कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक भत्काएर खानेपानी पाइपलाइन

बेसींसहरमा वस्ती बसाल्ने क्रममा तत्कालीन अगुवा र नगर विकास समितिले आफू अनुकूल मापदण्ड बनाएर लागु गर्दा अहिले खानेपानी आयोजनाको पाइप बिछ्याउन सडक भत्काउनु परेको छ
आश गुरुङ

(लमजुङ) — बेंसीसहर बजारका घरघरमा खानेपानी पुर्‍याउन सडकछेउ र पेटी खनिएको छ । केही ठाउँमा सडकको कालोपत्रे नै उप्काइएको छ । यहाँ वस्ती बसाल्ने क्रममा तत्कालीन अगुवा तथा नगर विकास समितिले आफू अनुकूल मापदण्ड बनाएर लागु गर्दा अहिले सडक भत्काउनु परेको हो ।

सडक भत्काएर खानेपानी पाइपलाइन

सडक र पेटी भत्काउन थालेपछि सवारी साधन गुड्न र पैदल यात्रुलाई हिँड्डुल गर्न असहज भएको छ । सडकमा धूलो उडेको छ भने साँघुरो भएर सवारीसाधन जाम हुने गरेको छ । यसले सडक दुर्घटनाको जोखिमसमेत बढाएको छ ।


विसं २०२८ मा कुन्छाबाट सदरमुकाम सरेपछि ४८ वर्षमै बेंसीसहर कंक्रिटको सहर बनेको छ । पहिले घर बन्ने र त्यसपछि पूर्वाधार बनाउनेतर्फ लाग्दा अहिले समस्या निम्तिएको स्थानीय बताउँछन् । ‘सडकबारे कसैले सोचेनन् । सबै जग्गा कसरी हडप्ने र आफ्नो नाममा बनाउनतर्फ लागे । नगर विकास समितिले पनि आफ्नो अनुकूल मापदण्ड बनाएर घर बनाउन दियो । अहिले खानेपानीका लागि सडक भत्काउनु परेको छ,’ एक उपभोक्ताले भने ।


सहायक राजमार्ग बनाउने भनी मन्त्रिपरिषद् बैठकले २०६९ जेठ १२ मा डुम्रे–बेंसीसहर सडकको दायाँबायाँ १५/१५ मिटर मापदण्ड तोकेको थियो । यसका लागि शून्य बिन्दु मनाङे चौतारालाई तोकियो । त्यसअघि तत्कालीन नगर विकास समितिले दायाँबायाँ साढे ७/७ (कूल १५ मिटर) मीटर मात्रै छोडे पुग्ने मापदण्ड तोकेको थियो । समितिको निर्णयअनुसार स्थानीयले सडकछेउ घर बनाउँदै आए । दायाँबायाँ नालासहित ७ मिटरको सडक बन्यो । घर बनाउँदा कतिपयले उक्त निर्णय पनि मानेनन् ।


‘अहिले खानेपानीको पाइप बिछ्याउन सडक र पेटी नभत्काए सुखै छैन,’ बेंसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए । मुख्य सडक क्षेत्रमा नालीतर्फ सडक पेटी च्यापेर ६० देखि ८० सेन्टिमिटरमा कुलोजस्तै खनेर खानेपानीको मुख्य पाइपलाइन बिछ्याउने काम भइरहेको उनले बताए । ‘सडकछेउ खनौं भने बनिसकेको संरचना भत्किन्छ । अब सडकका पेटी खन्ने तर्खरमा छौं । सडक पेटी घरसँग जोडिएको छ । तर, घर पनि सडककै मापदण्डभित्र पर्छ,’ उनले भने । सो क्रममा बिग्रेका सडक पाइपलाइन बिछ्याउने जिम्मा पाएको निर्माण कम्पनीले नै बनाउने उनले स्पष्ट पारे । ‘पेटी भत्किएमा भने आवश्यकताअनुसार सम्बन्धित घरधनीले बनाउनु पर्नेछ । किनकि पेटी सडकको मापदण्ड भित्र पर्छ,’ उनले भने ।


अहिले बेंसीसहरमा पुरानो पाइपलाइनबाट नयाँ योजनाको पानी वितरण भइरहेको छ । नयाँ पाइपलाइन निर्माणकार्य तीब्र छ । ‘हिउँदको समय दैनिक दुई घण्टा पानी आपूर्ति हुने उपभोक्ताको घरमा अहिले खानेपानी सहज हुन थालेको छ,’ उनले भने । तर, पुरानै धाराबाट खानेपानी वितरण हुँदा कहिले आउने र कहिले नआउने समस्या रहेको उपभोक्ताको गुनासो छ ।


निर्माणमा ढिलाइ

बेंसीसहर नगरपालिका–१०, भाचोक खोलाबाट मर्स्याङ्दी नदी तारेर बेंसीसहरमा खानेपानी ल्याइएको छ । उपभोक्ता समितिले २८ करोड ८३ लाख रुपैयाँको इस्टिमेट गरी खानेपानी आयोजना निर्माण थालेको थियो । बेंसीसहर खानेपानीसहलगानी आयोजना १६ करोड ५९ लाख २४ हजार ७ सय ७५ रुपैयाँमा सक्नेगरी महादेव खिम्ती–पराजुली जेभीले काम गरिरहेको छ । २०७४ असार २१ मा दुई वर्षमा सक्नेगरी ठेक्का दिइए पनि हालसम्म निर्माण पूरा भएको छैन । पराजुली कन्ट्रक्सनका सञ्चालक सतिश पराजुलीले सडक र पेटी भत्काउनु परेकाले आयोजना निर्माणमा ढिलाइ भएको बताए । ‘हामीले जतिसक्दो छिटो सक्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।


