कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलविद्युत‍्‌बाट समृद्ध बन्दै नारच्याङ 

घनश्याम खड्का

(म्याग्दी) — अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित नारच्याङ्ग बस्तीको शिर माथिबाट झर्ने छहराले सौन्दर्य मात्रै थपेको छैन । फाँटभरि सिंचाइ सुविधा पुर्‍याएको छ । कुटानी, पिसानी मिल पनि सञ्चालित छ । 

जलविद्युत‍्‌बाट समृद्ध बन्दै नारच्याङ 

अन्नपूर्ण र निलगिरि हिमालको फेदीमा अवस्थित गुचुमुच्च मगरबाहुल्य बस्ती नारच्याङवासीको पछिल्लो ७ वर्षयता जीवन शैलीमा ब्यापक परिवर्तन आएको छ । हिंउँदमा वेसी र वर्षायाममा लेक उक्लने नारच्याङवासीको दैनिकी फेरिएको छ । खेर गएको पाखापखेरा र ढुङ्गे वगरको मूल्य अकासिएको छ । परम्परागत ढुङ्गेघर विस्थापित हुँदै आधुनिक आरसिसि भवन बन्न थालेका छन् । भान्सामा जौ/गहुँ/कोदोको ढिँडो र आलुको परिकारको सट्टा भात, मासु र तरकारी पाक्न थालेको छ । घर–घरमा टिभी, हात–हातमा मोबाइल छन् ।


नारच्याङमा पछिल्लो समय आरसिसि घरको संख्या बढी छ । वस्तीसम्म मोटर बाटोको पहुँचले सिमेन्टको सहज ढुवानी र जंगलबाट काठ बोकेर ल्याई घर बनाउनु भन्दा आरसिसि घर धेरै सस्तो परेपछि घर ठडिएका हुन । कालीगण्डकी नदीले छोडेको बगर भएकोले जता खने पनि ढुङ्गा र बालुवा प्रशस्त पाइन्छ । जलविद्युत् आयोजनाको कारण क्रसर उद्योग छेवैमा बनेपछि गिटीवालुवाको पनि समस्या छैन ।


‘हाइड्रो प्रोजेक्ट नारच्याङ आएपछि सबै बस्तीमा सडक पुग्यो, पाखोबारीले राम्रो मूल्य पायो । आम्दानी ह्वात्तै बढेपछि परम्परागतको सट्टा नयाँ घर बनाउन सुरु भयो,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्नपूर्ण गाउँपालिका संरक्षण समितिका अध्यक्ष रहेका स्थानीय तेजबहादुर गुरुङ्गले भने, ‘ढुंगेघर बनाउन भन्दा आरसिसि घर बनाउन सजिलो र सस्तो र आधुनिक पनि भएकोले सहरीकरण उन्मुख छ ।’


धौलागिरि र अन्नपूर्ण, निलगिरी हिमालको बीचमा कालीगण्डकी नदीको निरन्तर कटानले बनेको संसारकै सर्वाधिक गहिरो ‘अन्धगल्छी’ अवस्थित नारच्याङ्ग गाउँमा ५ जलविद्युत् आयोजना निर्माणाधीन छन् । ५ मेगावाट क्षमताको घलेम्दी परीक्षण उत्पादन गरिरहेको छ । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला आयोजना अन्तिम चरणमा छ । त्यसैगरी नारच्याङमै ६२ मेगावाटको निलगिरि क्यास्केट, ३८ मेगावाटको निलगिरिखोला र ६ मेगावाट क्षमताको रेलेखोला हाइड्रोपवार आयोजनाले प्रवेशमार्ग निर्माण थालेका छन् । निलगिरि क्यास्केट टनेल निर्माण तयारीमा छ । छुट्टै १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज निर्माणमा चिनियाँ कम्पनीसँग सम्झौता भएको छ ।


‘हाईड्रोबाट नारच्याङबासी आर्थिक तथा भौतिक क्षेत्रमा राम्रो लाभ पाएका छन् । खेर गएको जग्गाले मूल्य पायो, अनकन्टार भूगोलको अशिक्षित बस्तीमा गुल्जार नै आएको छ,’ साबिक नारच्याङ गाविसका अध्यक्ष देउजित पुनले भने, ‘स्थानीयलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी, शिक्षा, स्वास्थ्य, खेलकुद र संस्कृति संरक्षणमा सहयोग दिएको छ । सबैभन्दा ठूलो कुरा भविष्यप्रति आशा दिएको छ ।’ निर्माणाधीन आयोजनामा करिब ५ सय बढी स्थानीयले नियमित सीप र क्षमताअनुसारको रोजगारी पाएका छन् । ३ विद्यालयमा २/२ जनाको दरले शिक्षकको तलबभत्ता, अन्य खेलकुद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबले आर्थिक तथा भौतिक सहयोग पाएका छन् । निर्माणको अन्तिम चरणमा रहेको घलेम्दी हाइड्रोमा ३ सय बढी स्थानीयले हैसियतअनुसार १० हजारदेखि १० लाख रुपैयाँसम्म संस्थापक सेयर लगानी गरेका उनले बताए ।


सानाठूला आधा दर्जन बढी जलविद्युत् आयोजना निर्माणाधीन र केही प्रक्रियामा रहेकाले नारच्याङ ‘हाइड्रो भिलेज’ भनेर पनि परिचित हुन थालेको छ । नारच्याङ र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा हाइड्रोपावर कम्पनीले धमाधम काम सुरु गरेपछि स्टक ब्रोकरहरू गाउँमा आएर आईपिओ, एफपिओसमेत सेयरमा कसरी लगानी गर्ने सम्बन्धी तालिम नै सञ्चालन गर्ने गरेका छन् ।


नारच्याङ हाइड्रो हब मात्र होइन, विश्व चर्चित अन्नपूर्ण पदमार्गमा पर्ने आकर्षक पर्यटकीय बस्ती पनि हो । नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामाकरण गरिएको छ । फान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ बेस क्याम्पहुँदै ७० बर्ष ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनै पर्वतारोही मौरिसले हिंडेको बाटो सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रवर्द्धन गरी प्रचलनमा ल्याएको हो ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?