कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'हेलो डाक्टर’ हटलाइन सुरु

अत्यावश्यक बाहेकका सेवा बन्द
भारतीयलाई विशेष निगरानी
थर्मल गनको अभाव
प्रदेश ब्युरो

पोखरा — प्रदेश सरकारले आइतबारदेखि ‘हेलो डाक्टर’ हटलाइन सेवा सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेको बेला रुघा, खोकी र ज्वरो आएका बिरामीलाई परामर्श दिन प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो । यसका लागि ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सकिन सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

'हेलो डाक्टर’ हटलाइन सुरु

मन्त्रालयका स्वास्थ्य तथ्यांक सुपरिवेक्षक बुद्धिसागर अधिकारीका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत यो सेवा दिइनेछ । यसको लागि १३/१४ जना स्वास्थ्यकर्मीको टिम रहने बताइएको छ । अधिकारीका अनुसार विशेषगरी जनताको प्रश्नको जवाफ डा. राजिव लालचनले दिनेछन् ।

पोखरा महानगरपालिकाले सरसफाइ, दमकल र स्वास्थ्य बाहेकका अन्य सेवा उपलब्ध नगराउने भएको छ । कार्यालयले आइतबार सूचना प्रकाशन गरी चैत २१ सम्म अत्यावश्यक बाहेकका सेवा उपलब्ध नहुने जानकारी गराएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन आइतबार महानगर अन्तर्गत कार्यालय प्रमुखस्तरीय बैठकले उक्त निर्णय गरेको महानगर प्रमुख मानबहादुर जीसीले बताए ।

सूचनामा कोरोना भाइरसको संक्रमणबाट जोगिन कुनै पनि अफवाहको पछि नलागी आवश्यक सचेतना अपनाउन, अनावश्यक रुपमा भीडभाडमा नजान, खाद्यान्न, ग्यास, तेल तथा अन्य पेट्रोलियम पदार्थको कृत्रिम अभाव नगर्न/नगराउन महानगरले अनुरोधसमेत गरेको छ । महानगरपालिका कार्यालय, वडा कार्यालय तथा महानगर अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारी भने नियमित रुपमा कार्यालयमा उपस्थित हुने महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्रदेश राजधानी जोड्ने सिमाना कुभिन्डेमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपनाउन जिल्ला प्रवेश गर्ने नाकालाई बढी ध्यान दिइएको गापा अध्यक्ष घनश्याम सुवेदीले बताए । फेदीखोलामा विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न सिद्धार्थ बहुमुखी क्याम्पसमा २० बेडको तयारी गरिएको छ । विदेशबाट आएको भए जानकारी गराउन आग्रह गरिएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या थपिएमा अन्य विकल्प तयार गरिएको उनले बताए ।


२० हजार मास्क वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्याङ्जामा २० हजार मास्क वितरण गरेकी छन् । स्याङ्जा प्रशासनले अत्यावश्यक बाहेकका सेवा (खाद्य किराना, औषधि, पेट्रोल पम्प, तरकारी पसल) बाहेक सबै पसल बन्द गर्न अनुरोध गरेको छ । मालपोत कार्यालय वालिङले सेवाग्राहीलाई साबुनपानीले हात धोएर मात्र कार्यालय प्रवेश दिएको छ ।

गोरखास्थित गोरखकाली मन्दिरमा पूजा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासनको निर्देशनअनुसार रोक लगाइएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । ‘नियमित पूजा हुन्छ सर्वसाधारणलाई प्रवेशमा रोक लगाउँछौं,’ उनले भने । शुक्रबारबाट गोरखा दरबार पुनर्निर्माण पनि रोकिएको उनले बताए । गोरखकाली मन्दिरमा प्रत्येक वर्षको चैते दशैंमा हुने गोरखकाली मेला रोकिने भएको छ । यसअघि मनकामना मन्दिरमा हुने नियमितबाहेकका पूजामा रोक लगाइसकिएको छ ।