उपभोक्ता समिति अध्यक्ष प्रधान भने मर्स्याङ्दी नदीमाथि एउटामात्रै फलामको लठ्ठा राखेर पाइपलाई तार्नुपर्ने डिजाइनले काम नगरेको र झोलुंगे पुलका लागि डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाई भएको बताउँछन् । भाचोक खोलाको पानीपोखरीदेखि बेंसीसहरको ठूलोपँधेरासम्म ६ किलोमिटरको मुख्य पाइपलाइनमा डीआई पाइप बिछ्याउने कार्य सकिएको उनले बताए ।


अहिले बेंसीसहरको मुख्य सडकको दायाँबायाँ खन्नेकार्य सुरु भएको छ । सर्भे गरेर निर्माण कम्पनीले १५ किलोमिटर र उपभोक्ता समितिले ३० किलोमिटर पाइप बिछ्याउनुपर्ने छ । योजनाअनुसार बाँझखेतका लागि १ लाख लिटर अट्ने र बेंसीसहरमा ८ लाख १५ हजार लिटर अट्ने दुईवटा पोखरी निर्माण गरिएको छ । नयाँ योजनाको सबै काम पूरा भएपछि उक्त पोखरीमा भाचोक खोलाको पानी प्रतिसेकेन्ड २५ लिटर (दैनिक २२ लाख ५० हजार लिटर) को गतिमा झर्नेछ । बेंसीसहरमा हाल पुरानो स्रोतबाट दैनिक करीब २० लाख लिटर खानेपानी आपूर्ति भइरहेको छ । यहाँ २ हजार ७ सय ७५ भन्दा बढी निजी धारा जडान गरिएको छ । भाडामा बस्नेर अस्थायी रुपमा आउनेजाने समेतका लागि गरी दैनिक ३० लाखदेखि ३५ लाख लिटरसम्म खानेपानीको आवश्यकता रहेको प्रधान बताउँछन् ।


आयोजना तत्काललाई मात्रै : नगरप्रमुख

नयाँ आयोजना बनेसँगै बेंसीसहरमा २० वर्षसम्म खानेपानीको समस्या नरहने दाबी बेंसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छ । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार २०३० तिर ठूलोपँधेरो, कुवा र मुलको पानी प्रयोगमा ल्याइएको थियो । त्यसको तीन वर्षपछि बेंसीसहर वरपर पानीको स्रोत खोजेर सार्वजनिक धारा निर्माण गरियो । २०५० मा घरघरमा निजी धारा बनाइए । ‘तर, यसमा दीर्घकालीन सोंच कसैको आएन । अहिले सडक खनेर खानेपानी ल्याइएको छ । यसले तत्कालको लागि खानेपानीको आपूर्ति त गर्छ तर २० वर्षपछि अर्को योजना बनाउनुपर्ने हुन्छ वा थप्नुपर्ने हुन्छ,’ उनले भने ।


म्याद थपमा अन्योल

सम्झौता मिति गत असारमा सकिए पनि आयोजनाको निर्माण अवधि ६ महिना थप गरिएको थियो । थप समय पुसमा गुज्रिसकेको छ । तर, निर्माणकार्य पूरा भएको छैन । आयोजना पूरा नभएको अवस्थामा म्याद थप गर्ने या नगर्ने भन्ने विषयमा संघीय खानेपानी तथा ढल निकास आयोजनाका प्रमुख रामचन्द्र काफ्लेले बताउन चाहेनन् । यसअघि उनले कुनै पनि हालतमा म्याद थप नगर्ने बताएका थिए । बरु आयोजना निर्माण लगभग सकिएको दाबी गरे । ‘हामीले एक महिना अगाडिदेखि भाचोक खोलाको पानी खायौं नि, यो त अब सकिएको मान्नुपर्छ,’ उनी भन्छन् ।


तर, निर्माण कम्पनी र उपभोक्ता समितिले भने आयोजना नसकिएको बताइरहेका छन् । काफ्लेका अनुसार यसअघि मंसिरमै निर्माण सक्ने बताएको थियो । तर, बेंसीसहरमा पुसमै खानेपानी झारिएको थियो । माघमा खानेपानी पुरानो स्रोतसँग मिसाइयो । पुसमा बाँकी सबै काम माघमा सक्ने भनिएकोमा फागुन दोस्रो साता लाग्दासमेत सकिएको छैन । ‘अब काम सकियो । फागुन अन्तिममा उद्घाटन गर्ने हो,’ उनले दाबी गरे ।


काफ्लेले दाबी गरेजस्तो फिल्डमा काम भने सकिएको छैन । बेंसीसहर बजारमा मुख्य पाइपलाइन जडानकार्य धेरै बाँकी छ । सडकपेटी कब्जा गरेर बसेका व्यवसायीले खन्न नदिने भन्दै विवाद निकाल्न थालेपछि पाइपलाइन जडानको सुरुआत घर नभएका क्षेत्रबाट गरिएको छ । यसले पनि म्याद थप हुने–नहनेमा अन्योल थपेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?