कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनशक्ति अभाव झेल्दै केन्द्र

कुन ठाउँमा कुन प्रजातिका बाख्रा पाल्दा बढी प्रतिफल लिन सकिन्छ भन्ने अनुसन्धान गर्ने केन्द्रनै प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।
सम्झना रसाइली

(तनहुँ) — बन्दीपुर गाउँपालिकामा बाख्रा अनुसन्धान केन्द्र छ । विभिन्न प्रजातिका बाख्राको अध्ययन, अनुसन्धान गरी किसानलाई उपलब्ध गराउने यसको काम हो । तर, पर्याप्त बजेट र दरबन्दीअनुसारका कर्मचारी नहुँदा केन्द्रमा अनुसन्धानको काम प्रभावित भएको छ । 

जनशक्ति अभाव झेल्दै केन्द्र

व्यावसायिक बाख्रापालनमा पछिल्लो समय युवाको आकर्षण बढेको छ । तर, कुन ठाउँमा कुन प्रजातिका बाख्रा पाल्दा बढी प्रतिफल लिन सकिन्छ भन्ने अनुसन्धान गर्ने केन्द्रनै प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । कृषि/पशुको अध्ययन, अनुसन्धानका लागि आवश्यक बजेट विनियोजन नभएको अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत डा.शिवहरि घिमिरे बताउँछन् । ‘केही वर्षयता पर्याप्त बजेट छैन । दक्ष जनशक्ति पनि दरबन्दीअनुसार छैनन्,’ उनले भने, ‘बाख्रा अनुसन्धानमा प्रभाव परेको छ ।’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत २०४८ मा केन्द्र स्थापना भएको थियो ।


केन्द्रमा देशभरिबाट उन्नत जातका बाख्राको माग आउँछ । अलिअलि उत्पादन भएका पाठापाठी पाउन पनि किसानले धेरै समय कुर्नुपर्छ । किसानको आवश्यकताअनुसार पाठापाठी उत्पादन गर्न नसकिएको केन्द्रले जनाएको छ । केन्द्रमा अघिल्लो आर्थिक वर्षसम्म ३ करोड रुपैयाँ बराबरको बजेट आउँथ्यो । चालु वर्षमा भने ५ करोड आएको र यो पनि अनुसन्धानका लागि पर्याप्त नभएको घिमिरेले बताए । बजेट मात्र नभई आवश्यक दक्ष जनशक्तिको अभावबाट पनि केन्द्र गुज्रिँदै आएको छ । केन्द्रमा १/१ वरिष्ठ वैज्ञानिक, वैज्ञानिक र वरिष्ठ प्राविधिक अधिकृत, ५ प्राविधिक अधिृकत, १/१ जना लेखा, प्रशासन अधिकृत, कम्प्युटर सहायक र चालक, २ प्राविधिक सहायक, ११ प्राविधिक सहयोगी गरी २५ कर्मचारीको दरबन्दी रहेकोमा जम्मा ८ छन् । वरिष्ठ वैज्ञानिक, २ वैज्ञानिक (एक काजमा), १/१ वरिष्ठ प्राविधिक अधिकृत, प्रमुख प्रशासक सहायक, जेटी प्राविधिक र २ प्राविधिक सहयोगी कार्यरत छन् । ‘यति थोरै कर्मचारीले कसरी अनुसन्धान गर्नु’, उनले भने, ‘कर्मचारी पर्याप्त भए अध्ययन अुनसन्धान थप प्रभावकारी हुनेथियो ।’


४८९ बाख्रा अनुसन्धानमा

केन्द्रले ४८९ वटा बाख्रामा अनुसन्धान गरिरहेको छ । जसमध्ये १३२ शुद्ध बोर, १७७ क्रस बोर, ७७ खरी, १७ जमुनापारी, २६ बारबरी, २ किको, ५८ सानन जातका छन् । किसानको रोजाइमा बोर जातिको बाख्रा रहेको केन्द्रले जनाएको छ । बोर जातिको क्रस बाख्राबाट राम्रो आम्दानी हुने भएकाले अधिकांशको रोजाइमा परेको घिमिरेले बताए ।