यसैगरी, जिल्ला प्रशासनले दैनिक सेवा बन्द गरेको छ । आइतबार सूचना जारी गर्दै नागरिकता, राहदानी, विभिन्न सिफारिस, संघ संस्था दर्ता/नवीकरण, हातहतियार दर्ता नवीकरण सेवा बन्द गरेको जनाएको हो । जिल्लाका अन्य सरकारी कार्यालयले पनि तत्कालका लागि सेवा रोकेका छन् । सुनचाँदी व्यवसायीले पनि सोमबारबाट पसल बन्द गर्ने भएका छन् ।

गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्यटक आवागमन रोकिएको छ । मार्च १५ देखि पर्यटकलाई प्रतिबन्ध लगाइएको मनास्लु संरक्षण क्षेत्र एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । मनास्लु हिमाल आरोहणको अनुमति पनि रोकिएको छ । चुमनुव्री गाउँपालिका र आयोजनाले जगतमा हेल्थ डेक्सको स्थापना गरेका छन । पर्यटक आवागमन घटेपछि होटल व्यवसाय सुनसान छन् ।

बागलुङ प्रवेशद्वार मालढुंगामा हेल्थ डेक्स राखेर बागलुङ नगरपालिकाले प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । जिल्ला प्रवेश गर्नेलाई सरसफाइबारे चेतना दिने, स्यानिटाइजर र मास्क लगाउन सल्लाह दिने तथा प्रारम्भिक लक्षण देखिएको भए उपचारमा लैजान पहल गर्ने जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताए ।

मालढुंगामा प्रहरीको टोलीसमेत बसेको छ । सवारीसाधनमा आएका मानिसलाई लाइनमा बसेर स्वास्थ्य परीक्षण गराउन उनीहरूले सहयोग गरेका छन् । आइतबारदेखि नै ताराखोला गाउँपालिकाले पनि स्वास्थ्य परीक्षण र सचेतना अभियान चलाएको हो । वडा–१ र ३ का २ स्वास्थ्यचौकीलाई आइसोलेसन वार्ड बनाएको अध्यक्ष प्रकाश घर्तीले बताए । धौलागिरि अञ्चल अस्पतालले दुई कोठालाई आइसोलेसन वार्ड बनासकेको छ ।

आइतबार रोट्रयाक्ट क्लबले जिल्लाका सबै सञ्चार गृहलाई स्यानिटाइजर वितरण गरेको छ । ‘सञ्चारकर्मी बाहिर निस्केर काम गरिरहने भएकोले उनीहरूको सुरक्षाका लागि स्यानिटाइजर वितरण गरिएको हो,’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले भने, ‘सामग्री खरिद र वितरणका लागि रोट्रयाक्टहरूले सहयोग गरेका हुन् ।’ विभिन्न सरकारी कार्यालयमा गेटमै हातधुने र स्यानिटाइजर लगाउने व्यवस्था थालिएको छ । बैंकहरूले पनि सेवाग्राहीलाई स्यानिटाइजर लगाएर मात्र पैसा समाउन लगाएका छन् । आइतबारै यहाँको स्वाभिमान बहुउद्देश्यीय सहकारी र क्षेत्री समाजले १ हजार ५ सय जनालाई निःशुल्क मास्क वितरण गरेका छन् ।

पर्वतका सबै सातवटै स्थानीय तहका नाकामा हेल्प डेस्क राख्ने सर्वपक्षीय बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । उनका अनुसार कुश्मा नगरपालिकाले प्रस्ताव गरेको गुप्तेश्वर क्याम्पसलाई अस्थायी अस्पताल बनाउन पूर्वाधार जुटाउन सुरु भइसकेको छ ।


