व्यवस्थापन कोषका लागि छट्याइएको उक्त बजेटलाई नगरपालिकाले कोरोना संक्रमणको जोखिम न्यूनीकरण र नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको उनको भनाइ छ ।


प्रकाशित : चैत्र १५, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?