कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै ओतमा हाइसन्चो

सरकारले जनता आवास कार्यक्रममार्फत विपन्न वर्गका लागि नयाँ घर बनाइदिएपछि उनीहरूको जीवन सहज बनेको छ 
आश गुरुङ

(लमजुङ) — इन्द्रमाया बोटे ७८ वर्षकी भइन् । केही वर्षअघि पतिको निधन भयो । ससुराको पालामा ढुंगामाटोले बनेको र खरले छाएको एकतले घरमा उनी बस्दै आएकी थिइन् । कान्छो छोरा, बुहारी अनि नातिनातिना एउटै कोठाजस्तो घरमा बस्दा असुविधा थियो ।

आफ्नै ओतमा हाइसन्चो

अहिले जस्ताले छाएको २ कोठे घर बनेको छ । घर बनाउने कुनै बाटो नभएकी उनलाई जनता आवास कार्यक्रमले सहयोग गरेको हो । घर बनाउन उनले ३ लाख ३२ हजार रुपैयाँ पाइन् । ‘भुइँचालोले हल्लाएको घरका चुच्चोबाट ढुंगामाटो बजारिएर कुन दिन राति ठहरै हुन्छु जस्तो लाग्थ्यो । अब त हाइसन्चो भयो,’ उनले भनिन् ।


६६ बर्षीय खड्कबहादुर बोटे र ५३ वर्षीया सन्तुमाया बोटेको घर खरले छाएको थियो । छानो चुहिन थालेपछि जस्ता ल्याएर टाले । तैपनि पानी चुहिरह्यो । छोराबुहारी सँगै बस्ने । घर जस्ताले छाउन आर्थिक हैसियतले पुगेन । वर्षौंदेखि त्यही खरले छाएको घरमा बसे । सरकारले दिएको पैसाबाट घर बनेपछि उनीहरूले जुनी फेरिएको अनुभव गरेका छन् । खड्गबहादुरले भने, ‘यो जुनीमा मैले घर बनाउन सकिनँ । छोरोले पनि सकेन । सरकारले बनाइदियो । जुनी फेरिएझैं लागेको छ,’ उनले भने ।


इन्द्रमाया र खड्कबहादुरको मात्रै होइन, मध्यनेपाल नगरपालिका–४ रम्घा दुईपिप्लेका विष्णुबहादुर बादी, सम्शेरबहादुर बादीलगायत विपन्न नागरिकका पनि नयाँघर बनेका छन् । उक्त क्षेत्रका बोटे, बादी, केही दलित तथा अपांगता भएका जनजातिका २८ घर जनता आवास कार्यक्रममार्फत बनेका छन् । बेंसीसहर नगरपालिका–११ चिती बरबोटमा चेपाङका ९ घर र दोर्दी गाउँपालिका–९ भीरकुनाका चेपाङ साथै दलितका १३ घर कार्यक्रमअन्तर्गत निर्माण भएका छन् ।


कार्यविधिअनुसार लाभग्राहीले १० प्रतिशत रकम थपेर घर बनाउनु पर्छ । यसमा शौचालय र बरण्डा अनिवार्य बनाउनु पर्ने शर्त छ । कार्यक्रमका सबइन्जिनियर विक्रम दुराका अनुसार लाभग्राहीले २ लाख रुपैयाँसम्म थपेर घर बनाएका छन् । संघीय सरकारले यो कार्यक्रम प्रदेश सरकार जिम्मा दिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । मन्त्रालयले सहरी विकास तथा भवन कार्यालय गोरखामार्फत कार्यक्रम सञ्चालन गरेको कार्यालयका निमित्त प्रमुख इन्जिनियर सुरेश खनालले बताए । उनले भने, ‘हिजो झुपडीमा बस्दा चुहिने पानीसँगै रात कटाएका, भत्किएका घरमा बसेका, अरुको डेरामा बसेकालाई सजिलो भएको छ ।’


कार्यक्रमको लमजुङ संयोजक गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीले कार्यविधि सच्याएर काम गरेपछि एक वर्षमै ५० घर बनाउन सफल भएको जनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोपोन्मुख र अल्पसंख्यक समुदायमा सञ्चालित जनता आवास कार्यक्रम सफलोन्मुख भएको दाबी गरे । आइतबार दुईपिप्लेमा आयोजित घर हस्तान्तरण कार्यक्रममा उनले भने, ‘जनताको गाँस, बास र कपासका लागि प्रदेश सरकार छ । नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गर्छौं ।’

प्रकाशित : माघ १४, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?