तीन पालिकामा १२ दिन बिदा

पूर्वी नवलपरासीमा कावासोती, देवचुली नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाले १२ दिन बिदा दिएका छन् । स्वास्थ्य सेवा र फोहोरमैला संकलन बाहेकका पालिकाबाट दिइने सबै सेवा आइतबारदेखि २१ गतेसम्म स्थगित गरिएको भन्दै सूचना निकालेका छन् । पालिकाले निकालेका सूचनामा सेवा स्थगन भन्ने व्यहोरा रहेको र त्यो सर्वसाधारणले नबुझेपछि सञ्चारमाध्यमले त्यति अवधि बिदा रहने भनेर प्रचार गरिदिएका छन् । जिल्ला प्रशासन कार्यालयले पनि आइतबार त्यस्तै सूचना निकालेर कार्यालयको अत्यावश्यक नियमितसेवा बाहेक (सुरक्षा) चैत २१ गते सम्मका लागि स्थागित गरेको जानकारी दिएको छ ।

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र कागबेनीमा यस वर्ष चैते दशैंमा हुने धार्मिक मेला तथा पूजा बन्द गरिएको छ । साथै मुस्ताङभरिका मन्दिर तथा गुम्बामा गरिने नित्य पूजाबाहेकका सबै धार्मिक कार्यक्रम गर्न पनि रोक लगाइएको प्रशासनले जनाएको छ । चैत कृष्णपक्ष र चैते दशैंमा कागबेनीमा श्राद्ध गर्ने चलन थियो । ‘नियमित पूजाबाहेक चैते दशैंमा कागवेनी र मुक्तिनाथमा हुने सबै धार्मिक कार्यक्रममा रोक लगाइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले भने, ‘मुस्ताङ भित्रने सबै नाकामा ज्वरो तथा रुघाखोकी परीक्षण यथावत् गरिएको छ ।’

सोमबारदेखि म्याग्दी जिल्ला प्रशासनबाट नागरिकता, राहदानी, पेन्सनका सिफारिस समेतका सेवा बन्द हुने भएका छन् । मालपोत, नापी, कृषि, पशु, शिक्षा, प्राविधिक कार्यालय र नगर/गाउँपालिकाले पनि सोमबारदेखि गोष्ठी, बैठकसमेत सबै कार्यक्रम र सेवा बन्द गर्ने भएका छन् । तर कर्मचारी भने उच्च सतर्कतासहित कार्यालयमा उपस्थित हुनेछन् । ‘नागरिकता, राहदानी सिफारिस, पेन्सनपट्टा सम्बन्धी सबै सेवा सोमबारदेखि अनिश्चितकालीन बन्द गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयलाई पनि अत्यावश्यकबाहेकका सेवा तत्काल बन्द गर्न निर्देशन गरेका छौं ।’


यात्रुको स्वास्थ्य जाँच

तनहुँमा जिल्ला भित्रने नाकामा स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य जाँच गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । पृथ्वीराजमार्ग भएर प्रदेश प्रवेश गर्ने मुख्य नाका आँबुखैरेनीमा जाँचको विशेष व्यवस्था मिलाइएको छ । ‘यो नाका मुख्य चुनौतीका रुपमा देखिएकाले यात्रु तथा सवारीसाधनलाई विशेष निगरानी गरिएको छ,’ उनले भने, ‘पोखरामा भारतीय पर्यटक आउने क्रम चलिरहेको हुँदा पर्यटक तथा सवारीसाधन प्रवेशमा रोक लगाउने तयारीमा छौं ।’

बाहिरबाट आएका नेपाली तथा अन्यलाई पनि रोकेर स्वास्थ्य सहायता कक्षमा तापक्रम परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए । तर जाँचमा आवश्यक सामग्री अभाव भने भएको सिलवालले बताए । उनले भने, ‘हामी आवश्यक जनशक्ति, सुरक्षा व्यवस्थाका साथ स्वास्थ्य परीक्षण गर्ने तयारीमा त छौं तर यात्रुहरूको तापक्रम नाप्ने थर्मल गनको अभाव हुँदा समस्या छ ।’ जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा २, दमौली अस्पतालमार आबुँखैरेनीको स्वास्थ्य सहायता कक्षमा १/१ गरी ४ वटा मात्रै थर्मल गन छन् ।

