कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

नमुना विद्यालयमा छैनन् शिक्षक

कान्तिपुर संवाददाता

पर्वत — दुई वर्षअघि नगरपालिकाले गाभ्ने सूचीमा अग्रस्थानमा राखेको फलेबास–४ को गहते अम्बोट आधारभूत विद्यालयको चर्चा अहिले जिल्लाभर छ । एकै शैक्षिक सत्रमा ५० भन्दा बढी विद्यार्थी बढाएर उक्त विद्यालय जिल्लामै नमुना विद्यालयको सूचीमा दरिएको थियो । तर, सोही विद्यालय अहिले शिक्षक अभावको चरम समस्यामा परेको छ ।  

शैक्षिक सुधारमा चामत्कारिक परिवर्तन गरेको विद्यालयमा आधारभूत तहकै शिक्षकको अभाव भएको हो । विद्यालयमा बालकक्षादेखि कक्षा ८ सम्म पढाइ हुन्छ । हाल विद्यालय कक्षा १–५ सम्मका शिक्षक दरबन्दीकै भरमा चलिरहेको छ । थप दुई शिक्षक भए पुग्ने विद्यालयले जनाएको छ । ‘हामीलाई मुख्य चुनौती विज्ञान र गणित विषयको हो,’ शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेलले भने । शैक्षिक गुणस्तरमा जिल्लामै सर्वोत्कृष्ट बनाउनेगरी लागिपरेका अभिभावक र शिक्षकहरूले हरेक दिन अतिरिक्त २ घण्टा अध्यापन गराउँदै आएका छन् । ‘बिहान ९ देखि बेलुका ५ बजेसम्म सबै शिक्षक खट्नुभएको छ,’ प्रधानाध्यापक ओमकार पौडेलले भने, ‘त्यसबापत कुनै अतिरिक्त शुल्क लिनुभएको छैन । विद्यार्थीको नतिजा नै हाम्रो आम्दानी ठानेका छौं ।’


त्यसबाहेक स्थानीय भवानी तिवारीले विद्यालयमा स्वयंसेवी रुपमा गणित र विज्ञान विषय पढाउँदै आएका छन् । विद्यालयको आर्थिक अवस्था नभएकै कारणले स्वयंसेवी अध्यापन गर्दा पनि सन्तुष्ट भएको उनले बताए ।


आइतबार विद्यालयको चालिसौं वार्षिकोत्सवमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नमुना विद्यालयको रुपमा नाम सुन्दा खुसी लागेको भन्दै प्रशंसा गरे । नगरप्रमुख पदमपाणी शर्माले २ वर्षमै विद्यालय नमुना बनेको बताए ।


नगरले ०७४ भदौमा नगरका १३ विद्यालय गाभ्ने निर्णय गरेको थियो । त्यसमा थियो गहते अम्बोट पनि थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर, प्रअ पौडेल लगायतले नगरपालिकासँग एक वर्षको समय मागे । ‘त्यो शैक्षिक सत्र चलिरहेको थियो,’ प्रअ पौडेलले भने, ‘हामीले नगरपालिकालाई आगामी शैक्षिक सत्रसम्मका लागि पर्खन भन्यौं । भदौदेखि नै शैक्षिक सुधारमा खट्यौं ।’ व्यवस्थापन समिति अध्यक्ष सहित पदाधिकारी, शिक्षक अभिभावक संघ, शिक्षक र स्थानीय समुदायको प्रयासमा केही महिनामै बदलिएको विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीको लर्को लाग्यो । निजी विद्यालय छोडेर आउने नयाँ विद्यार्थीको संख्यामात्रै ५० नाघ्यो । विद्यालयमा २३ पुराना विद्यार्थी थिए । नयाँ सत्रमा उर्लिएको विद्यार्थीको लहरले सबैलाई उत्साहित बनायो ।


विद्यालयमा तत्कालीन प्रावि (१–५ कक्षा) का ७ शिक्षकको दरबन्दी छ । विद्यालयले ११ वटा कक्षा सञ्चालन गरेको छ । विद्यालयले राष्ट्रिय आविष्कार केन्द्रसँगको पहलमा स्मार्ट बाल उद्यान बनाएर उद्यानमै स्मार्ट कक्षा सञ्चालनको तयारी गरेको प्रअ पौडेलले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?