बोर जातबाट राम्रो आम्दानी हुने भिमाद नगरपालिका–९ पाथर्दीका किसान शिवकुमार आले बताउँछन् । ‘छोटो समयमै ठूलो हुने र आम्दानी राम्रो भएपछि आकर्षित भएका हौं,’ उनले भने, ‘तर, मागअनुसारको पाउन सकेका छैनौं ।’ चालु वर्षमा केन्द्रले २९० बाख्रा उत्पादनको लक्ष्य लिएको छ । यसमा २५ खरी, १० बारबरी, ५ जमुनापारी, ८० बोर शुद्ध र १५० बोर क्रस, १० सानन र १० सानन क्रस जातिका बाख्रा उत्पादन गर्ने लक्ष्य रहेको घिमिरेले बताए । त्यस्तै, केन्द्रमा बाख्राले खाने नेपियर, गौटेमाला, किम्बु, काभ्रोलगायत घाँसको पनि अनुसन्धान भइरहेको छ ।


दूधका लागि सानन बाख्रा

केन्द्रले दूध खानाको लागि सानन बाख्रामा अनुसन्धान गरिरहेको छ । साननको दूध मानव स्वास्थ्यका लागि कतिको फाइदाजनक छ भनेर अनुसन्धान भइरहेको प्राविधिक डा.पुनबहादुर श्रेष्ठले बताए । उनले ‘प्रारम्भिक अनुसन्धानले साननको दूधमा फ्याटको मात्रा कम र प्रोटिनको मात्रा धेरै हुनाले यो बालबालिका, वृद्धवृद्धा र कुपोषणका बिरामीका लागि निकै राम्रो रहेको देखाएको छ,’ उनले भने, ‘भौगोलिक बनावट, हावापानीअनुसार कहाँ पाल्न सकिन्छ भनेर पनि अनुसन्धान जारी छ ।’


सानन बाख्रा २०७० सालमा अमेरिकाबाट ल्याइएको थियो । सानो भएको हुनाले पाल्न सजिलो हुने भन्दै श्रेष्ठले भने, ‘यस जातको बाख्रालाई विपन्न समुदायमाझ सानो गाईका रूपमा पुर्‍याउने केन्द्रको लक्ष्य छ ।’ केन्द्रले स्थानीय खरी र सानन जातका बाख्राबीच क्रसबिड गरी दूध र मासुको उत्पादन कस्तो हुन्छ भनी अनुसन्धान गरिरहेको छ । केन्द्रमा ५८ सानन छन् । जसमध्ये ३४ शुद्ध, २४ क्रस हुन । शुद्ध साननले प्रतिदिन साढे ४ लिटर र क्रस साननले २ लिटरसम्म दूध दिन्छ ।


सरकारले प्रत्येक प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरिदिए बाख्रा र तिनका क्रसको राम्रोसँग अनुसन्धान गरी कृषकसमक्ष पुर्‍याउन सहज हुने श्रेष्ठ बताउँछन् । उनले भने, ‘आफ्नै प्रदेश बाख्रा अनुसन्धन केन्द्र भए कृषकले समयमै बीउको रूपमा पाठाहरू पाउने थिए । यसबाट विपन्न समुदायले राम्रो आमदानी लिन सक्ने थिए ।’


पहिले आफ्नो गुजारा चलाउन गरेको बाख्रापालनलाई अहिले व्यावसायिक रूपमा अघि बढाएको भानुमतीकी श्रीमाया आले बताउँछिन् । ५० प्रतिशत बोर जातको बीउबाख्रा केन्द्रबाट ल्याएको भन्दै उनले भनिन्, ‘बीउ पाउन धेरै कुर्नपर्‍यो । तर, पनि सय प्रतिशत शुद्ध बोर जातको बाख्रा पाउन सकिएन । अहिले हामीहरूले यही उत्पादन गरेर सय प्रतिशत शुद्ध बोर उत्पादन गरेका छौं ।’ जिल्लामा बाख्राको बढ्दो मागका कारण कृषकहरू व्यावसायिक रूपमा बाख्रापालन गर्ने कृषकको संख्या वृद्धि हुँदै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले बताए ।


जिल्लामा आव २०७४/०७५ मा ४ लाख ९८ हजार ७८ र २०७५/०७६ मा ५ लाख १२ हजार २४ बाख्रा कृषकले पालेका थिए । श्रेष्ठले भने, ‘निर्वाहमुखीबाट पनि राम्रो आम्दानी हुन थालेपछि किसान व्यावसायिकतातर्फ आकर्षित भइरहेका छन् ।’


प्रकाशित : माघ १२, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?