विभिन्न जिल्लाबाट भित्रने यात्रुलाई सम्बन्धित स्थानीय तहले स्थापना गरेका हेल्थडक्समा परीक्षण गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । उनले भने, ‘जिल्लामा सबै संयन्त्रलाई तयार राखिएको छ । कालोबजारी नियन्त्रणका लागि स्थानीय तहबाट नियमित बजार अनुगमन लगायतका क्रियाकलाप अगाडि बढाइएको छ ।’

‘जिल्लामा तत्कालका लागि बन्दीपुर अस्पतालमा ८ र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा १२ शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ । अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराइएको र भारत लगायतका देशहरूबाट आउने नेपालीहरूको निगरानी, संक्षिप्त विवरण संकलन, शंकास्पदलाई तत्काल क्वारेन्टाइनमा बस्न लगाई अनुगमन गर्ने आवश्यक व्यवस्था गर्न पालिकालाई अनुरोध गरिएको अधिकारीले बताए । आँबुखैरेनी, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाले आपत्कालीन कोष खडा गरेका छन् । दशवटै पालिकाका वडा तहसम्म शीघ्र प्रतिकार्य समिति गठन गरिएको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । सबै स्थानीय तहले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गराएका छन् ।

निर्माण तथा व्यवसायमा संलग्न भारतीयमाथि लमजुङमा कडा निगरानी थालिएको छ । होली मनाउन घर गएका भारतीय फर्किने क्रममा रहेका छन् । भारतमा कोरोना संक्रमण फैलिन थालेसँगै संक्रमित भएर आउन सक्ने भन्दै उनीहरूमाथि पालिकाले निगरानी थालेका हुन् । प्रहरी प्रशासनको पनि सहयोग लिइएको छ । सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार हालसम्म २३ जना भारतीय नगरपालिकामा भित्रिएको र उनीहरूको स्वास्थ्यजाँच गरिएको छ । ‘दिउँसो मात्र नभएर रातको समयमा समेत आउने गरेका छन् । हामीले निगरानीमा राखेका छौं । उनीहरूको स्वास्थ्य जाँच गरिएको छ,’ उनले भने । नगरका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले भारतीय नागरिकको खोजी खोजी स्वास्थ्य जाँच गरिएको बताए । उनीहरूमा तत्काल शारीरिक समस्या नभेटिए पनि १४ दिन क्वारेन्टाइनमै बस्न सुझाएको उनले बताए । ‘तत्काल काममा नखटिन भनेका छौं,’ उनले भने ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार विभिन्न व्यवसाय तथा काममा आबद्ध भारतीयलाई १४ दिन घरमै बस्न लगाइएको छ । ‘होली मनाउन सबै भारतीय गएका थिए । उनीहरू आएका छन् । कोरोना संक्रमण छ भन्ने खोजेको होइन । सावधानी अपनाउनु पर्‍यो नि,’ उनले भने, ‘फर्किएकालाई स्थानीयसँग सम्पर्क नगर्न भनेका छौं ।’ भारतीय आए/नआएको बारे जानकारी लिन नगरप्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी सबै परिचालन गरिएको उनले बताए ।

मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले केही भारतीय तनहुँको दमौली हुँदै प्रवेश गरेको बुझिएको र खोजी थालिएको बताए । राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले पनि निगरानी राखिएको जानकारी दिए । स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीका अनुसार स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको निगरानी गर्न निर्देशन दिएको बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङ भित्रने हरेक विदेशी निगरानीमा छन् ।

(प्रतीक्षा काफ्ले/गण्डकी, हरिराम उप्रेती/गोरखा, प्रकाश बराल/बागलुङ, अगन्धर तिवारी/पर्वत, नारायण शर्मा/पूर्वी नवलपरासी, घनश्याम खड्का/म्याग्दी, सम्झना रसाइली/तनहुँ, आश गुरुङ/लमजुङ र दीपक परियार/पोखरा)


प्रकाशित : चैत्र १०, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?