कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवालयमा भक्तजनको भीड

महाशिवरात्रिमा भक्तजन निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा गर्छन्  
कान्तिपुर संवाददाता

(म्याग्दी) — महाशिवरात्रीका अवसरमा सदरमुकाम बेनीबाट ३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनाराको गलेश्वरधाममा झरीमा रुझ्दै भक्तजनको बिहानै देखि घुइँचो लागेको थियो । 

शिवालयमा भक्तजनको भीड

अवस्थित ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै ढुङ्गामाथि अवस्थित गलेश्वरधाममा महादेवको स्वयं उत्पन्न ज्योर्तिलिङ्गको दर्शन गर्न म्याग्दीबाहेक बाग्लुङ, पर्वत, पोखरा, तनहुँसमेतबाट ठूलो संख्यामा भक्तजन आएका थिए । महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा ‘ॐ नम ः शिवाय’ मन्त्र जप्दै पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ ।


गलेश्वरधाममा दिनभर भगवान शिवको पुजाअर्चना र राती भजनकीर्तनसहित चिरञ्जीवी दीप प्रज्वलन, धुनी जगाउने तथा भगवान्को प्रिय महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको गलेश्वरधाम क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्रिमा गलेश्वरधाममा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवपुजा गरिन्छ । शिवरात्रि पुजामा ब्रतकालमा शिवको ध्यान, पुजन र जप गरिन्छ । शिव पूजा गर्दा इशान मुर्क्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिँगोद्धव मूर्तिलाई महले स्नान गराइन्छ । ‘बिहानैदेखि झरी परेकोले भक्तजनलाई गलेश्वरधाम पुग्न र लाईनमा बसेर पूजाअर्चनामा केही कठिनाइ भए पनि एक्कासि बिहानै भिड लाग्ने अवस्था भएन । दिनभरि नै भक्तजन निरन्तर आए । ३० हजार बढी भक्तजनले दर्शन/पूजा गरेको अनुमान गरेका छौं,’ गलेश्वरधाम क्षेत्र विकास कोषका सचिव माधव रेग्मीले भने, ‘रात्रि जागरण बसी चार प्रहरको पूजा तथा चिरञ्जीवी दीप प्रज्वलन गर्ने भक्तजन साँझसम्मै आउने क्रम रहन्छ । रात्री पूजाका लागि छुट्टै व्यवस्था मिलाएका छौं ।’


शिवमन्दिरमा भक्तजनको भीड

बागलुङ– महाशिवरात्रीको अवसरमा बागलुङका बिभिन्न शिव मन्दिरमा सयौं भक्तजनले पूजा गरेका छन् । ती स्थानमा शुक्रवार मेला समेत लागेको थियो । शिवमन्दिरहरूमा सयौंले भजनकृतन र पूजा गरेका थिए । धार्मिक मेला, पूजापाठ, भजन प्रतियोगितालगायत क्रियाकलापले मन्दिरहरू महोत्सवमय बनेका थिए । विशेषगरी सदरमुकामको गौरीधाम र तित्याङको आशापूर्णेश्वर सहित काठेखोला गाउँपालिका ६ को रामकोट शिवमन्दिरमा सयौं भक्तजन पुगेका हुन् । बिहुँकोटमा खेलकुद तथा युवा विकास केन्द्र र रामकोट शिवमन्दिर व्यवस्थापन समितिले भने राष्ट्रिय भजन प्रतियोगिता समेत आयोजना गरेपछि भक्तजन र पर्यटकको रुपमा समेत सयौं पुगेका हुन् ।


धार्मिक पर्यटक भित्राउने लक्ष सहित यहाँको मन्दिर व्यवस्थापनले शिवरात्रीलाई गतबर्षदेखि उत्सवको रुपमा मनाउन थालेको थियो । ‘अब धार्मिक पर्यटक भित्राएर गाउँका विकास गर्न जरुरी छ,’ केन्द्रका अध्यक्ष कृष्ण कंडेलले भने, ‘होमस्टे र धार्मिक पर्यटकलाई हामीले विकासको स्रोतको रुपमा लिनुपर्छ ।’ ठूलो क्षेत्र ओगटेका मठमन्दिरको संरक्षण र त्यहाँ भएका जंगललाई आम्दानीको स्रोत बनाउन सकिने उनले बताए । काठेखोला गाउँपालिका ५ मा रहेको त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो भएको दाबी गरिएको छ । यहाँ ५ हजार ५ सय ५५ केजीको शिवलिंगसमेत स्थापित छ ।


शाश्वतधाममा घुइँचो

नवलपरासी– पूर्वी नवलपरासीको शाश्वतधाममा महाशिवरात्रिका अवसरमा शुक्रबार बिहानैदेखि घुइँचो लागेको छ । महाशिवरात्रिका अवसरमा धाम परिसरमा रहेको एकाम्बरेश्वर मन्दिर, एक सय ८ शिवलिंगमा जल चढाउने र पूजाअर्चना गर्नेको भिड बाक्लै छ ।


मन्दिर व्यवस्थापनले भक्तजनको सुविधाका लागि प्रवेशद्वारमै बेलपत्र , फूल प्रसादको व्यवस्था गरेको थियो । शाश्वतधाममा आगन्तुकहरूलाई पञ्चैबाजागाजा, बुद्धधर्माबलम्बीहरूको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । शिवलिंगमा बेलपत्र, दूध, जल चढाउनेको समूहले छुटाछुटै भजनकीर्तन नाच गरेर श्रद्धा व्यक्त गर्नेहरूको लस्कार दिउँसोसम्मै देखिन्थो । शाश्वतधाम तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शिवलिंग राखिएको स्थानमा महारुद्री अभिषेक, पूजा गरिएको थियो ।


एकै थलोमा हिन्दुधर्मका सबै देवीदेवताको पूजाआजा गर्न पाइने भएकाले यहाँ भक्तजनहरूको विशेष श्रद्धा रहेको छ । पूजाआजामा तल्लीन भक्तजनलाई मन्दिर व्यवस्थापनले भोजन प्रसादको व्यवस्था गरेको थियो । महेन्द्ररामार्गको नारायणगढ बजारवाट २२ किलोमिटर पश्चिम दुम्कौलीमा दक्षिण भारतीय शैलीको भव्य र कलात्मक एकाम्बरेश्वर महादेवको मन्दिर रहेको छ । हरेक शिवरात्रिका अवसरमा यहाँ विशेष पूजाआजा हुने गर्छ ।


मन्दिरको मुख्य प्रदेशद्वारमा १२ वटा ओम लेखिएको झन्डा शुक्रबार फहराइएको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलगायत सन्तमहन्तहरूले महाशिवरात्रिका अवसरमा एक वर्षसम्म राखिने ओम लेखिएका झन्डोत्तलन गरेका थिए । शुक्रबार राति १० बजेसम्म पूजाआजा भइरहने शाश्वतधाम व्यवस्थानका रामचन्द्र धितालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?