नारायणगढ-बुटवल सडक किनारका रुखको स्वामित्व विवाद मिल्यो, कटान सुरु

नारायण शर्मा

नवलपरासी — स्वामित्व विवादले रोकिएको बुटवल-नारायणगढ खण्ड सडकमा पर्ने रुख कटान पुन: सुरु भएको छ । वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिबीच काटिने काठ तत्काल समुदायकै जिम्मामा राख्‍ने (घाटगद्दी गर्ने) सहमति भएपछि शुक्रबारबाट रुख काट्‍न थालिएको हो । 

सडक डिभिजन कार्यालय दाउन्‍ने गैंडाकोट क्षेत्रका प्रमुख इन्जिनियर सुजन अधिकारीले वन विभागले दिएको पत्रमा रुख काटेर तत्कालका लागि स्थानीय सामुदायिक वनमा राख्‍ने सहमतिपछि काटेर स्थानीय वन उपभोक्ता समितिमा घाटगद्दी गरिदिने भएको जानकारी दिए । सडक ४ लेन बनाउन किनारका ४६ हजार २ सय ९४ हजार रुख काटिँदै छ । शुक्रबार बिहानैदेखि महेन्द्र राजमार्गअन्तर्गतको लोकाह जंगल क्षेत्रमा पर्ने सडकको उत्तरी किनारका रुख कटान भइरहेको छ ।


रुख वन कार्यालयको हुने कि सामुदायिक वनको भन्‍नेमा विवाद भएपछि पुस दोस्रो सातादेखि कटान रोकिएको थियो ।


सहमतिअनुसार काटिएका रुख सामुदायिक वनको हातामा राखिने भएको छ । सडक क्षेत्रमा काटिने रुख टेण्डर गरेर बिक्री गर्न (लिन) दुबै पक्षको हानाथाप भने कायमै छ । स्वामित्व विवाद साम्य भएपछि फटाफट रुख काट्ने काम अघि बढेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । गैंडाकोटदेखि दाउन्ने क्षेत्रका ३७ किलोमिटर क्षेत्रभित्र ३४ वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन् ।


सडक निर्माणको जिम्मेवारी पाएको चाइनिज ठेकेदार कम्पनि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले (सिएससिईसी) रुख काटेर स्थानीय सामुदायिक वनलाई काठ हस्तान्तरण गर्ने भएको छ ।


प्रकाशित : फाल्गुन २, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा हुने इस्लामिक सम्मेलनप्रति भारतीय सुरक्षा निकायको चासो

सम्मेलनस्थलमा सुरक्षाकर्मी थपिँदै
अवधेशकुमार झा

राजविराज — सप्तरीको बोदेबरसाइन नगरपालिका–५  जाजरमा शनिबारदेखि सुरु हुने भनिएको इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा निकायले चासो देखाएका छन् ।

बुधबार सीमावर्ती भारतको लौकही थानाका प्रमुख अरविन्द कुमार सम्मलेनस्थल पुगेर सप्तरीका सुरक्षा अधिकारीसँग भेटघाट गरेका छन् । सम्मेलनमा पाकिस्तानी नागरिकको घुसपैठ हुन सक्ने भन्दै भारतीय सुरक्षा अधिकारीले चासो दिएका हुन् । सम्मेलनको निहुँमा घुसपैठ हुन सक्ने भन्दै सीमामा सशस्त्र सुरक्षा बल(एसएसबी) को संख्या बढाइएको छ ।

सम्मेलनस्थलमा सुरक्षाकर्मी थपिँदै
शनिबारदेखि सुरु हुने मुस्लिम समुदायको इज्तिमा सम्मेलनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सम्मेलनस्थलमा नेपाल प्रहरीका तीन सय र सशस्त्र प्रहरीका दुई सय सुरक्षाकर्मी थपिएको छ । त्यस्तै दङ्गा नियन्त्रण गण दुहबीबाट पनि थप टोली आउँदै गरेको सप्तरीका सुरक्षा अधिकारीले बताएका छन् ।

बिहीबार नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले बिहीबार उक्त सम्मेलनमा रोक लगाएको थियो । आयोजक समितिले बंगलादेश र पाकिस्तानबाट आएका धर्मगुरुहरुलाई फर्काउने र यसलाई अन्तर्राष्ट्रियकरण नगर्ने प्रतिबद्धता जनाएपछि गृह मन्त्रालयले सम्मेलन आयोजनाका लागि गृह मन्त्रालयले पुनः अनुमति दिएको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×